मासिँदै उपत्यकाका ऐतिहासिक पोखरी

काठमाडौं । उपत्यकाका ऐतिहासिक पोखरीहरू धमाधम मासिन थालेका छन् । ऐतिहासिक पोखरी मासेर भवन बनाउने, आधुनिक सामग्रीको प्रयोग, संरक्षणको अभाव जस्ता कारणले उपत्यकका ऐतिहासिक पोखरीको अस्तित्व संकटमा परेको हो ।

साँखुको कलश पोखरी ,टेकुको बमवीर विकटेश्वर गुठीका पोखरी, थेचोको ऐतिहासिक पिन पोखरीले मौलिकता गुमाइसकेका छन् । सरकारले साँखुलाई सम्पदा वस्ती घोषणा गरिसकेको छ । यता सम्पदा वस्तीमा नै सम्पदाले मौलिकता गुमाइरहेको छ ।

शंखरापुर नगरपलिकाको कलश पोखरीमा ढलान, पिल्लर उठाएर ऐतिहासिक पोखरीको पुनर्निर्माण भइरहेको छ । क्रंक्रिड ढलानको प्रयोग गरि मौलिकता बिगारिएको छ । पोखरी आफैमा ऐतिहासिक हो । त्यसमाथि पनि साँखुको सो पोखरी अझ महत्वपूर्ण छ ।

वस्तीमा प्रवेश गर्नु अगाडि दायाँ र बायाँ पोखरी रहेको छ । गृह प्रवेश गर्दा कलश राखेजस्तै बज्रयोगिनी मन्दिर र वस्ती प्रवेश गर्दा कलश पोखरीले प्राकृतिक तवरले स्वागत गरिरहेको हुन्थ्यो । हाल क्रंक्रिड प्रयोग भइरहेको छ ।

सो पोखरीमा बाहिरी स्वरूपमा मौलिकता झल्काउने शंखरापुर नगरपालिका वडा नम्बर ६ काम वडाअध्यक्ष राधाकृष्ण श्रेष्ठले बताएका छन् । उनले भने,‘अहिले यस्तो देखिए पनि निर्माण सम्पन्न गर्दा मौलिकता देखाउँछौ ।’

सम्पदा वस्तीमा मौलिक सामगि प्रयोग गर्न स्रोत साधनले सम्भव भएन । सम्पदालाई पुनर्निर्माण गर्दा भने जस्ताको त्यस्तै स्वरुपमा निर्माण गर्नू पर्ने हुन्छ । बैशाख २०७७ मा सम्पन्न गर्ने गरि कलश पोखरी पुनर्निर्माण उपभोत्ता सिमिति गठन गरि सो पोखरी निर्माण कार्य थालिएको थियो । सो पोखरी पुनर्निर्माणका लागि १ करोड ७४ लाख ८० हजार बजेट अनुमानित गरिएको थियो । सो पोखरी डिजाइन आर्किटेक्ट सुरेश श्रेष्ठले गरेका हुन् ।

उपत्यकालाई ढुंगेधारा पोखरी, मठ, मन्दिरले भरिपूर्ण सहरको रूपमा चिन्न सकिन्थ्यो । टेकुस्थित बमवीर विकटेश्वर गुठीका पोखरी र बगैँंचा मासेर निजी महल ठडियो । हाल महल बनेको ठाउँमा कुनै वेला देवतालाई जल चढाउने पोखरी थियो । कुनै ठाउँमा देवता चढाउन फूल फुलाउने बगैंचा भएको जानकारहरू बताउँछन् ।

सो स्थान स्थानीय बासिन्दाले मनोरन्जन गर्न जाने ठाउँ पनि थियो । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाका माइला भाइ बमबहादुरले बमवीर विकटेश्वर मन्दिर र रामजानकी मन्दिर बनाएको इतिहास छ ।

बगैँचा रेखदेखका लागि गुठीले माली, बगँैचे र तलुवाको व्यवस्था गरेको थियो । काम गरेबापत उनीहरूले धान पाउँथे । तिनै कामदारलाई पछि मोहीका रूपमा खडा गरेर जग्गा हडपिएको थियो । गुठी ऐनअनुसार बगैँचा र पोखरीमा मोही लाग्दैन ।

थेचोको ऐतिहासिक र सांस्कृतिक पिन पोखरी मासेर भवन बनाइएको छ । लिच्छविकालिन सो पोखरीमा वृद्धाश्रम बनाउने भन्दै भवन ठडिएको छ । गोदावरी नगरपालिका र प्रदेश–३ सरकारले सो भवन बनाएको हो ।

ऐतिहासिक सम्पदा मास्नेलाई मुलुकी अपराध संहिता २०७४ अनुसार पनि कारबाही हुने व्यवस्था छ । मुलुकी अपराध संहिताको दफा १४९ मा प्राकृतिक र सांस्कृतिक सम्पदा अतिक्रमण गर्नेलाई कारबाहीको व्यवस्था गरिएको छ । तर, हालसम्म सम्पदा अतिक्रमण गर्नेलाई कुनै कारवाही हुनसकेको छैन ।

प्रतिक्रिया