युनिका र समिरले जिते एसइई हन्ट

काठमाडौं । एसइई दिएर बसेका किशोरकिशोरीको प्रतिभालाई प्रस्फूटन गराउने लक्ष्यका साथ गरिएको ‘एसइई मोडल हन्ट २०१९’ मा युनिका पाठक र समिर तामाङले उपाधि हात पारेका छन् । युनिका फोटोजेनिक र मिस पपुलर उपाधिसहित छात्रा तथा समिर मिस्टर मल्टिमिडिया र मिस्टर इस्टाइलिससहित छात्रतर्फको बिजेता घोषित भए । डिएम इन्टरटेनमेन्ट आयोजक रहेको उक्त प्रतिस्पर्धामा युनिकाले १० र समिरले १५ प्रतियोगीलाई पछि पार्दै शिर्ष उपाधि जितेका हुन् ।

यी दुवैले उपाधिका साथमा ब्रिजवाटर इन्टरनेसनल कलेजबाट प्लस टु अध्ययनका लागि सतप्रतिशत छात्रवृत्तिसमेत पाएका छन् । त्यस्तै, बज्र नानिताज फिटनेस सेन्टरबाट ५० हजार बराबरको फिटनेस सुविधासहित विभिन्न उपहार हात पारे ।

जमलस्थित राष्ट्रिय नाचघरमा भएको प्रतियोगितामा छात्रातर्फ एलिसा पौडेल र अन्जिता छन्त्याल क्रमशः फस्ट रनरअप र सेकेन्ड रनरअप घोषित भए । त्यसैगरी छात्रतर्फ अटिट महर्जन र आर्यमान राजभण्डारी क्रमशः फस्ट रनरअप र सेकेन्ड रनरअप हुन सफल भए । यी सबै बिजेताले अध्ययनका लागि छात्रवृत्ति लगायत विभिन्न उपहार जितेका छन् ।

एसइई दिएर विभिन्न क्षेत्रमा करिअर बनाउने लक्ष्य राखेका र मोडलिङमा भविष्य खोज्न चाहनेलाई मध्येनजर गरेर आयोजना गरिएको प्रतियोगिताको मुख्य आकर्षण धनलाल तामाङ भए । धनलालले प्रतियोगितामा मिस्टर ह्याण्डसम र मिस्टर पपुलर उपाधि हात पार्न सफल भए ।

प्रतियोगितामा सहभागीलाई सबैलाई समाजका जुनसुकै क्षेत्रमा सजिलै स्थापित हुनसक्ने बनाउनु प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजक डिएम इन्टरटेनमेन्टका सिइओ डेनी मगरले बताए । सनिस शाक्य कोरियोग्राफर रहेको प्रतियोगितामा अभिनेता अनुपविक्रम शाही, मोडल रोमल शाही, म्यानहन्ट इन्टरनेसनल २०१८ बिजेता ध्रुव बुढाथोकी, फेसन कोरियोग्राफर सञ्जय रौनियार निर्णायक रहेका थिए । विभिन्न सांगीतिक कार्यक्रमसहित सम्पन्न प्रतियोगितामा आधा दर्जन विधामा बिजेता छानिएका थिए ।

प्रतिक्रिया