२८ स्थानीय तहमा बैंक पुग्न बाँकी

काठमाडौं । देशभर कुल २८ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुग्न बाँकी रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा कुल ७५३ स्थानीय तहमध्ये ७२५ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा पुगेका छन् । सरकारले आम नेपालीलाई वित्तीय पहुँच पु¥याउने लक्ष्यका साथ हरेक स्थानीय तहको केन्द्रमा वाणिज्य बैंकको शाखा पु¥याउनै पर्ने बाध्यकारी व्यवस्था गरेको छ । केन्द्रीय बैंकले स्थानीय तह नै तोकेर कुल २८ वटा वाणिज्य बैंकलाई जिम्मेवारी दिएको छ ।

नेपालको संविधानले संघीय, प्रदेश तथा स्थानीय सरकार गरी तीन तहको सरकारको व्यवस्था गरेको छ । स्थानीय सरकार नै जनतासँग जोडिने बलियो सरकार भएकाले पनि वित्तीय पहुँच जरुरी रहेको भन्दै धमाधम बैंकका शाखा खोल्न अभिप्रेरित गरिएको हो । राष्ट्र बैंकका अनुसार प्रदेश–१ का कुल १३७ स्थानीय तहमध्ये चालू आवको नौ महिनाको अन्त्यसम्म १३४ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । उक्त प्रदेशमा मात्रै तीन स्थानीय तहमा बैंकका शाखा पुग्न बाँकी छन् । प्रदेश २ का कुल १३६ स्थानीय तहमध्ये कुल १३४ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । सो प्रदेशका दुई स्थानीय तहमा बैैंकको शाखा पु¥याउने योजना केन्द्रीय बैंकको छ ।

राष्ट्र बैंकका अनुसार प्रदेश ३ का कुल ११९ स्थानीय तहमध्ये ११७ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । राजधानी आसपासको यस प्रदेशमा मात्रै दुई स्थानीय तहमा बैंकको शाखा खोल्न बाँकी रहेको र चालू आर्थिक वर्षको अन्त्यसम्म नयाँ शाखा खोल्ने योजना रहेको छ । गण्डकी प्रदेशका कुल ८५ स्थानीय तहमध्ये ८३ स्थानीय तहमा बैंकको शाखा पुगेका छन् । मात्रै दुई स्थानीय तहमा बैंकका शाखा खुल्न बाँकी छन् । प्रदेश ५ को भने कुल १०९ स्थानीय तह सबैमा बैंकका शाखा खुलेका छन् । सबै स्थानीय तहमा बैंकको शाखा पु¥याएर वित्तीय पहुँचमा अग्रणी प्रदेशको रूपमा प्रदेश ५ स्थापित भएको छ । आर्थिक विकासको दर समेत सोही प्रदेशमा बढी रहेको छ ।

राष्ट्र बैंकका अनुसार कर्णाली प्रदेशका कुल ७९ स्थानीय तहमध्ये हालसम्म मात्रै ६७ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । कुल १२ स्थानीय तहमा बैंकका शाखा खुल्न बाँकी छन् । भौगोलिक कठिनाइ तथा सूचना तथा सञ्चार प्रविधिको विस्तार नभएका कारण पनि बैंकको शाखा खोल्न कठिनाइ भएको पाइएको छ । त्यस्तै सुदूरपश्चिमका कुल ८८ स्थानीय तहमध्ये ८१ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । मात्रै सात स्थानीय तहमा बैंकको शाखा नखुलेका भए पनि निकट भविष्यमा नै बैंकको शाखा पु¥याउने लक्ष्य राखिएको छ ।

राष्ट्र बैंकका अनुसार देशभर वाणिज्य बैंकका मात्रै तीन हजार ३०९ वटा शाखा रहेका छन् । यस्तै विकास बैंक एक हजार २२४, वित्त कम्पनी २०३, लघुवित्त वित्तीय संस्थाका तीन हजार ४६९ शाखा सञ्चालनमा रहेका छन् । सबैं बैंक तथा वित्तीय संस्थाका गरी कुल आठ हजार २०५ शाखा सञ्चालनमा छन् । यस्तै पछिल्लो पटक पूर्वाधार विकास बैंकसमेत सञ्चालनमा आएको छ ।

प्रतिक्रिया