सुरु भयो हिसान शैक्षिक मेला

काठमाडौं । काठमाडौंको भृकुटी मन्डपस्थित प्रदर्शनीहलमा ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ कान्तिपूरको छैठाैँ हिसान शैक्षिक मेला बिहीबारबाट सुरु भएको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्सले संयुक्त आयोजनामा उक्त मेला गरेको हो । मेलामा १ सय ५० बढी शैक्षिक संस्थाको सहभागिता रहेको छ भने सहभागी सबै संस्थाले शिक्षालयको जानकारी दिइरहेका छन् ।

नेपालमा सञ्चालित शिक्षालयहरूले दिने गुणस्तरीय तथा उत्कृष्ट शिक्षाका बारेमा सत्य, तथ्य र यथार्थ जानकारी गराउन र नेपाल मै पनि उत्कृष्ट शिक्षा पाइन्छ भन्ने जानकारी दिनु मेलाको उद्देश्य रहेको आयोजक संस्थाले जनाएको छ । मेलाबाट विद्यार्थीहरूले कुन विषय पढ्ने, विषय कुन छनोट गर्ने, कुन विषय किन पढ्ने, कसरी छनोट गर्ने भन्ने कुरा यस मेलाबाट जानकारी लिन सक्छन् ।

मेलामा विद्यालय शिक्षादेखि विभिन्न उच्च प्राविधिक कार्यक्रम सञ्चालन गरेको त्रिभुवन विश्वविद्यालय,सँगै चारओटा विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र(सिटिईभिटी) को सम्बन्धनमा सञ्चालित कलेजको सहभागिता रहेको छ । यसका साथै मेलामा विभिन्न संस्थाहरूका प्रस्तुतिका र विज्ञहरूको सहभागितामा शैक्षिक जानकारीमूलक तथा विषयगत सेमिनारहरू आयोजना गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मेलाको उद्घाटन गरेका हुन् । मेला आगामी आइतबारसम्म चल्नेछ । विशेषतः एसईई, कक्षा ११ र १२ को परीक्षा दिएर बसेका तथा विश्वविद्यालय पढ्ने तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरी शैक्षिक मेलाको आयोजना गरिएको हो ।

प्रतिक्रिया