‘छारम्राप’ माथि परिचर्चा

काठमाडौं । साहित्यकार यकिना अगाधद्वारा लिखित कथा संग्रह ‘छारम्राप’ (नयाँ ढोका) बजारमा आएको छ । नेपाल तामाङ घेदुङको सभा हलमा भएको अन्तरसंवाद कार्यक्रममा वक्ताले पुस्तकले तामाङ संस्कृतिलाई कलात्मक ढंगले प्रस्तुत गर्न सफल भएको बताए ।

टिप्पणीकार निष्नु थिङले तामाङ दृष्टिकोणले किताब निकै गम्भीर र उच्चकोटीको रहेको धारणा व्यक्त गरे । उनले थपे, ‘पश्चिमा साहित्यले नेपालमा अड्डा जमाइरहेको वेलामा सामाजिक यथार्थमा वैचारिक अर्गानिक कथा आउनु तामाङ साहित्यको विकास भएको हो ।’

यसैगरी, अर्का टिप्पणीकार शान्ति लामाले तामाङ समाज र परिवेश बुझ्न सकिने विश्वविद्यालय नै छारम्राप रहेको जिकिर गरिन् । उनले भनिन्, ‘पुस्तकमा रहेका वास्तविक पात्रहरूको सपाट प्रयोगले मलाई बाल्यकालको सम्झना गराएको छ ।’ त्यस्तै, संग्रह्माथि टिप्पणी गर्दै अर्का वक्ता दुप बाङ्देल मोक्तानले पात्रको कलात्मक शैलीको अभाव भएको टिप्पणी गरे ।

उनले भने, ‘कथाहरू छोटो भए पनि सिन्धुली मरिण आसपासका वास्तविक कथा ल्याएकोमा कथाकारलाई बधाई पनि छ ।’ यसअघि अगाधको ०६१ सालमा छोन्बो नाम्सा (जिउँदो गाउँ) गजल संग्रह आइसकेको छ । १ सय ३० पृष्ठ रहेको छारम्रापमा २५ वटाकथा संग्रहित छ । पुस्तक प्रकाशकको भीडमा थेबा बुक्स पनि थपिएको बताउँदै सञ्चालक मुक्तान थेबाले तामाङ साहित्यिक प्रकाशन गर्दै अघि बताए ।

प्रतिक्रिया