करः के मा बढ्यो के मा घट्यो ?

काठमाडौं । मूल्य अभिवृद्धि करको दायरामा आउने कारोबार सीमा रकम र दर यथावत कायम गरेको छ । कृषिजन्य र औद्योगिक उत्पादनलाई संरक्षण तथा प्रबद्र्धन गरी स्वदेशी उत्पादनको उपभोगमा आत्मनिर्भर हुन तथा अनावश्यक र स्वास्थ्यका लागि हानिकारक वस्तुहरुको आयातलाई निरुत्साहित गर्न भन्सारका दरहरुमा सामान्य संशोधन गरेको छ ।

निकासी व्यापारको प्रवद्र्धनको लागि मदिरा र सूर्तिजन्य वस्तु, स्वदेशमै खपत हुने कच्चा पदार्थ, तथा आधारभूत कृषि उपज बाहेकका अन्य मालवस्तुको निकासीमा लाग्दै आएको महशुल हटाएको छ । निर्यात व्यापारको प्रवद्र्धनको लागि आफ्नो उत्पादनको २० प्रतिशतभन्दा बढी निकासी गर्ने सवै प्रकारका कच्चा पदार्थको आयातमा वण्डेड वेयर हाउसको सुविधा उपलब्ध हुने ब्यवस्था मिलाएको छ ।

उद्योगले पैठारी गर्ने औद्योगिक कच्चा पदार्थहरुको भन्सार दर तयारी मालवस्तुको भन्दा कम्तिमा एक तह कम गर्ने नीति अनुरुप केही कच्चा पदार्थको भन्सार महसुल घटाएको छु।कृषिमा आधारित सहकारी उद्योगले पैठारी गर्ने ढुवानी साधनमा ५० प्रतिशत छुट, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिशमा गाउँपालिका, नगरपालिका तथा उप–महानगरपालिका र महानगरपालिकाले आयात गर्ने दुई, तीन र चार थान एम्बुलेन्समा एक प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्था गरेको छ ।

कपडा उद्योगहरुले आफ्नो स्वःप्रयोजनको लागि आयात गर्ने मिल मेशिनरी र पार्टपूर्जा एवं केमिकलहरूमा एक प्रतिशत मात्र भन्सार महसुल लगाएको छ । स्वदेशमा प्रशस्त सम्भावना भएका कपडा, धागो, चिया, आधारभूत औषधी‚ महिलाहरुले प्रयोग गर्ने स्यानटरी प्याड‚ फिड सप्लिमेण्ट जस्ता उद्योगको संरक्षण र प्रवद्र्धनका लागि यस्ता उद्योगहरूले पैठारी गर्ने औद्योगिक मेशिनरी तथा यन्त्र उपकरणमा लाग्ने भन्सार महसुल दर घटाएको छ ।

मुलुकमा जल यातायातको प्रबद्र्धन र विकासको लागि सबै किसिमका जल यातायातका साधनहरुको पैठारी महसुल १५ प्रतिशतबाट घटाएर छ प्रतिशत कायम गरेको छ । विदेशबाट फर्किएका नेपाली यात्रुले आफ्नो साथमा ल्याएको १०० ग्राम सम्मको सुनको गहना महसुल तिरी पैठारी गर्नसक्ने व्यवस्था मिलाएको छ ।

मुलुक आत्मनिर्भर भएका चिया, कफी, दूग्ध पदार्थ, घ्यू, कुखुराको मासु, केराउ, बदाम, आलु चिप्स, बिस्कुट, चाउचाउ, आइसक्रिम, जुस, मिनरल वाटर, चिनी तथा सख्खर चकलेट, चुइङगम, पास्ता, जस्तापाता, जुत्ता चप्पल, धागो र त्रिपाल लगायतका कृषिजन्य तथा औद्योगिक वस्तुहरुको स्वदेशी उत्पादनलाई संरक्षण गर्न त्यस्ता वस्तुहरुको आयातमा भन्सार दर बढाएको छ ।

मदिरा, चुरोट, अन्य सूर्तिजन्य पदार्थ र स्वास्थ्यका लागि हानिकारक वस्तुहरुमा लाग्दै आएको भन्सार तथा अन्तःशुल्क दरमा सामान्य वृद्धि गरेको छ । व्यवसायिक घर जग्गाको कारोबारमा अग्रिम करको रुपमा लाग्दै आएको पूँजिगत लाभकरको दर घटाएको छ । दुर्घटना तथा स्वास्थ्य बीमामा मूल्य अभिवृद्धि कर नलाग्ने व्यवस्था गरेको छ । गुणस्तर नखुलेका, कमसल गुणस्तर भएका र मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने मालवस्तुको आयात नियन्त्रण गर्ने भएको छ ।

चार पांग्रे तथा दुई पांग्रे सवारीसाधनको आयातमा अन्त शुल्क वृद्धि गरेको छ । एक हजार सिसीभन्दा माथिका चार पांग्रे सवारी साधन तथा एक सय पचाँस सिसीभन्दा माथि क्षमता भएका मोटरसाइकलमा अन्त शुल्क वृद्धि गरेको जानकारी दिए । सवारीसाधन आयातमा भन्सार शुल्कमा भने वृद्धि गरिएको छैन । यसबाट उपभोक्ता तथा व्यवसायीहरुलाई राहत मिलेको छ ।

सामुदायिक विद्यालयले प्रयोग गर्न पैठारी गर्ने ३० सिट वा त्योभन्दा बढी सिट क्षमता भएको प्रति विद्यालय एक थान बसमा बुझाउनु पर्ने कर महसुलमध्ये ७५ प्रतिशत भन्सार महसुल र अन्त शुल्क मूल्य अभिवृद्धि करमा पूरै छुट दिने व्यवस्था गरेको बताए । बजेटमा यातायात क्षेत्रमा नविकरणीय उर्जाको प्रयोग गरी शहरी क्षेत्रको वायु प्रदुषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गरिने उल्लेख छ ।

काठमाडौं उपत्यका र सातै प्रदेशका प्रमुख सहर र आसपासका क्षेत्रमा नेपाल सरकार, प्रदेश र स्थानीय तह एवं निजी क्षेत्रसमेतको सहभागितामा विद्युतीय बस सेवा सञ्चालनमा ल्याइने भएको छ । विद्युतीय सवारी साधनको प्रयोगलाई देशव्यापी बनाउन नेपाल विद्युत प्राधिकरणबाट पर्याप्त संख्यामा चार्जिङ्ग स्टेशनहरू स्थापना गर्दै लगिने पनि बजेटमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया