यार्सा टिप्ने जानेलार्इ १० लाखकाे दुर्घटना बिमा

दार्चुला । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले पहिलोपटक यो वर्षदेखि यार्सा पाटनमा जानेहरूका लागि १० लाख सम्मको दुर्घटना बिमा सुविधा गरेको छ । यार्सा पाटनमा विभिन्न दुर्घटनाका कारण बर्सेनि कतिपय यार्सा संकलकहरूको तथा अन्य नागरिकहरूको समेत ज्यान जाने गरेकाले यो वर्ष १० लाख सम्मको बिमा सुविधा गरिएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका सूचना अधिकारी राजु घिमिरेले बताए ।

यार्सा पाटनहरूमा जानेहरूका लागि बिमा सुविधा गरिएको भने यो पहिलोपटक हो । बर्सेनि हिउँपहिरोमा परी, भीरबाट लडेर, नदीमा बगेर तथा लडाइँ झगडाका कारण पनि यार्सा पाटनमा कतिपयको ज्यान जाने गरेकाले बिमा सुविधा ल्याइएको सूचना अधिकारी घिमिरेको भनाइ छ ।

उनका अनुसार यार्सा संकलक, सुरक्षाकर्मीहरू, संरक्षण क्षेत्र कार्यालय तथा पोस्टका कर्मचारीहरू, व्यवस्थापन परिषद् पदाधिकारीहरू, एक जना पत्रकार गरी जम्मा २० जनाको १० लाखका दरले बिमा सुविधा लागू गरिएको सूचना अधिकारी घिमिरेले जानकारी दिए ।

दार्चुला जिल्लाका विभिन्न यार्सा पाटनहरूबाट यो वर्ष झन्डै पाँच सय किलोग्रामको हाराहारीमा यार्सा संकलन हुने अनुमान गरिएको छ । गत आवमा ५ सय ५० किलोग्राम यार्सा निकासी भएकाले यो वर्ष पनि झन्डै सोही हाराहारीमा यार्सा संकलन हुने अनुमान गरिएको सूचना अधिकारी राजु घिमिरेले जानकारी दिए ।

गत वर्षमा झन्डै ८ सय ५० किलोग्राम यार्सा संकलन गरिएको भए पनि कतिपय यार्सा संकलक तथा व्यापारीहरूसँगै रहेकाले अझै संकलन भएको यार्सा परिमाणमा थप हुने अनुमान गरिएको छ । ‘गत वर्ष पनि कतिपय यार्सा स्टक रहेको छ, झन्डै पाँच सय किलोग्राम संकलन हुने अनुमान गरिएको छ’, सूचना अधिकारी घिमिरेले बताए । बजार राम्रो भए नयाँ संकलन र गत वर्षको गरी झन्डै ८ सय ५० किलोग्राम यार्सा निकासी हुने अनुमान गरिएको उनले बताए ।

यो वर्षको यार्सा संकलनका लागि दार्चुला जिल्लाका यार्सा पाटनहरू खुला गरिएका छन् । यार्सा संकलन व्यवस्थापन निर्देशिका बमोजिम जेठ दोस्रो सातादेखि यार्सा पाटनहरू खुला गर्न सकिने व्यवस्थाअनुसार सबै वनहरू खुल्ला गरिएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ ।

यार्सा संकलन व्यवस्थापन निर्देशिका–२०७३ मा उल्लेख भए बमोजिम जेठ दोस्रो सातादेखि यार्सा संकलन गर्न सकिने व्यवस्था छ । सोहीअनुसार दार्चुला जिल्लाका सबै यार्सा पाइने वन क्षेत्रमा संकलकहरूका लागि खुला गरिएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी राजु घिमिरेले बताए । ‘दार्चुलाका सबैजसो यार्सा पाटनहरू खुला गरिएको पोस्टहरूबाट जानकारी आएको छ’, सूचना अधिकारी घिमिरेले जानकारी गराए ।

सुरुमा यार्सा संकलनका लागि संकलकहरूको फुर्सद र सयमअनुसार बैशाख महिनादेखि नै यार्सा संकलन गर्ने गरिए पनि पछिल्लो सयम निर्देशिका जारी भएदेखि निर्देशिका बमोजिम अगाडि बढ्ने अभ्यास हुन थालेको छ । २५ वैशाखदेखि जिल्लाका झन्डै दर्जन पोस्ट तथा अस्थायी पोस्टबाट यार्सा संकलन परिचयपत्र वितरण भइरहेको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका सूचना अधिकारी राजु घिमिरेले बताए ।

यार्सा पाटनहरूमा यार्सा संकलनका लागि अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुला, मार्मा क्षेत्रको बिटुले रेञ्ज पोस्ट, गुल्जर, खण्डेश्वरी तथा लटीनाथमा अस्थायी पोस्ट राखेर परिचय पत्र वितरण भइरहेको छ । त्यस्तै सिप्टी तथा खार पोस्टबाट परिचय पत्र वितरण भइरहेको छ भने चाइमटेलामा अस्थायी पोस्ट राखेर परिचय पत्र वितरण गरिने सूचना अधिकारी घिमिरेले बताए ।

यस्तै दुहूँ तथा व्याँस क्षेत्रका लागि श्रीबगड पोस्ट, सुन्सेरा, दुम्लिङ र व्याँस पोस्टबाट वितरण कार्य भइरहेको छ । दोपाखे भन्ने स्थानमा पनि अस्थायी पोस्ट राखेर स्थापना गरिनेछ भने तुसारपानी क्षेत्रमा पनि अस्थायी पोस्ट राख्ने तयारी भइरहेको सुन्सेरा रेन्ज पोस्टका सिनियर गेम स्काउट मानसिंह महराले बताए । ‘हेडक्वार्टरदेखि पोस्टहरूमा गरी झन्डै दुई हजारको हाराहारीमा संकलन परिचय पत्र वितरण गरिएको छ’, सूचना अधिकारी घिमिरेले भने ।

९० प्रतिशत जति अहिले जिल्लाभित्र तथा संरक्षण क्षेत्र भित्रकै रहेकाले झन्डै १० लाखको हाराहारीमा राजस्व संकलन भएको छ । ती मध्ये कतिपय जिल्ला बाहिर र संरक्षण क्षेत्र बाहिरका समेत रहेकाले १० लाख भन्दा बढी राजस्व संकलन भएको हुनसक्ने उनको भनाइ छ । यो संख्याको दोब्बर तेब्बर यार्सा संकलकहरू यार्सा पाटनमा प्रवेश गर्ने गरेका छन् ।

प्रतिक्रिया