त्रसित छन् आरुबोटेका स्थानीय

फिदिम । मंगलबार बिहानदेखि कान्छीमाया फियाकले खाना खाएकी छैनन् । उनका हातगोडा अझै कापिरहेका छन् । ओठ सुकेका छन् । सबैले सोध्ने प्रश्नको उत्तर दिएर उनी गलिसकेकी छन् । चिया र केही फलफूल खाएर उनी घरको वरपर गर्छिन् । सुनसान उनको घरमा अहिले दिउँसोको समयमा मान्छेको घुइँचो टुट्दैन तर राति भने कोही हुँदैन ।

नौ जनाको सामूहिक हत्या भएको पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा बमहादुर फियाकको घरको सबैभन्दा नजिक कान्छीमायाको घर छ । कान्छीमाया बमबहादुरका काकाकी छोरी हुन् । उनै कान्छीमायाले बमबहादुरकी साइली छोरीकी छोरी सीता खजुमलाई आक्रमणकारीबाट बचाइन् तर त्यो विभत्स हत्याको दृश्य देखेपछि उनले शान्तिको श्वास फेर्न पाएकी छैनन् । ‘छ दिन भयो, निन्द्रा लागेको छैन । केही खाऔँ मन लाग्दैन’, चिन्तामा देखिएकी कान्छीमायाले भनिन, ‘साह्रै डर लागेको छ, म त एक्लो मान्छे, अब कहाँ जाने ? के खाने ?’

त्यस्तै सामूहिक हत्यामा मारिएका बमबहादुरका छिमेकी हुन, बजिन्द्रप्रसाद फियाक । बजिन्द्रको घर घटनास्थलभन्दा करीव १५० मिटर पर भए पनि डाँडोले छेकेको छ । बजिन्द्र आरुबोटेका स्थापित सामाजिक अगुवा हुन् तर सबै स्थानीय त्रासले कापेको देख्दा उनलाई समाज कति असुरक्षित रहेछ भन्ने प्रश्नले घेरेको छ । ‘हाम्रो ज्यानधनको सुरक्षा छैन भने उदाहरण यो घटना हो’, बजिन्द्रप्रसादले भने, ‘कसैलाई पनि सुरक्षित छौँ भनेर आश्वस्त पार्न सकिएको छैन ।’

मिक्लाजुङ–३, आरुबोटेका बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको परिवारका नौ जनाको गत सोमबार राति सामूहिक हत्या भएपछि यो वडाका अधिकांश स्थानीय त्रासमा बाँचेका छन् । वडाध्यक्ष हस्तराज फियाक फिल्ममा हेरेको काल्पनिक कथा र कतै सुनेको घटनाभन्दा विभत्स र डरलाग्दो घटना आफ्नै आँखाअघि भएपछि स्थानीय त्रासमा बाँचेको बताउछन् । ‘अहिलेसम्म एक जना मान्छेले सबैको हत्या ग¥यो भन्ने पुष्टि भएको छ’, वडाध्यक्ष फियाकले भने, ‘तर, स्थानीयवासी यसलाई स्वीकार्न तयार नहुँदा त्रास कायम छ ।’

यहाँका अधिकांश स्थानीय हत्यामा बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमलाई कसैले सहयोग गरेको ठान्छन् । नौ जनाको हत्या भएकै दिन माखिमको शव उनको घर नजिकै फेला परेको थियो । मिक्लाजुङ–२ दशमीका चन्द्रवीर शेर्माले भने, ‘स्थानीयवासी एक्लै हिँड्न र रातको समयमा निस्कन सक्ने अवस्था छैन, घरमा सुत्नसक्ने अवस्थामा छैन ।’

प्रतिक्रिया