ताप्लेजुङमा सहिद पार्कको शिलान्यास

ताप्लेजुङ । विभिन्न आन्दोलनको इतिहासलाई जीवित राख्ने उद्देश्यले ताप्लेजुङमा सहिद पार्क निर्माण गरिने भएको छ ।

जिल्ला सदरमुकाम फुङलिङको तोक्मेडाँडा सामुदायिक वन भिन्तुनामा निर्माण गरिने सहिद पार्कको पूर्व पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्री तथा नेकपा स्थायी कमिटि सदस्य भीमप्रसाद आर्चाय र संघीय सांसद तथा नेकपा स्थायी कमिटी सदस्य योगेश भट्टराईले संयुक्त रूपमा बिहीबार शिलान्यास गरे ।

प्रदेश–१ सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आवमा १५ लाख रुपैयाँ बराबरको काम हुने गरी सहिद पार्क निर्माण उपभोक्ता समितिसँग सहकार्य सम्झौता गरिसकेको छ । पार्कमा भ्यूटावर, सहिद स्तम्भ, स्पट पोइन्ट, पिकनिक स्पट, लाइब्रेरी र जातीय तथा धार्मिक सद्भाव बढाउने मठमन्दिर तथा गुम्बा, संग्रहालय र प्राकृतिक क्षेत्रमा केही कृतिम थप गरी उन्नत स्तरको गुफा समेतका पूर्वाधारसमेत रहने गरी सहिदपार्क निर्माण अघि बढाउन लागेको सहिद पार्क निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष खेलप्रसाद बुढाक्षेत्री (पराग) ले जानकारी दिए ।

नेपालको हरेक राजनीतिक परिवर्तनका क्रममा ज्यान गुमाउने राष्ट्रप्रेमी ताप्लेजुङका नागरिक (सहिद) को सम्मानका लागि यो क्षेत्र एउटा पहिचानकै रूपमा स्थापित हुने पार्कको शिलान्यास गर्दै पूर्वमन्त्री भीम आर्चायले विश्वास लिए । यो स्थानमा देशको राजनीतिक आन्दोलनमाा क्रममा ज्यान गुमाएका ताप्लेजुङका नागरिकको स्तम्भ निर्माण गर्ने डिपिआरमा उल्लेख गरिएको छ । प्राकृतिक रुपले सुन्दर र जैविक हिसाबले महत्वपूर्ण ठानिएको यो क्षेत्रमा निर्माण गरिने भ्यूटावरले सेता हिमाल र मनोरम हिमशृंखला, छिमेकी जिल्ला पाँचथर, तेह्रथुम, संखुवासभा र धनकुटाका विभिन्न क्षेत्रसहित जिल्लाभित्रको भूगोललाई नियाल्न सकिन्छ ।

अबको तीन वर्ष भित्रमा विशाल संरचना सहितको सहिद पार्क निर्माण कार्य पूरा गर्ने समितिको लक्ष्य छ । सहिद पार्कलाई ताप्लेजुङकै मनोरम सुन्दरता भएको पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने सोचका साथ सोही अनुसारका संचना तथा पूर्वाधार निर्माण केन्द्रित गर्ने योजना बनाइएको उनले जानकारी दिए । यहाँको धार्मिक, सांस्कृतिक तथा जातीय मौलिकता प्रदर्शन गर्ने उद्देश्यले बनाइने संग्रहालय अर्को आकर्षणको केन्द्र हुने उनको विश्वास छ । विभिन्न सम्पदाको दृश्यावलोकन गर्दै पिकनिकमा रमाउने केन्द्र यहाँ नभइरहेको अवस्थाको अन्त्य यो क्षेत्रले गर्ने बुढाक्षेत्रीको तर्क रहेको छ ।

प्रतिक्रिया