हिजो अलच्छिनी भन्थे, आज बहादुर भन्छन्

कुनै पनि महिलाका लागि पति गुमाउँदाको क्षण कम पीडादायी हुँदैन । २१ वर्षकै कलिलो उमेरमा सुखदुःखसँगै संघर्ष गर्ने भनेको साथीले एक्लै छोडेर जाँदाको अवस्था कस्तो होला ? कल्पना गर्न पनि कठीन हुन्छ । मुलुकमा चलेको १२ वर्षे द्वन्द्वका वेला धेरैले परिवारका सदस्य गुमाए, त्यस मध्येकी एक हुन्, बर्दियाकी शोभा बिसी । कुनै वेला परिवारबाटसमेत अनेक दुःख बेहोरेकी उनको अहिले परिचय फेरिएको छ । कुनै वेला अवला, एक्ली महिला भनेर आफन्त र समाजले समेत अनेक प्रकारका हिंसा गरेका थिए । तर, तिनै शोभाले १७ वर्षको एकल जीवनमा निकै संघर्ष गरेर समाजको अगुवाको परिचय बनाएकी छन् ।

‘२१ वर्षको थिएँ, पतिले काखे छोरी र मलाई छोडेर जाँदा (एकल महिला हुँदा) । त्यो दिन न बिर्सन सक्छु न सम्झन चाहन्छु । नचाहेर पनि वेलावेलामा सम्झाउनेहरू आउँछन्, सम्झिरहन्छु । त्यो दिन म माइतीघर बाँकेमा थिएँ । तिजको दर खाने दिन थियो । साँझ पतिसँग फोनमा धेरै कुरा भयो । अहिलेजस्तो हाते फोन (मोबाइल) को सुविधा थिएन । आफन्तको घरमा गएर फोन गरेँ । त्यो नै उहाँसँगको मेरो अन्तिम कुरा भयो । त्यसपछि मैले आफ्ना गुनासा सुनाउन पाए न उहाँले आफ्ना कुरा भन्न पाउनुभयो । त्यस दिन फोनमा कुरा टुंग्याउँदै उहाँले दुई दिनपछि पञ्चमीको दिन छोरी र देवरानीसँग पनि कुरा गर्छु भन्नुभएको थियो । उहाँ देवरानीलाई बहिनी जस्तै माया गर्नुहुन्थ्यो । तर, उहाँले फेरी कुरा गर्छु भनेको दिन उहाँको शव घरमा आइपुग्यो ।’

शोभाका पति नेपाल आर्मीमा भएका कारण अर्घाखाँचीमा खटिएका थिए । देशमा चारैतिर सशस्त्र द्वन्द्व चर्किएको थियो । हरेक दिन मान्छे मरेका र घाइते भएका समाचार सुन्नु सामान्यजस्तै भएको थियो । अझ सुरक्षा निकायमा काम गर्नेका परिवारलाई सधैँजसो त्रास भइरहन्थ्यो । को कति वेला मारिन्छ पत्तै थिएन । शोभाका पति सरकारी नुनपानी खाएर देशको शान्ति सुरक्षामा अर्घाखाँचीको सन्धीखर्कमा खटिएका थिए । ०५९ भदौ २३ का दिन उनीसँगै नेपाल आर्मीका १७ जनाले तत्कालीन माओवादीसँग भएको भिडन्तमा ज्यान गुमाउनु प¥यो ।

‘तीजको दिन थियो । उहाँको दीर्घायुको लागि व्रत बसेको थिएँ । तीज महिलाका लागि धार्मिक रूपमा अति नै महत्वपूर्ण पर्व थियो । अझ आर्मीमा भएका कारण सधैँ त्रास हुन्थ्यो । मनमा अनेक कुरा खेल्थे । मैले उहाँको दीर्घायुको लागि व्रत बसेको थिए । तर, उनैले त्यो दिन देख्न पाएनन् ।’ भावुक हुँदै शोभाले भनिन् । ‘बिहान नौ बजेको समाचारमा सन्धीखर्कमा भिडन्त भएको भन्ने सुन्ने बित्तिकै मन आत्तियो, कतै उहाँलाई त केही भएन भनेर त्यसै छट्पटिएँ । केही समयमा उहाँले पनि हामीलाई छोडेर जानुभएको सुनेँ, त्यो समाचारले मन विछिप्त भयो, चारैतिर कालो बादल मडारिएर आएको जस्तै देखँे ।’ यो संसारमा अब कोही छैन जस्तै भयो ।

शोभाले बाबुआमाको रोजाइमा १७ वर्षको कलिलो उमेरमा बिहे गरेकी थिइन् । विवाह गर्ने उमेर पुग्दै जाँदा उनलाई पतिले छोडेर गएका थिए । पतिले छोडेर गएको पीडाले मात्रै उनले सुख पाइनन् । समाज र आफन्तले दिने पीडा पनि सँगै खेपिन् । नेपाली समाज को कसरी म¥यो भन्ने कुराको ख्याल गर्दैन । घाउमा नुन छर्किेनको जमात हाम्रो समाजमा बढी छ । विधवा एकल हुन कसलाई रहर हुन्छ र ? तर, त्यही एक्लै भएकोमा हेर्ने दृष्टिकोण अहिले पनि फेरिएको छैन ।

पतिको मृत्युपछि पनि उनले राज्यका तर्फबाट पाउने राहतमा समेत अनेक हिंसा खेप्नुप¥यो । ‘२१ वर्षको यो जवान केटी लोग्नेको पैसा लिएर पोइल जान्छे भन्ने शंकाले मलाई निकै पोल्यो । नाम थाहा भएन अल्लारे थिएँ । आर्मीकै धेरैले भने पोइल जाने होला होइन ! सासूससुरालाई पनि त्यसै भनेर उक्साए । पति साथमा नभएपछि समाज र आफन्त कसरी पछिलाग्दा रहेछन् भोगेँ । कैयौँपटक आफन्तको मुखबाट अलच्छिनी बुहारी भनेको सुनेँ । पति गुमाएको पीडासँगै अनेक पीडा खेप्नुप¥यो ।’

पतिको १३ दिनको काम सकाएपछि काठमाडौं आयौँ । सासूससुरा पनि साथमै हुनुहुन्थ्यो । मेरो पतिले देशको लागि रगत बगाएर पाउने पैसामा पनि निकै दुःख पाएँ । मलाई लागेको थियो दुःखमा राज्य र आफन्तले साथ देलान तर त्यस्तो भएन । अनेक तिखा वचन सुन्न प¥यो । ती वचन सुन्दा अहिले पनि मन कुँडिएर आउँछ । विपत्तिमा परेका वेला आर्मीका मान्छेले गरेको व्यवहार देखेर निकै दुःख लाग्यो ।

पतिले पाउने पैसामा मेरो हक थियो । तर, त्यसमा उनीहरूले निकै खेल्ने प्रयास गरे कहिले ससुरा उचाले कहिले सासू, त्यो गर्नु आवश्यक थिएन । वेलावेला सासूससुरा पनि आर्मीका मान्छेको उक्साहटमा लाग्नुभयो । मेरा लागि पैसा नै ठूलो कुरा थिएन । उहाँले पनि आफूहरूको मात्रै नाता प्रमाणित गुर्नभएछ त्यसले पूरा नभएपछि मात्रै छोरी र मेरो नाता प्रमाणित गरियो । पति गुमाएर पाउने सात लाख लिन पनि तीनपटक गरेर तीन वर्ष लाग्यो । त्यो पैसाले जग्गा किनेँ घर बनाएँ । त्यो पनि आर्मीलाई कामको विवरण देखाएर ।

खै के नियम हो आर्मीको त्यस्तो दुर्घटनापछि पीडितका परिवारले पाउने पैसा सिधै नदिएर सुन्धारामा रहेको बैंकमा राख्न लगाउँछन् । त्यसले हामीलाई फाइदा पुगेजस्तो लाग्दैन । जब आर्मीका मान्छेले सासूससुरालाई उचाल्थे एक दिन सहनै नसकेर भनेँ, मेरो सासूससुरा मैले हेर्ने हो । किन लफडा गर्नुहुन्छ ? अरू आएर रुन्छन्, यो टेबलमा लड्छेसम्म भने ।

सासूसुराले छोरा खाइस् भने, पल्टनमा जान नदिनुपर्ने भने । उहाँहरूले सक्दो गुर्नभयो । एकातिर पति गुमाउँदाको पीडा अर्कोतर्फ आफन्तको टर्चर । मैले पति बितेको ४५ दिनमा रंगिन कपडा लगाएँ त्यसमा पनि अनेक कुरा सुन्नुप¥यो । सेतो लुगा नलगाएको भनेर रिसाउनुभयो । मलाई सेतो लुगामा सधैँ बेरिनुपर्छ भन्ने लागेन र एक प्रकारको विद्रोह गरेँ ।

हामीजस्ता आर्मीका परिवारलाई सिलाइको तालिम दिने रहेछ काठमाडौं आए । बन्दीजस्तै बनाएर तालिम दिइयो । तालिमको समयमा कसैसँग भेट्न पनि नपाउने कुरा गर्न पनि नपाउने । एकल भनेर हरियो रंगको मात्रै लुगा लगाउन दिन्थे । त्यती वेलाका चिफ साहेबकी पत्नीलाई रानीसाहेब भन्नुपथ्र्यो । उनले नै एउटा सिलाइ मेसिन र पाँच हजार नगद दिइन् । यो बेचेर नखानु बचाएर केही गर्नु भनेका थिए, त्यसैले सिलाइ पसल खोलेँ ।

यहाँ तालिममा भएको वेला आफन्तलाई कुरा गर्छु भनेर कसैले थाहा नपाउने गरी लिली थापालाई फोन गरेँ । उहाँसँग पहिला पनि भेट भएको थियो । उहाँबाट धेरै ऊर्जा पनि पाएको थिएँ । मजस्तै एकल महिलाका लागि काम गर्ने संस्था रहेछ । त्यसबाट मलाई केही गर्नुपर्छ भन्ने प्रेरणा मिल्यो । आज जे छु त्यसमा उक्त संस्थाको ठूलो देन छ ।

पति बितेको केही समयपछिदेखि यो संस्थामा आबद्ध भएँ । निकै संघर्ष गरेँ । हिजो अलच्छिना बुहारी भनेर सासूससुराले हेला गर्नुहुन्थ्यो, आज बहादुर बुहारी भएको छु । उहाँहरूलाई मोटरसाइकलमा राखेर हिँड्छु । आज उहाँहरूको व्यवहार फेरिएको छ । माया र सहयोग पाएको छु । देवरहरूले पनि निकै सहयोग गर्नुभयो । आज समाज परिवर्तन र आफूजस्तै महिलाका हितमा लागेको छु । (काठमाडौंमा भएको भेटमा गरिएको संवाद)

प्रतिक्रिया