तराईमा फेरी हावाहुरीको कहर

वीरगञ्ज । पर्सामा फेरी हावाहुरीको कहरले एक किशोरीको ज्यान गएको छ । बुधबार बेलुका आएको हावाहुरीले पर्साको पकहा मैनपुर गाँउपालिका–१ धोरेका दिनेश सहनीकी १३ वर्षीया छोरी श्रुतिकुमारी सहनीको ज्यान लिएको हो ।

गाउँकै हाट बजारबाट तरकारी किनेर घर फर्किंदा बुधबार साँझ एकासि आएको हावाहुरीले सडक छेउको सिमलको रुख भाँचिएर श्रुति च्यापिएकी थिइन् । उनको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा बुधबार राती नै मृत्यु भएको थियो ।

उनी श्री ने.रा.आधारभूत विद्यालयको कक्षा ८ मा अध्ययनरत थिइन् । उनीसँगै रहेकी उनकी दिदी २१ वर्षीया सम्झना सहनी (रानी) बाँच्न सफल भएकी थिइन् । रुखको हाँगाले लडेर सम्झना सामान्य घाइते भएकी छन् । सम्झनाको हातमा समान्य चोटपटक मात्र लागेको पकहा मैनपुर–१ धोरेका वडासचिव हरिमोहन महतोले बताए ।

यता हावाहुरीले पर्साको जगरनाथपुर गाउँपालिका–४ हरपुरमा एउटा विद्यालय र चार वटा घरमा क्षति पु¥याएको छ । श्री दुर्गा प्रावि हरपुरको कम्पाउन्ड वाल हुरीले भत्काइदिएको छ भने साहदेव महतो थारूको फुसको घर पूर्णरूपले भत्काइदिएको छ । यस्तै हुरीले वाडग यादव र ठग महतोको घरमा क्षति पुगेको छ । यस्तै धोविनी गाउँपालिका–१ पिपरामा अफताव पटेलको कुखुरा फर्म पनि हुरीले भत्किएको छ । फर्ममा करिब चार लाखको क्षति भएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । धोविनी गापा–३ गुलरियामा विद्युत्को पोलहरू ढलेका छन् ।

हुरीले वीरगञ्ज महानगरपालिका–१८ भवानीपुरमा सात वटा घरमा क्षति पु¥याएको प्रहरीले जनाएको छ । वीरगञ्ज महानगरपालिका–१८ भवानीपुरका जमदार देवान, विजय पटेल, श्रवण महतोलगायत सात जनाको घरमा हावाहुरीले क्षति पु¥याएको हो । हुरीले पर्साको ग्रामीण भेगमा रहेका करिब आधा दर्जन प्रहरी चौकीहरूमा पनि क्षति पु¥याएको छ । सुपौली, धोरे र भस्वामा रहेको प्रहरी चौकी भवनका छाना हुरीले उडाएको जिल्ल प्रहरी कार्यालय पर्साले जनाएको छ । यस्तै अमरपट्टीमा रहेको प्रहरीचौकीको भवन र अस्वारीमा रहेको प्रहरीचौकीको मेस भवन हुरीले भत्किएको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

यस्तै हुरीले पर्साको जिराभवानी गाउँपालिका–४ मा पनि चार वटा घरको छानो उडाउनुका साथै पोखरीया बजारमा तीन वटा विद्युत्को पोल ढलेको छ । पोखरिया नगरपालिका–१० को रामवचन महतो र रामबालक कुर्मीको घरको छानोसमेत उडाइदिएको छ ।

प्रतिक्रिया