दलहरूले बिर्से सहिदका योगदान

जनआन्दोलनको १२औँ दिन अर्थात् ०६३ वैशाख ५ गते तत्कालीन सात राजनीतिक दलले नेपालगञ्जमा विशाल जनसागर ओराल्ने उद्घोष गरेका थिए । दलका कार्यकर्ताहरूले गाउँगाउँबाट नागरिकलाई सहभागी हुन आह्वान गरेका थिए । बिहानैदेखि बाँकेका गाउँगाउँबाट नागरिकहरू नेपालगञ्ज आउने क्रम चलिरहेको थियो

तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रतिनिधिसभा विघटन गर्दै शासनसत्ता आफ्नो हातमा लिए । त्यसैको विरोधस्वरूप २०६२ चैत २४ गतेदेखि नेपालमा राजतन्त्र विरोधी आन्दोलन सुरु भयो । यो आन्दोलनलाई राजनीतिक दलहरूले जनआन्दोलनको संज्ञा दिएका थिए । राजतन्त्र मुर्दावाद ! गणतन्त्र जिन्दावाद ! भन्दै देशभर राजतन्त्र विरोधी आन्दोलन चलिरहेको थियो । आन्दोलन उत्कर्षमा थियो ।

देशभरबाट कतै गोली चलेर आन्दोलनकारी घाइते भएका त, कतै मारिएका समाचारहरू आइरहेका थिए । नेपालगञ्जमा पनि आन्दोलन चरम उत्कर्षमा पुगेको थियो । राजनीतिक दलका नेताहरू गिरफ्तारीमा पर्ने र छुट्ने क्रम चलिरहेको थियो । आन्दोलनमा सहभागी हुन गाउँगाउँबाट मानिसहरू नेपालगञ्ज ओइरिन्थे, दिनभर आन्दोलनमा सहभागी हुन्थे, साँझ परेपछि घर फर्किन्थे । गाउँलेहरूको ०६२ चैत २४ गतेदेखिको दैनिकी यसैगरी चलिरहेको थियो ।

जनआन्दोलनको १२औँ दिन अर्थात् ०६३ वैशाख ५ गते तत्कालीन सात राजनीतिक दलले नेपालगञ्जमा विशाल जनसागर ओराल्ने उद्घोष गरेका थिए । दलका कार्यकर्ताहरूले गाउँगाउँबाट नागरिकलाई सहभागी हुन आह्वान गरेका थिए । बिहानैदेखि बाँकेका गाउँगाउँबाट नागरिकहरू नेपालगञ्ज आउने क्रम चलिरहेको थियो । हजारौँको संख्यामा नागरिकहरू नेपालगञ्जका चारै दिशातर्फका विभिन्न स्थानमा जम्मा भइरहेका थिए ।

त्यही दिन नेपालगञ्जबाट झन्डै १० किलोमिटर पश्चिममा रहेको खजुराबाट एक महिला आन्दोलनमा आउन तयार भइन् । गाउँका धेरै व्यक्तिले ‘छोराहरू सानै छन्, श्रीमान् घरमा छैनन्, तिमी आन्दोलनमा नजाऊ’ भन्दै रोक्न खोजे तर, कसैको केही चलेन । उनलाई जसले आन्दोलनमा नआउ भन्दै सुझाउथ्यो, सबैलाई एउटै जवाफ दिन्थिन्, ‘मलाई छोराभन्दा देश प्यारो छ, मरे पनि देशका लागि मर्छु ।’ उनको जवाफका अगाडि सबै नतमस्तक हुन्थे ।

गाउँका छिमेकी महिलाहरूले पनि उनलाई धेरै सम्झाए तर, उनी टसमस भइनन् । उनी ट्याक्टर चढेर करिब १० किलोमिटरको यात्रा गर्दै नेपालगञ्ज पुगिन् र सामेल भइन् त्यो विशाल जुलुसमा । जुलुसको अग्रपंत्तिमा राजतन्त्र मुर्दावाद ! गणतन्त्र जिन्दावाद ! भन्दै नारा लगाउँदै थिइन् । धम्बोझी चोकबाट विशाल जुलुसमा मिसिएर चर्को नारा लगाउँदै बिपी चोक, गणेशमान चोक, भेरी अस्पताल, त्रिभुवन चोक, एकलैनी हुँदै उनी सामेल भएको जुलुस तत्कालीन ज्ञानेन्द्र चोकतर्फ अघि बढिरहेको थियो ।

आन्दोलनकारीहरूले निर्माणाधीन ज्ञानेन्द्र चोक भत्काइरहेका थिए, कोही नाराबाजी गरिरहेका थिए । आन्दोलनकारीको एउटा समूहले नजीकै चौरमा रोकिएको बाँकेका तत्कालीन डिएसपी वसन्त लामाको गाडीमा आगजनी गरेसँगै प्रहरीले आन्दोलनमा हस्तक्षेप गर्न सुरु ग¥यो । प्रहरीले लाठी वर्षाउन थाल्यो । अश्रुग्यास र गोली चल्यो, मान्छेको भागाभाग भयो । विसं ०६३ वैशाख ५ गते हजारौँ मानिसका बीचमा रहेकी तिनै निडर र निर्भिक सिमलघारी खजुराकी सेतु विकको छातीमा अश्रुग्यास लाग्यो ।

उपचारका लागि भेरी अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भयो । त्यस वेला उनका श्रीमान् शेरबहादुर विक भारतको गुजरातमा थिए । शेरबहादुर त्योभन्दा २÷३ दिनअघि घर आउन खोजेका थिए । श्रीमतीले ‘यहाँ त जनआन्दोलन चर्किएको छ, पान पसलसमेत खुला छैन, अहिले नआउनू’ भनेर खबर गरेकी थिइन् । श्रीमान्ले पनि श्रीमतीको कुरामा सही थापे, घर फर्किएनन् । कुरा भएको केही दिनमै शेरबहादुरलाई फोन गयो, ‘तपाईकी श्रीमती घरमा बिरामी छन्, छिटो आउनू ।’

शेरबहादुर हतारिएर आए, घरमा आउँदा पो थाहा पाए, श्रीमती त जनआन्दोलनमा प्रहरीको अश्रुग्यास लागेर सहिद भएकी रहिछन् । सेतु विकका तीन सन्तान सबै स–साना थिए । २०६२–६३ को जनआन्दोलनमा बाँकेकी सेतु विक सहिद भइन् । त्यही दिन हो नेपालगञ्जमा सबैभन्दा ठूलो भीड जम्मा भएको । त्यही दिन शेरबहादुर र उनका सन्तानलाई कहिल्यै निको नहुने घाउ लाग्यो । त्यही ज्ञानेन्द्र चोकलाई पछि सहिद सेतु विक चोक नामकरण गरियो । त्यहाँ अहिले सेतुको शालिक राखिएको छ ।

सहिद पति शेरबहादुर अहिले खजुरा–नेपालगञ्ज सडकमा अटोरिक्सा चलाउँछन् । त्यसैबाट उनको गुजारा चलेको छ । उनी भन्छन्, ‘दिनको एकपटक मैले यो चोक (सेतु विक चोक) को फन्को लगाउँछु । यात्रु पाएर मात्रै होइन, नपाए पनि म यो चोकको दिनमा एकपटक फन्को लगाउँछु । उनको याद गर्छु ।’ सेतु विक सहिद भएपछि उनका तीन नाबालक छोराहरूको पढाइलेखाइको कुरा आयो । जनआन्दोलन निष्कर्षमा पुग्नै थालेको वेला थियो, त्यो ।

धेरै विद्यालयहरूले उनका छोराछोरीलाई निःशुल्क पढाइदिने आश्वासन मात्रै होइन, घोषणा नै गरे तर, बाँकेका प्रमुख जिल्ला अधिकारीको पहलमा कान्छो छोरा सुमनलाई एसओएसले पढाइदियो । अहिले पनि सुमन त्यहीँ छन् । सात उत्तीर्ण भएर आठ कक्षामा पुगे । अरू दुई छोराहरू जेठो र माइलो खजुराकै दीपक बोर्डिङमा पुगे । शेरबहादुर भन्छन्, ‘दीपकलाई सुरुआतदेखि नै पैसा लिएर पढायो । पैसा तिर्न नसकेपछि छोराहरूलाई पढ्न छुटाए ।’ शेरबहादुरका अनुसार, नेपालगञ्जको सिटी पब्लिक स्कूलले एक बच्चालाई निःशुल्क पढाइदिने मञ्चबाटै घोषणा गरेको थियो ।

पछि त्यहाँ जाँदा पढाउन नसक्ने जवाफ पाए उनले । सहिदका छोराछोरीलाई निःशुल्क पढाउनुपर्छ भनेर अभियान चलाउनेहरू विस्तारै पन्छिए । कोहीले वास्ता गरेनन् । पैसा नभएपछि शेरबहादुरले छोराहरूलाई विद्यालयबाट छुटाए । सरकारी विद्यालयमा भर्ना भएका जेठो छोरा सुरज पढाइ छाडेर मजदुरी गर्ने भन्दै भारतको गुजरात पुगे । माइलो सागर सुर्खेतस्थित चाउमिन कम्पनीमा काम गर्छन् । देशका लागि लडेका सहिदका छोराछोरीले पढ्न भने पाएनन् ।

सरकारले सहिदका छोराछोरीलाई वार्षिक १६ हजार पढाइ खर्च दिने गरेको शेरबहादुरले बताए । तर, जेठो छोरोले पढाइ छाडेपछि माइलाको मात्रै पढाइ खर्च आउन थालेको छ । त्यस्तै, सरकारले दिएको रू १० लाख तीन छोराको नाममा संयुक्त खाता खोलेर बैंकमा राखिएको छ । ‘छोराका नाममा जम्मा भएको त्यो पैसा मैले चलाउन पाउँदिनँ, मासिक पाउने गरेको थोरै जीवन निर्वाह भत्ताले परिवार पालेको छु’ उनले भने, ‘मासिक भत्ता पाउने रकम ६ महिनापछि दिइन्छ । त्यसैले परिवार पालेको छु ।’

शेरबहादुरले सहिद सेतु विक चोकलाई दैनिक एक फन्का लगाउँछन् । तेर्ह वर्षअघिको जनआन्दोलनमा पत्नी सेतु विकलाई गुमाएका शेरबहादुर पत्नीको याद मेटाउन उनको मूर्ति हेर्नकै लागि त्यहाँ पुग्छन् । श्रीमतीसँग मृत्युअघि उनलाई जीवितै भेट्न पाएनन् । नेपालमा आन्दोलन सृुरू हुनुअघि श्रीमतीलाई घर खर्चका लागि १० हजार भारतीय रूपैयाँ पठाएको शेरबहादुर सम्झन्छन् । उनी भन्छन्, ‘घरखर्च चलाउन र छोराहरू पढाउन भनेर १० हजार भारू पठाए । उनले त्यो पैसा मासेकी रहिन्छिन् । पठाएको पैसा अटैचीमा सुरक्षित राखेकी थिइन् ।’

श्रीमती बिरामी भएको खबर पाएलगतै उनी गुजरातमा गरिरहेको कामलाई थाती राखेर नेपाल फर्किए । उनलाई आन्दोलनमा परेर मृत्यु भइसकेको खबर भने दिइएको थिएन । नेपाल पुगेपछि मात्रै श्रीमती जीवित नरहेको उनले थाहा पाए, त्यो पनि आन्दोलनमा । उनले श्रीमतीको जीवित अनुहार भने देखेनन् । श्रीमतीको मृत्युपछि उनी गुजरात फर्किएका छैनन् । शेरबहादुरले अहिले अटोरिक्सा चलाउँदै दैनिकी गुजारिरहेका छन् । यसअघि गाउँमै सानो पसल गर्ने गर्थे शेरबहादुर ।

प्रतिक्रिया