आठौंमा पदक विजेता सम्मानित

काठमाडौं । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता नेपाल एपिएफ क्लबका २ सय ४ जना खेलाडीहरूलाई नगदसहित सम्मानित भएका छन् ।  गत महिना प्रदेश–५ को विभिन्न स्थानमा आठौँ राष्ट्रिय खेलकुदमा पदक विजेता एपिएफ क्लबका सम्मान गरिएको हो । हलचोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले स्वर्ण पदक विजेतालाई नगदसहित सम्मान गरेका हुन् ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू पुष्पराम केसी, नारायणबाबु थापा र रामशरण पौडेलले रजत र कांस्य पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कार प्रदान गर्नुभयो । त्यस अवसरमा कुल १३ लाख ९५ हजार ५ सय रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिएको छ । सो कार्यक्रममा स्वर्ण पदक विजेतालाई जनही १० हजार रुपैयाँ, रजत पदक विजेतालाई जनही ७ हजार रुपैयाँ तथा कांस्य पदक विजेतालाई जनही ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

एकभन्दा बढी पदक विजेता खेलाडीहरूलाई थप विजयी प्रतिपदकमा ५० प्रतिशत पुरस्कार रकम थप गरी प्रदान गरिएको छ । उक्त बिशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले यस किसिमको सफलताले संगठनका सकल दर्जाका राष्ट्रसेवकहरूलाई गौरवान्वित बनाएको चर्चा गरेका थिए ।

उनले राष्ट्र, राष्ट्रियता र नेपाली जनताको सेवा, सुरक्षा, सहयोग तथा उद्धारका अलावा खेलकुदको क्षेत्रमा समेत संगठनले आफ्नो सक्रिय सहभागिता जनाउँदै आएको उल्लेख गरेका थिए । महानिरीक्षक खनालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने खेलहरूमा उत्कृष्ट योगदान पु¥याउने खेलाडीहरूको मनोबल बढाउनको लागि विगतका दिनहरू पनि पुरस्कृत गर्दै आएको स्मरण गरेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले सम्मान कार्यक्रमको विविध विषयमा जानकारी दिएका थिए । प्रतियोगिताको कुल ३५ विधा मध्ये २८ विधामा नेपाल एपिएफ क्लबका खेलाडीहरूले ५४ स्वर्ण पदक, ७१ रजत पदक र ७९ कास्य पदक गरी कूल २०४ पदकसहित तेस्रो स्थान हासिल गरेका थिए ।

प्रतिक्रिया