बालबालिका फुटबल महोत्सव

काठमाडौं । सेल्टर आश्रय नेपालको आयोजनामा शुक्रबारदेखि दोस्रो बालबालिका फुटबल महोत्सव हुने भएको छ । आयोजक सेल्टर आश्रय नेपालले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै महोत्सवको जानकारी गरायो । महोत्सवको सबैभन्दा महत्वपूर्ण पाटो भनेको फुटबल प्रतियोगिता रहनेछ ।

त्यसबाहेक महोत्सवमा आर्ट वर्कशप, म्युजिक वर्कशप र साधारण सभा पनि हुने आयोजकले जानकारी दिएको छ । महोत्सवअन्तर्गत आयोजना हुने दोस्रो स्ट्रिट चाइल्ड राष्ट्रिय लिगमा छात्रा र छात्रको टिमको प्रतिष्पर्धा हुनेछ । पुरुषतर्फ दशवटा टिम सहभागी छन् । १० टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा प्रतिष्पर्धा गराइनेछ । छात्रा तर्फ भने जम्म ६ वटा टिम सहभागि छन् ।

छात्रातर्फको खेल भने राउण्ड रोविन लिगको आधारमा संचालन गराइनेछ । प्रतिष्पर्धामा विजयी हुने छात्र र छात्रा दुबै टिमलाई प्रशिक्षणका लागि मलेसिया लगिने सेल्टर आश्रय नेपालकी अध्यक्ष खुस्बु ओलीले जानकारी दिइन् । खेलाडीको आतेजाते, मलेसियामा बसोबास तथा प्रशिक्षणको ब्यवस्था मलेसियन फुटबल एसोसियसनले गर्नेछ । ‘ड्रिम एसिया अवार्डमा जितेको अवार्ड रकमलाई सडक बालबालिकाको क्षेत्रमा नै खर्च गरेका छौं,’ अध्यक्ष ओलीले भनिन् ।

प्रतियोगिताका लागि प्राविधिक सहयोग अखिल नेपाल फुटबल संघले गर्नेछ । दुई वर्षअघि पनि सेल्टर आश्रय नेपालले स्ट्रिट चामइल्ड राष्ट्रिय लिग आयोजना गरेको थियो । त्यहाँबाट छनोट भएका खेलाडीलाई रसियाको मस्कोमा आयोजना भएको स्ट्रिट चाइल्ड विश्वकपमा सहभागि गराइएको थियो ।

प्रतिक्रिया