बहसमा नेपाली कार्टुन

काठमाडौं । नेपाली कार्टुनमा प्रविधि, विषय तथा कलापक्षको एकीकृत रुप मिलाउनुपर्ने चुनौती रहेको विज्ञले बताएका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको नवौं राष्ट्रिय कला प्रदर्शनीको सन्दर्भ पारेर आयोजना गरिएको ‘कार्टुन क्षेत्रका चुनौती’ विषयक बहस कार्यक्रममा डा. कुन्दन अर्यालले कार्टुन मर्यादित ढंगले आउनुपर्ने बताए । उनले भने, ‘पत्रकारितामा कार्टुनको स्थान विशिष्ट रहेको छ । यसको आवश्यकतासँगै मर्यादित र अर्थपूर्ण ढंगले कार्टुनिस्टले कार्टुन बनाउनु पर्दछ ।’ उनले कार्टुनमा पत्रकारिताको अभिन्न अंगको रुपमा रहेको र यसको महत्व झनै बढ्दै गइरहेको जिकिर गरे ।

कार्यक्रममा नेपाल कार्टुनिस्ट क्लबका अध्यक्ष अविन श्रेष्ठले कार्टुन क्षेत्रलाई फराकिलो बनाउनुपर्ने जोड दिँदै समाजलाई सचेत बनाउन यसको भूमिका अहम् रहेको बताए । उनले भने, ‘कार्टुन समयको प्रतिबिम्ब पनि हो । यसले नागरिकलाई जागरुक बनाउँदै विकृति विसंगतिमाथि निर्मम ढंगले प्रहार गर्दछ ।

तसर्थ यस क्षेत्रका लागि हरक्षेत्रबाट सदैव चुनौती आइरहन्छ ।’ उनले कलापक्षमा नेपाली कार्टुनिस्टले अझै मिहिनेत गर्नुपर्ने देखिएको जनाउँदै चित्रमात्रै राम्रो बनाउँदै राम्रो कार्टुन बन्न नसक्ने भनाइ राखे । क्लबका सचिव योगेशकुमार खपांगीले कार्टुनले कला र विषयलाई प्रमावकारी रुपमा उठान गर्दै आइरहेको र यसको विकासका लागि प्रतिष्ठानले कार्यशाला, प्रशिक्षण तथा प्रदर्शनीका कार्यक्रम गर्नुपर्ने भनाई व्यक्त गरे ।

प्रतिष्ठानका प्राज्ञ रमेश खनालले कार्टुनले सभ्य समाज निर्माणमा अहम् भूमिका निर्वाह गर्ने जनाउँदै यसमा कला र विषय पक्षमा कार्टुनिस्टले विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गरे । उक्त कार्यक्रमको सहजीकरण क्लबका महासचिव देवेन्द्र थुम्केलीले गरेका थिए ।

प्रतिक्रिया