लहान । चार पांग्रे भारतीय नम्बरको गाडीको भन्सार राजस्वभन्दा बढी लिने गरेको खुलासा भएको छ । नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेटका चार पांग्रे गाडीलाई अस्थायी पास (छुट पुर्जी) को नाममा ठाडी भन्सारका कर्मचारीले मनपरी रकम उठाउने गरेका छन् ।
एक दिनका लागि लहानसम्म आउने भारतीय गाडीलाई निःशुल्क अस्थायी पास उपलब्ध गराउने व्यवस्था छ । तर, ठाडी भन्सारका कर्मचारीले प्रतिगाडी ५० रुपैयाँ र प्रतिमोटरसाइकल १० रुपैयाँ उठाउने गरेको छ । भारतीय गाडीको भन्सार १५ जेठदेखि पाँच सय रुपैयाँ गरेको छ । तर, ठाडी भन्सारका कर्मचारीहरूले ५ सय ५० रुपैयाँ लिने गरेका छन् । भारतीय गाडीले एक साताको पुर्जी कटाउँदा भन्सार कर्मचारीले ३ हजार ५ सय रुपैयाँको ठाउँमा ३ हजार ७ सय रुपैयाँ जबरजस्ती लिने गरेको लहान–१९ का सन्दीप यादवले बताए ।
नेपाल प्रवेश गर्ने भारतीय नम्बर प्लेटका चार पांग्रे गाडीसँग भन्सार कर्मचारीले मनपरी गरेको उनले सुनाए । सिरहाको ठाडी र माडर नाकाबाट भारतीय गाडीसँग प्रहरीकै मिलोमतोमा उक्त रकम उठाउने गरेको बताइएको छ । नेपाल प्रवेश गरेकै दिन फर्किने भारतीय गाडीलाई पास उपलब्ध गराउँदा जबर्जस्ती रकम लिने गरेको मधुबनीका अर्का चालक श्याम यादवले बताए । ती भन्सार कर्मचारीले तोकिएको शुल्कभन्दा बढी लिएर र छुटपुर्जीको नाममा प्रतिमहिना तीन÷चार लाख रकम उठाउने गरेको भगवानपुर इनरुवाका रामकुमार यादवले बताए ।
त्यसरी उठाएको रकम कर्मचारीले दामासाहीमा बाँडफाँड गर्ने गरेको स्रोतको दाबी छ । ठाडी भन्सार कार्यालयका प्रमुख उमेश बरालले यसबारे प्रतिक्रिया दिन अस्वीकार गरे । अहिले दैनिक ठाडी नाकाबाट ५० जति चारपांग्रे र सय जति मोटरसाइकल भित्रिने गरेको जनाइएको छ । यसबारे जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख रुद्रप्रसाद पण्डितले भने, ‘यस्तो घुसखोरीलाई कारबाही गर्नुपर्छ । आवश्यक अनुसन्धान गरी चाँडै यस्ता कर्मचारीलाई कारवाहीको प्रक्रियामा लैजाने’, बताए ।
प्रतिक्रिया