भारतीय सैन्य विमान सम्पर्क विहीन

गुवाहाटी । भारतीय उत्तरपूवी राज्य आसामको जोरहातबाट चालकदलका सदस्यसहित १३ यात्रु लिएर सोमबार विहान उडेको भारतीय सैनिक विमान सम्पर्कविहीन भएको रक्षा मन्त्रालयले बताएको छ । रूसमा बनेको एन्टोनोभ एएन–३२ विमान जोरहातबाट दिउसो १२ः२५ मा अरूणाञ्चल प्रदेशको मेचुकातर्फ उडेको मन्त्रालयले जनाएको छ ।

‘विमानले पछिल्लो पटक दिउसो १ बजे विमानस्थलसँग सम्पर्क गरेको तर त्यसपछि सम्पर्कविहीन रहेकोछ, ‘मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विमानमा चालकदलका आठ सदस्य र पाँच यात्रु रहेको मन्त्रालयको विज्ञप्तिमा जानकारी गराइएको छ ।

सैनिक प्रवक्ता लेफ्टिनेन्ट कर्नेल पी खोङसाईले सम्पर्कविहीन विमानलाई पत्ता लगाउन सम्भावित सवै उपायको अवलम्वन गरी खोजी जारी रहेको बताए ।

विमान हराएको घण्टौँ वित्दासमेत विमान, चालक दलका सदस्य र यात्रुबारे कुनै सूचना नपाएपछि विमान दुर्घटना भएको हुनसक्ने आशङ्का गरिएको छ । विमान दुर्घटनाग्रस्त भएको हो वा अन्य कुनै समस्याका कारण सम्पर्कमा आउन नसकेको भन्नेबारे प्रष्ट जानकारी आइसकेको छैन ।

प्रतिक्रिया