पुलिसको जित

काठमाडौं । राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा समूह ‘बी’ का नेपाल पुलिस क्लब र प्रदेश २ ले जित निकाल्न सफल भएका छन् ।  म्याट बिछाएर मूलपानीको मैदानमा खेलाइएको खेलमा विभागीय टोली नेपाल पुलिसले प्रदेश १ माथि ७५ रनको जित निकाल्न सफल भएको हो । यो सँगै पुलिसले लगातार दोस्रो जित निकालेको छ । पुलिसले ४३.१ ओभरमा सबै विकेट गुमाए प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश १ ले ३८.३ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय १० रन जोड्न सक्यो ।

जवाफी ब्याटिङ गरेको प्रदेश १ का लागि ओपनर सन्नी पुनले सर्वाधिक २७ रनको योगदान गरे पनि जितका लागि पर्याप्त भएन् । यस्तै मनिष थापाले १८, दिपेश कंडेलले १५ तथा फिर्दोश अनसरीले १२ रन जोड्नु बाहेक अन्य टोलीले दोहोर अंकको स्कोर गर्न सकेनन् । प्रदेश १ लाई सस्तैमा समेट्नका लागि पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५ विकेट हात पार्दा ललित नारायण राजबंशीले ३ तथा सागर ढकाल र आरिफ शेखले समान १/१ विकेट लिए ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको पुलिसका लागि अमित श्रेष्ठको सतकीय इनिङ खेले । १ सय १८ बलको सामना गरेका अमितले १५ चौका र १ छक्काको मद्दतमा १ सय ६ रन जोड्न सफल भएका थिए । यस्तै कुशल भुर्तेलले २४ रनको पारी खेल्दा अन्य ब्याट्सम्यानले गतिलो स्कोर गर्न सकेनन् । पुलिसको सबै विकेट हात पार्न प्रदेश १ का कमल खत्री, फिर्दोस अनसरी, पुस्प थापा, दिपेश कंडेल र सिद्धान्त लोहनीले समान २/२ विकेट लिए ।

जारी प्रतियोगितामा दोस्रो जित निकालेको पुलिसले शनिबार त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित प्रदेश १ शुक्रबार कर्णाली प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । २ खेलबाट ४ अंक बनाएको पुलिस समूह ‘बी’ दोस्रो स्थानमा छ भने तीन खेलमा सबै जित सहित ६ अंक बनाएको आर्मी शीर्ष स्थानमा छ । प्रतियोगिता अन्तर्गत शुक्रबारै कीर्तिपुर स्थित त्रिभुवन विश्व विदालयको मैदानमा सम्पन्न अर्को खेलमा प्रदेश २ ले कर्णाली प्रदेशमाथि ९ विकेटको फराकिलो जित निकाल्न सफल भएको हो ।

टस जितेपछि पहिला ब्याटिङ गरेको कर्णालीले ३०.४ ओभरमा सबै विकेट गुमाएर दिएको ९४ रनको लक्ष्य प्रदेश २ ले १६ ओभरमा केवल १ विकेट गुमाएर भेटाउन सफल भएको थियो । प्रदेश २ का लागि ओपनर हरि शंकर शाहले अर्धसतकीय इनिङ खेले । ६४ बलको सामना गरेका हरि शंकरले ७ चौकाको मद्दतमा अविजित ५५ रनको इनिङ खेलेका हुन् ।
यस्तै हसिम अनसरी १७ रन जोड्दै गर्दा प्रकाश जैसीको बलमा समातिए भने हरि शंकरलाई साथ दिएका रवि शाह १६ रनमा अविजित रहे । १५ बल सामना गरेका रविले १ छक्का प्रहार गरेका थिए । यस अघि पहिला ब्याटिङ गर्दै सामान्य लक्ष्य प्रस्तुत गरेको कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक ३७ र रविन्द्र शाहीले १४ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो स्कोर छुन सकेनन् ।

कर्णालीको इनिङलाई सस्तैमा समेट्नका लागि कुमार थापाले सर्वाधिक ३ विकेट लिए । यस्ते हरिशंकर शाह, संसद शेख र रासिद खानले समान २÷२ विकेट हात पार्दा दिवान्सु मलिकले एक विकेट लिए । यो सँगै प्रदेश २ ले जारी प्रतियोगितामा पहिलो जित निकालेको छ । यस अघि प्रदेश २ आर्मीसँग १ सय ७१ रनले पराजित भएको थियो । पराजित कर्णाली प्रदेशले जारी प्रतियोगितामा लगातार तेस्रो पराजय भोगेको छ ।

प्रतिक्रिया