वाईडबडी भ्रष्टाचारबारे वसन्तपुरमा सार्वजनिक सुनुवाई हुने

काठमाडौं । नेपालका लागि नेपालीले नेपाल वायुसेवा निगमको हाई फ्लाई–एक्स आईरल्याण्ड लिमिटेडबाट दुई वटा एयरवस ए ३३०–२०० खरिद गर्ने सम्बन्धमा भ्रष्टाचार गरेको विषयमा यही जेठ ११ गते दिउँसो १२ बजे काठमाडौंको वसन्तपुर डवलीमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ ।

वाईडबडी भ्रष्टाचार छानबिनका लागि नागरिक आयोगले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । अभियानका अभियन्ता डा. सुरेन्द्र भण्डारीले उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा आम–नागरिक, विषयका विज्ञ र सम्पूर्ण पत्रकारहरुलाई सहभागी भईदिन आग्रह गरे ।

अभियानद्वारा जारी विज्ञप्तीमा भनिएको छ,‘उक्त वाईडबडी भ्रष्टाचार विषयमा जानकारी राख्ने आम नागरिकहरुले आफूलाई जानकारी भएको विषय र धारणा राखिदिन हुन अनुरोध गरेका छौं ।’ त्यस्तै अभियानले विषयविज्ञले भ्रष्टाचारको विवरणसहित सार्वजनिक गरिदिन र सर्वसाधरणलाई सुचित गरिदिनुको साथै आम–पत्रकारले पनि सो भ्रष्टाचारको सम्बन्धमा लेखिएका दस्तावेज, लेखहरुलाई समेत लिई उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी भई आ–आफ्नो धारणा राखिदिनको लागि आव्हान गरेको छ ।

कार्यक्रममा वाईडबडी भ्रष्टाचार छानबिनका लागि नागरिक आयोगका संयोजक सुकदेव भट्टराईले वाईडबडी भ्रष्टाचारबारे संसदीय समितिले दिएको प्रतिवेदन कार्यान्वयन नहुने शंका व्यक्त गरे । उनले भने,‘प्रधानमन्त्रीलाई यो काण्डमा मन्त्री संलग्न छैनन् भन्ने अधिकार छैन् ।’
उनले सबै राजनीतिज्ञहरुको सम्पत्ति शुद्धिकरण गर्नुपर्ने धारणा राखे । उनले भने,‘नेपाली जनता भ्रष्टाचार निर्मुल गर्न चाहन्छन्।’ उनले भ्रष्टाचारले मुलुकलाई समाप्त पार्न लागेको खतरा औंल्याए ।

त्यस्तै, कार्यक्रममा आयोगका सदस्य डा. ठाकुरमोहन श्रेष्ठले वाईडबडी भ्रष्टाचार काण्डमा आफूहरुले सत्य, तथ्य बाहिर ल्याएरै छोड्ने प्रतिबद्धता जनाए । उनले भने,‘हामीले धेरै अनुशन्धान गरिसकेका छौं । सबैखाले दस्तावेजहरुको अध्ययन गरेका छौं । विशेज्ञहरुको पनि राय लिएका छौं । चाँडै नै प्रतिवेदन सार्वजनिक गर्नेछौं ।’ गहन अध्ययन र विश्लेषणका आधारमा प्रतिवेदन बाहिर ल्याउन लागेको उनको दाबी छ ।

नेपालका लागि नेपाली अभियानका अभियन्ता बालकृष्ण न्यौपानेले वाईडबडी भ्रष्टाचारबारे जनतालाई सत्य कुरा थाहा दिलाउने बताए । कार्यक्रममा आयोगकी सदस्य सचिव रोशा श्रेष्ठले वाईडबडी भ्रष्टाचारबारे चौतर्फी रुपमा आवाज उठाउन आग्रह गरिन् । उनले भनिन्,‘सरकारले आम नागरिकको आँखामा छारो हाल्ने काम गरेको छ ।’

प्रतिक्रिया