क्रिकेट रंगशालाको बारमा डोजर लगाएर भत्काउने नेकपाका नेता कँडेल निलम्बन

चितवन । बन्दै गरेको निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर लगाएर भत्काउने नेकपाका स्थानीय नेता प्रकाश कँडेल निलम्बन भएका छन् । उनलाई नेकपा चितवनले बिज्ञप्ती जारी गर्दै निलम्बन भएको जानकारी दिएको छ ।

नेकपा पार्टी चितवनका जिल्ला अध्यक्ष यमबहादुर परियारले बिहिबार विज्ञप्ती जारी गर्दै कँडेलसहित अर्का भैरब वास्ताकोटीलाईसमेत कारबाही गरेको बताएका छन् । नेकपा जिल्ला चितवनले दोषीमाथि कडा कारबाही गरी रंगाशालाको बारमा भएको घटनाको क्षतिपूर्ती उनीहरुबाट नै भराउन माग गरेको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनलाई यस्ता घटनाबाट विचलित नभइ गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम अघि बढाउँन नेकपा चितवनले आग्रह गरेको छ । त्यस्तै धुर्मस सुन्तली फाउण्डेशनले सुरक्षाको प्रत्याभूति नभएको भन्दै निर्माण कार्य स्थगित गरेको एक बिज्ञप्तीमार्फत जानकारी गराएको छ ।

चितवनको रामपुरमा निर्माणाधीन गौतम बु्द्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको जस्ताको बार भत्काउने मुख्य योजनाकार कँडेलसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सार्वजनिक सम्पतिमा नोक्सानी पुर्‍याएको र धम्काउने अभियोगमा उनीहरुविरुद्ध मुद्दा चलाउने चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले बताए । उक्त बार भत्काउँदा १० लाखभन्दा बढीको क्षति भएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले बताएका छन् ।

प्रतिक्रिया