सर्केगाडका प्रसिद्ध पर्यटकीय स्थल

हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाको आफ्नै प्रकारको इतिहास रहेको छ । सर्केगाड जिल्लाको मध्य भागमा रहेको गाउँपालिका हो । गाउँपालिका भित्र विभिन्न सम्भावित पर्यटकीय स्थल रहेकोे भएता पनि यसको उचित प्रचार प्रसार नभएको कारण यहाँको ऐतिहासिक र धार्मिक धरोहर लोपोन्मुख अवस्थामा रहेका छन् । सांस्कृतिक रूपमा जिल्लाकै धनी गाउँपालिकाको रूपमा रहेको यस स्थानका सुन्दर स्थललाई जगेर्ना गर्न सकिएमा पालिका र यहाँको आर्थिक समृद्धि हुने कुरा निश्चित देखिन्छ ।

गाउँपालिकाले पनि आफ्नो पालिका भित्र रहेको ऐतिहासिक महत्वका सांस्कृतिक स्थलका ीजर्णोद्धार र मर्मत गर्नका लागि हरेक वर्ष प्रयाप्त मात्रामा बजेटको व्यवस्थापन गर्ने थालेको प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डेले बताए । भविष्यमा आर्थिक, सांस्कृतिक र कृषि पर्यटनको लागि राम्रो सम्भावना भएको कारण यस्ता धरोहरलाई सम्वद्र्धन गर्न गाउँपालिका लागि परेको पाण्डेले बताए । यस्तै गरी यहाँका विभिन्न गाउँ र वडामा मनाइने चाड पर्व र संस्कृतीको जगेर्ना गर्नको लागि हरेक वर्ष धुमधाम ती पर्व र सांस्कृतिक कार्यक्रम गरी त्यसको प्रचार प्रसार गर्नको लागि गाउँपालिकाको कार्यलय लागि परेको अध्यक्ष कृष्ण रोकायाले बताए ।

उनापानी तातोपानीः गाउँपालिकाको वडा नम्बर ३ मा प्राकृतिक रूपमा बग्ने तातोपानीको खोला रहेको छ । करिब ३ सय क्युविक पानीको बहाव रहेको यो खोलामा हुम्ला जिल्लाका विभिन्न स्थानबाट नुहाउन आउने आन्तरिक पर्यटकको घुईँचो नै लाग्ने गरेको छ । यस तातो पानीमा नुहाएमा प्राकृतिक उपचार हुने विश्वास गरिन्छ । विशेष गरी हाडजोर्नी तथा बाथ रोगको उपचार हुने विश्वासको साथ यहि वास बस्ने गरी स्नान गर्न विभिन्न जिल्लाबाट मान्छे आउने गरेका छन् ।

गत वर्ष गाउँपालिकाले यसलाई व्यवस्थित गर्नको लागि बजेट छुट्याएको भएता पनि अझैसम्म नुहाउनको लागि धारा र पोखरीको राम्रो व्यवस्था गर्न सकेको छैन । त्यसो गर्न सकिएमा आन्तरिक मात्र नभएर बाह्य पर्यटकको लागि यो स्थान राम्रो गन्तव्यस्थल हुन सक्ने सम्भावना रहेको छ । अझ एकै ठाउँमा तातो र चिसो पानीको खोला सँगै भएको कारण पानी मिसाएर नुहाउन समेत सहज हुने गरेको छ । तातोपानीलाई नुहाउने र कपडा धुनका साथै स्थानीयले घट्ट पिस्नको लागि उपयोग गरिएको भएता पनि यसलाई जलविद्युत् उत्पादनमा समेत उपयोग गर्न सकिने अवस्था रहेको छ ।

तलछडी झरनाः गोठी गाउँ नजिक रहेको यो झरना अति नै सुन्दर झरना रहेको छ यो झरना १८७८ मिटर उचाईमा रहेको छ । अति नै सुन्दर र मनमोहक बहने यो झरनामा पर्यटकले आनन्द लिन सक्ने प्रचुर सम्भावना रहेको छ । झरनाको नजिक स्थानीय तलछडी जलविद्युत् आयोजना सञ्चालन गरेको भएता पनि यसलाई प्रचार प्रसार गर्न सकिएमा फिल्म, डकुमेन्ट्री, म्युजिक भिडियो लगायतका छयाङकनका लागि अति नै उपयुक्त ठाउँ बन्न सकने छ । झरनाको फेदमा घाम लागेको बेला इन्द्रेणीको मनोरम दृश्य सदावहार रूपमा देख्न पाइन्छ ।

देवाकाँध र नाब्लेथाब्लेः बराई वडापालिकामा रहेको देवाकाँधको पौराणिक मान्यता ठूलो रहेको छ । माघ पूर्णिमाका दिन आफुले चिताएको वर माग्नको लागि रातभर जाग्राम बसेर यहाँ पूजाआजा गरेमा चिताएको पुरा हुने विश्वास रहि आएको छ । २ हजार ३ सय ८ मिटर उचाइमा रहेको यो देवताको बास बस्ने गुफाको रूपमा चिनिने गरिन्छ । गुुफाभित्र विभिन्न आकृतिका प्राकृतिक बुट्टा देख्न पाइन्छ । गुफाको चारैतिर गाईका थुन, भगवानका विभिन्न आकृति र माथिको भागमा दूध चुहिँदै गरेको दृश्य देख्न पाइन्छ । गाईको थुनबाट दूध चुहिँदै गरेको दृश्य भाग्यमानीले मात्र देख्न पाउने पौराणिक मान्यता रहेको छ । भिरको बाटोमा रातीको अँध्यारोमा पनि तिर्थालु भक्तजन कुनै भौतिक क्षति विना त्यहाँ जान सक्ने र हालसम्म देवताको कारण कोही कसैलाई अप्रिय घटना नभएको स्थानीयको दाबी छ ।

त्यसैगरी, ३ हजार ३ सय ७४ मिटरको उचाइमा रहेको अर्को पौराणिक मान्यता बोकेको देवाकाँध उति नै महत्वपूर्ण स्थानको रूपमा उदियमान रहेको छ । विशेषगरी यी दुई तीर्थस्थलमा चिताएको पूरा हुने र गौजो काट्ने (ग्रह दशा काट्ने) तिर्थस्थलको रूपमा कहलिएको छ । सन्तान प्राप्ति नहुने दम्पतीले त्यहाँ गई पूजा गरेमा अर्को वर्ष सन्तान प्राप्ति हुने पौराणिक विश्वास रहेको छ । हरेक वर्ष हजारौँकोे तीर्थालु भक्तजन यहाँ दर्शनको लागि जिल्लाका विभिन्न भागबाट आउने गरेका छन् । यसलाई गाउँपालिकाले सहज बाटो र सुविधा दिन सकेमा यसको महिमा अझ बढ्न सक्ने वडाध्यक्ष खड्कनन्द बुढाथोकीले बताए । नाब्लेथाब्ले मन्दिरमा देवताको आकारमा ढुंगाको मूर्तीसमेत रहेको छ ।

मेला लागेको वेलामा स्थानीयले भजन कृतन गरी देउडा खेल्दै रमाइलो गर्ने गरेको स्थानीय बताउँछन् । उक्त समयमा जिल्लामा उत्कृष्ट देउडा गाउनेलाई बोलाएर प्रतिस्पर्धासमेत गर्ने गरेको छ । त्यसरी राम्रो देउडा गाएर विजेता हुनेलाई पुरस्कृतसमेत गरिने गरिएको छ । यहाँको चालचलन र रितिस्थिति पनि अन्य ठाउँको भन्दा फरक रहेको छ । विशेष गरी ठकुरी जातिले धुमधामको साथमा मनाउने गौरा अर्थात् दोबाटु पर्व, अन्य जातिले मनाउने साउने पूर्णिमालाई व्यवस्थित गर्न सकिएमा आन्तरिक र बाह्य पर्यटकलाई भित्र्याउन सकिने सम्भावना रहेको छ ।

प्रतिक्रिया