खोजखबर

गणतन्त्र आए पनि खुलेनन् रत्नमन्दिर र हिमागृह

कृष्ण दवाडी २०७६ जेठ १५ गते ७:०३ मा प्रकाशित

गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटक वर्ष घोषणा गरेर १५ लाख स्वदेशी पर्यटक भित्र्याउने योजना अघि सारेको छ । उसले सन् २०२० लाई छिमेकी मुलुकका पर्यटक भित्र्याउने वर्षका रूपमा मनाउने भएको छ भने सन् २०२२ मा २० लाख पर्यटक भित्तयाउने लक्ष्य राखेको छ ।

आन्तरिक र बाह्य गरेर वर्षमा करिब १० लाख पर्यटक मात्र प्रदेशमा भित्रिरहेको अवस्थामा पर्यटकीय पूर्वाधारको अभावबीच दुई वर्षपछि २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकारलाई चुनौती छ । संघीय सरकारले पनि सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर २० लाख बाह्य पर्यटक ल्याउने लक्ष्य राखेको छ ।

रत्नमन्दिरसँगैको हिमागृह पनि नेपाल ट्रस्टको स्वामित्वमा आइसकेको छ । राजा महेन्द्रका माइला भाइ हिमालय वीर विक्रमका नाममा हिमागृह बनेको थियो । विसं ०३८ पुस ९ गते अधिराजकुमार हिमालयबाट पत्नी प्रिन्सेप शाहलाई उक्त घर उपहार दिइएको थियो । विसं ०४६ मा आएर प्रिन्सेपबाट राजा वीरेन्द्रका नाममा हक कायम गरिएको हिमागृह १० रोपनी चार आना क्षेत्रफल फैलिएको छ । गण्डकी प्रदेशसभा सदस्य राजीव पहारी आफूले रत्नमन्दिर र हिमागृह सर्वसाधारणका लागि खुला गरिनुपर्ने माग सदनदेखि सरकारसम्म उठाउँदै आउँदासमेत सुनुवाइ नभएको बताउँछन्

दुवै सरकारले पर्यटक आगमन अधिकतम वृद्धि गरेर पर्यटनबाटै समृद्धि हासिल गर्ने साझा उद्देश्य लिइरहँदा फेवाताल किनारमा अवस्थित पर्यटकका लागि आकर्षण बन्नसक्ने रत्नमन्दिर र हिमागृह भने अहिलेसम्म पनि बन्द छन् । गणतन्त्र घोषणापछि नारायणहिटी दरबारलगायत तत्कालीन राजा वीरेन्द्र र ऐश्वर्य तथा उनीहरूको परिवारजनको नाममा रहेका सम्पत्ति नेपाल ट्रष्ट मातहतमा ल्याएर नारायणहिटी लगायतका दरबारहरू खुला गरिँदासमेत यहाँका यी दुई दरबार भने अहिलेसम्म बन्द नै छन् ।

सरकारले घोषणा गरेका उल्लिखित लक्ष्यहरू हासिल गर्न पूर्वाधार विकास, नयाँ नयाँ गन्तव्यको खोजी र प्रवद्र्धन जरुरी हुन्छ । आमजनताको चासो र कुतुहलताको विषय बन्दैआएका शाही राजाका यी दुई दरबार भने गणतन्त्र स्थापना भएर ११ औँ वर्षगाँठ मनाइँदै गर्दासमेत प्रयोगमा आउन सकेका छैनन् ।

रत्नमन्दिर सर्वसाधारणका लागि खुला गरेर पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पर्यटन व्यवसायीले माग गर्दै आए पनि त्यसको सुनुवाइ हुन सकेको छैन । ती दरबारलाई शाही कालमा जस्तै गरी अहिले पनि २४ सै घण्टा नेपानी सेनाले पहरा दिएर राखेको छ । कतिले त्यसलाई गणतन्त्र आगमन भए पनि त्यसमा व्यावहारिक परिवर्तन नभएको भन्ने गरेका छन् ।

प्रदेश सरकारको मुख्यालय नजिकै रहेका यी भव्य दरबार खुला गरी पर्यटकको बसाइ लम्ब्याउनुपर्ने आवाज धेरै समयअघिदेखि उठ्दै आएको हो । सरकारले घोषणा गरेको आन्तरिक पर्यटक वर्ष र नेपाल भ्रमण वर्षलाई सफल बनाएर पर्यटकको आगमन वृद्धि गर्न र बसाइ लम्बाउन अब दरबार खोल्न विलम्ब गर्न नहुने पर्यटन व्यवसायीहरू बताउँछन् ।

देशमा तीन तहका सरकार गठन भएर संघीयता कार्यान्वयन भएको अवस्थामा नेपाल ट्रस्ट मातहतमा आइसकेका ती दरबारलाई संग्राहालयको रूपमा विकास गरी पर्यटकका लागि प्रवेश खुला गरेर लाभ उठाइसक्नुपर्नेमा त्यसतर्फ सरकारको ध्यान नपुगेको गुनासो ती व्यवसायीको छ ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल रत्नमन्दिर र हिमागृह खुला हुनुपर्दछ भनेर पर्यटन व्यवसायीले एक दशकअघिदेखि आवाज उठाउँदै आएको भए पनि सम्बोधन नभएको बताउँछन् । त्यसलाई खुल्ला गर्न उनीहरूले निकै पहल पनि गरेका हुन् । उनले उक्त दरबार जतिसक्दो छिटो खुला गरेर ‘टुरिजम प्रडक्ट’को रूपमा विकास गर्न विभिन्न मञ्चमा आग्रह गर्दै आएका छन् । यी दरबारको नेपालको राजसंस्थासँग जोडिएको इतिहास र संस्कृतिलाई हेर्न पर्यटक पनि लालायित छन् ।

उनले भने, ‘रत्नमन्दिर र हिमागृह हामीसँग भएका धरोहर हुन् । यिनलाई टुरिजम प्रडक्टको रूपमा विकास गरिनुपर्दछ र अबको बदलिँदो परिवेशसँगै भएका सम्भावनालाई नगदमा परिर्वतन गर्नसक्नु पर्दछ । यिनलाई निःशुल्क होइन, सशुल्क खोल्नुपर्दछ भन्ने माग हो ।’

पोखराको मुटुमा अवस्थित राजसंस्थाको चिनारी र रहनसहनसँग गाँस्सिएका यी दुई स्थान सर्वसाधारणका लागि खुला भइदिए अहिलेको पर्यटकको बसाइ दर १ दशमलव ७ दिनमा आधा दिन बढाउन सकिने दाबी पोखरेलको छ । पूर्वराजपरिवारले ‘विन्टर प्यालेस’ का रूपमा प्रयोग गर्दै आएको रत्न मन्दिरलाई शाहवंशीय राजतन्त्रको प्रतीकका रूपमा संग्रहालयमा रूपान्तरण गर्न उपयुक्त हुने पोखरेल ठान्छन् ।

रत्नमन्दिर पूर्व राजपरिवारका सदस्यहरू पोखरा आउँदा बसोवास गर्ने ठाउँ हो । राजा महेन्द्रले पोखरा आउँदा जाँदा बस्न मिल्ने गरी आफ्नी कान्छी श्रीमती रत्नको नामबाट यो दरबारको निर्माण गरेका थिए । विसं २०१३ मा निर्माण सुरु गरिएको यो आवास निर्माण गर्न दुई वर्ष लागेको बताइन्छ । त्यसवेला पोखरामा होटल नहुँदा दरबारले विदेशी पाहुनासमेत यहीँ राख्ने गथ्र्यो भने यही राजाले विदेशी पाहुनासँग भेट गर्ने तथा विभिन्न देशका राजदूतहरूबाट चढाइने ओहोदाको प्रमाणपत्र ग्रहण गर्ने कार्यक्रम पनि यहीँ हुने गर्दथ्यो ।

राजा महेन्द्रका पालामा बनेको दरबार पछि राजा वीरेन्द्रको नाममा आएको थियो । गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र उनका परिवारको नाममा भएका सम्पूर्ण सम्पत्ति नेपाल ट्रस्टको नाममा ल्याउने सरकारी निर्णयपछि १ सय ११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर पनि ट्रस्टको स्वामित्व गइसकेको छ ।

तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र विसं ०५८ जेठ १९ को दरबार हत्याकाण्डको रात र ०६२–६३ को दोस्रो जनआन्दोलनका समयमा पनि करिब तीन महिना यहीँ आएर बसेका थिए । विसं ०६१ माघ १९ को शाही कदमपछि राजा वीरेन्द्र र दरबारका नाममा रहेका अधिकांश सम्पत्ति राजा ज्ञानेन्द्रको स्वामित्वमा गए पनि रत्नमन्दिर भने वीरेन्द्रकै नाममा रहिआएका कारण नेपाल सरकारको स्वामित्वमा आउन सहज भएको हो । रत्नमन्दिरको मुख्य भवनमा ११ कोठा छन् । परिसरभित्र प्रशासनिक भवन, फेवातालसँगै तालघर, सैनिक बस्ने ३८ कोठे लामो भवन पनि छन् ।

रत्नमन्दिरसँगैको हिमागृह पनि नेपाल ट्रस्टको स्वामित्वमा आइसकेको छ । राजा महेन्द्रका माइला भाइ हिमालय वीर विक्रमका नाममा हिमागृह बनेको थियो । विसं ०३८ पुस ९ गते अधिराजकुमार हिमालयबाट पत्नी प्रिन्सेप शाहलाई उक्त घर उपहार दिइएको थियो । विसं ०४६ मा आएर प्रिन्सेपबाट राजा वीरेन्द्रका नाममा हक कायम गरिएको हिमागृह १० रोपनी चार आना क्षेत्रफल फैलिएको छ । गण्डकी प्रदेशसभा सदस्य राजीव पहारी आफूले रत्नमन्दिर र हिमागृह सर्वसाधारणका लागि खुला गरिनुपर्ने माग सदनदेखि सरकारसम्म उठाउँदै आउँदासमेत सुनुवाइ नभएको बताउँछन् ।

राजपरिवारसँग जोडिएका यी दुई स्थान सँधै बन्द रहँदा राजतन्त्र समूल नष्ट भएको र गणतन्त्रको प्रादुर्भाव भएको अनुभूति जनतालाई हुन नसकेको टिप्पणी गर्दै उनले भने, ‘रत्नमन्दिर र हिमागृह बन्द गरेर कसलाई के फाइदा ? के स्वार्थले बन्द गर्नेे ? राजा बस्ने मुख्य दरबार नारायणहिटी त खुला गरियो भने यसलाई बन्द गर्नुपर्ने कारण के ? राजतन्त्र समाप्त भइसक्यो । गणतन्त्र कालमा यी दरबारको व्यावहारिक प्रयोग गर्नुपरेन ?’

रत्नमन्दिरलाई पार्कको रूपमा व्यवस्थित गरी आन्तरिक र बाह्य पर्यटक रमाउने वातावरण नबन्दासम्म पर्यटकको संख्यामा उल्लेख्य वृद्धि नहुने बताउने प्रदेशसभा सदस्य पहारीले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने संघीय सरकारको लक्ष्य प्राप्तिका लागि पनि दरबार खुला गरिनुपर्ने बताए ।

रत्नमन्दिर र हिमागृह खुला गर्ने विषयमा पटकपटक बहस नभएको भने होइन । यसलाई अतिथि गृह बनाउने, निजी क्षेत्रलाई भाडामा दिने, जैविक विविधतायुक्त पार्क बनाउने, पर्यटकीय सूचना केन्द्रमा रूपान्तरण गर्ने विषयमा वेलावेलामा चर्चा चले पनि व्यापारिक प्रयोजनमा दिन नहुने अभिमत पर्यटन व्यवसायीबाट व्यक्त हुँदै आएको छ । यसलाई व्यवस्थित रूपमा संरक्षण गरी सम्पदा क्षेत्र घोषणा गरेर जैविक विविधतायुक्त पार्क वा संग्रहालय बनाउनुपर्ने उनीहरूको माग छ ।

नेपाल ट्रस्टको कार्यालयका सूचना अधिकारी अमृत महर्जनले रत्नमन्दिर र हिमागृहका बारेमा छिट्टै निर्णय लिइने बताए । ट्रस्टमा नयाँ सञ्चालक समिति नियुक्त भएर आएको बताउँदै उनले भने, ‘पोखराका ती दरबारहरू के गर्ने भन्ने बारेमा हामी प्रक्रियामा नै छौँ । केही ढिलाइ भएको छ । भर्खर मात्र नयाँ सञ्चालक सदस्यहरू आउनुभएको छ । हामी केही न केही टुंगोमा छिट्टै पुग्छौँ ।’

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय