कहाँ पुग्यो बर्डफ्लुको अनुसन्धान ?

समाजमा साकाहारी भन्दा मांसाहारीको संख्या बढी छ । अझ पछिल्लो समय पंक्षीको मासु मन पराउनेमा बालबालिका र किशोर उमेर समूहका संख्या ठूलो छ । तर, वेला वेला सुनिने पंक्षीको मासुमा बर्ड फ्लु नामक भाइरसको समाचारका कारण भने मासुका पारखीहरूमा चिन्ता बढाएको छ । अझ केही हप्ता अघि राजधानी छेवैमा त्यसैको कारण एक युवाको मृत्यु भएको समाचार बाहिर आए पछि मान्छेमा चिन्ता र चासो बढाएको हो ।

सरकारले केही दिन अघि बर्ड फ्लुका कारण एकजना युवकको मृत्यु भएको पुष्टि गरेपछि ती युवकलाई उक्त रोग कसरी स¥यो भनी अनुसन्धान थालेको थियो । तर, उक्त संक्रमणको कारण भने अझै स्पष्ट नभएको एक स्वास्थ्य अधिकारीले बताएका छन् । उक्त घटनापछि पंक्षीको मासु खान डराएकाहरूका लागि त्यो निकै चासोको विषय बनेको छ । आखिर ती युवाको मृत्युको कारण के हो भन्ने । उक्त चासो र चिन्ताको निवारण भने कहिले हुन्छ पत्तो छैन ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको एपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ती युवकलाई बर्ड फ्लु सर्नुको कारण पत्ता लगाउन केही साताअघि थालिएको अनुसन्धान अझै जारी छ । तर, अनुसन्धान कर्ताले के कसरी संक्रमण भयो भन्ने पत्ता लगाउन सकेका छैनन । यसले अन्यौलता बढाएको छ । अनुसन्धान कहिले टुंगिन्छ र रिपोर्ट के आउँछ भन्ने पनि प्रष्ट छैन । सो बारेमा चासो राख्नेहरूले ‘अनुसन्धान हुँदैछ रिपोर्ट आए पछि जानकारी गराइन्छ,’ बाहेकको जवाफ पाउँन सकेको छैनन ।

काठमाडौंको पूर्वी भेगमा बस्ने भनिएको ती युवकलाई चैत १० गते खोकी र ज्वरो आएपछि अस्पताल भर्ना गरी उपचार थालिएको थियो । तर, उपचार कै क्रममा पाँच दिनपछि श्वासप्रश्वासको समस्याका कारण उनको मृत्यु भएको स्वास्थ्य मन्त्रालयको भनाइ छ । मृतक युवकको परिचय गोप्य राखिएको छ । उक्त युवको मृत्युको कारण बर्ड फ्लु भएको र बर्ड फ्लुको कारण नेपालमा मानिसको मृत्यु भएको पहिलो घटना भनिए पनि त्यो सही हो वा होइन अझै प्रष्ट भने छैन । अझै उनको मृत्युको कारण नै प्रष्ट छैन ।

एपिडिमिओलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डाक्टर प्रकाशप्रसाद शाह त्यो घटनाको अनुसन्धानमा सहभागी अधिकारीहरू मध्येका एक हुन् । उनले बिबिसी नेपाली सेवासँग भने, ‘उनलाई कसरी बर्ड फ्लुको किटाणु स¥यो भनेर केलाउने र अनुसन्धान गर्ने क्रम अझै पनि जारी छ । नतिजा अझै निस्किसकेको छैन ।’ उनको भनाइमा पनि नतिजा कहिले आउँछ पत्तो छैन ।

बिरामी हुनुअघि ती युवक विभिन्न ठाउँमा गएको र त्यसक्रममा उनले कहाँ कहाँ के के खाएको त्यो अझै प्रष्ट नभइसकेको बुझिएको छ । उनको खानपीन र गतिविधिबारे धेरै कुराको अध्ययन, विश्लेषण र अनुसन्धान गर्नुपर्ने भएकोले संक्रमण हुनुको कारण अझै यकिन हुन नसकेको बताइएको छ ।

यस बारेमा डाक्टर शाहले भने, ‘हामीले सबै तथ्यांकहरू लिएका छौँ । त्यो केलाउने काम भइरहेको छ । त्यसैले अनुसन्धान अझै प्रारम्भिक चरणमै छ ।’ चैतको दोस्रो साता २१ वर्षीय युवकको बर्ड फ्लुका कारण मृत्यु भएको भनिएको थियो ।

त्यसपछि देशका बर्ड फ्लु प्रभावित विभिन्न स्थानका कुखुरा फार्ममा निसंक्रमण गर्ने काममा खटिन स्वास्थकर्मी तथा प्राविधिकहरू नै डराउन थालेका विवरण नेपाली सञ्चारमाध्यममा सार्वजनिक भइरहेका छन् । तर डाक्टर शाह भन्छन् स्वास्थ्यकर्मी तथा अन्य प्राविधिकहरू डराउनु पर्दैन । उनले आश्वस्त पारे ।

उनले भने, ‘सबै सुरक्षा उपायहरू अपनाइएपछि संक्रमण हुने सम्भावना हुँदैन । बर्ड फ्लु मानिसबाट मानिसमा सरेको छैन । डराउनु पर्दैन ।’ बर्ड फ्लु गराउने H5N1 नामक भाइरसको संक्रमणबाट प्रायः मानिसको मृत्यु नहुने भन्दै केही विज्ञहरूले हालै मृत्यु भएका ती युवकको अन्य कारणले ज्यान गएको हुन सक्ने भन्दै आशंका पनि गरेका छन् । तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ती बिरामीलाई बर्ड फ्लु नै भएको दाबी गरेको छ ।

अस्पताल भर्ना भएपछि बिरामीमा इन्फ्लुएन्जा रोगको संक्रमण भएको शंका लागि चिकित्सकहरूले घाँटीको ¥याल परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाएका थिए । त्यसको अनुसन्धानमा ती बिरामीको घाँटीको ¥याल परीक्षण गर्दा भाइरसको प्रकार यकिन गर्न नेपालमा सम्भव नभएपछि त्यसको परीक्षणका लागि विश्व स्वास्थ्य संगठनको जापानस्थित कोल्याबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जा पठाइएको मन्त्रालयले जनाएको छ ।

सन् १९९६ मा पत्ता लागेपछि विश्व स्वास्थ्य संगठनकै तथ्यांकअनुसार सन् २००३ देखि हालसम्म विश्वभरि जम्मा ८ सय ६० जना व्यक्तिहरूमा यो भाइरसको संक्रमण भएको बताइन्छ । तीमध्ये ४ सय ५४ अर्थात् आधाजति बिरामीहरूको मृत्यु भएको तथ्यांकले देखाउँछ । प्रायशः पक्षीमा संक्रमण हुने यो भाइरसले कहिलेकाहीँ मानिसमा समेत आक्रमण गर्छ । केही समयअघि त्यो भाइरसका कारण राजधानीमा काग र अन्य चराहरूको समेत ज्यान गएको पुष्टि भएको थियो ।

चिकित्सकहरूको भनाइमा ७० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा राम्ररी पकाएको मासु वा अण्डाबाट बर्ड फ्लु भाइरस सर्ने सम्भावना हुँदैन । तर डाक्टर शाह भन्छन्, ‘कुखुराको खोरमा बर्ड फ्लुको संक्रमण भएको अवस्थामा अण्डामा लागेको सुली मानिसको हातमा लाग्न सक्छ । त्यसबाट मानिसमा संक्रमण हुने सम्भावना रहन्छ ।’

उनको भनाइमा काँचो र पोलेको मासुबाट बर्ड फ्लुको संक्रमण सर्ने सम्भावना हुन्छ । तर राम्ररी उसिनेको वा पकाएको अवस्थामा संक्रमण हुने सम्भावना टर्न जान्छ । चिकित्सकहरूका अनुसार मानिसलाई अरू फ्लु लाग्दा देखिने लक्षणजस्तै यसका लक्षण पनि हुन्छन् । संक्रमण भएपछि देखिने लक्षणहरू निम्न प्रकारका छन्ः

खोकी लाग्छ, ज्वरो आउँछ, टाउको दुख्छ, जाडो लाग्छ, हाछ्युँ आउँछ, मांसपेशीमा पीडा हुन्छ, नाकबाट पानी बग्छ वा नाक थुनिन्छ । यसका साथै लक्षणहरू अचानक पनि देखिन सक्छन् । सामान्यतया भाइरसको सम्पर्कमा आएको तीनदेखि पाँच दिनमा लक्षणहरू देखिने चिकित्सकहरू बताउँछन् ।

कसरी बच्न सकिन्छ ?
खासगरी पशुपंक्षी र पशुपक्षीजन्य उत्पादन तथा तिनको ओसारपसारलगायतका काममा संलग्न हुनेहरूले विशेष ध्यान दिनुपर्ने चिकित्सकहरू बताउँछन् । तर, त्यसको अर्थ मासु, अण्डा एवं पशुपक्षीजन्य उत्पादन उपभोग गर्नेहरूले ख्याल गर्नुपर्दैन भन्ने होइन । उनीहरूले निम्न कुराहरूमा ध्यान दिनुपर्दछ ।

कुखुराको मासु राम्ररी पकाएर खानुपर्छ, ७० डिग्री सेल्सियसमा मासु पकाउँदा भाइरस मर्ने भएकोले आत्तिनु पर्दैन । काँचो मासु चलाउने व्यक्तिले पनि ध्यान दिनुपर्छ, कहाँबाट मासु ल्याइएको हो भन्ने कुरा थाहा पाए झन् जाती हुन्छ ।

यसका लागि ध्यान दिनुपर्ने अन्य कुराहरूः
– पोल्ट्री फर्ममा काम गर्नेले जैविक सुरक्षामा ध्यान दिनुपर्छ ।
– खोरमा काम गर्दा आवश्यक मास्क, पन्जा तथा बुट लगाउनुपर्छ ।
– काम सकेर निस्किने वेला राम्ररी सरसफाइ गरेर मात्रै जानुपर्छ ।
– चल्ला र दाना खरिदकर्ताले बिक्री गर्ने स्वास्थ्य प्रमाणित गराए वा नगराएको हेर्नुपर्छ ।
– व्यवसायीले दानालगायतका सामग्री सँगसँगै कुखुराको ओसारपसार गर्नु हुँदैन ।
– बर्ड फ्लु नदेखिएका ठाउँबाट मात्रै पशुपक्षी तथा तिनका उत्पादन आयात गर्नुपर्छ ।
– फर्ममा कुखुरा वा चल्ला मर्न थालेमा सम्बन्धित निकायलाई तत्काल खबर गर्नुपर्छ ।
– मरेका कुखुरा चलाउँदा विशेष ध्यान दिनुपर्छ, राम्रोसँग तिनको व्यवस्थापन गर्नुपर्छ ।
– फर्ममा बर्ड फ्लु देखिएमा काम गर्नेले स्वास्थ्य परीक्षण गराउनुपर्छ ।
– संक्रमित कुखुराको मासु बजारमा आउन नदिनेतर्फ ध्यान दिनुपर्छ –

माथिका यी कुरामा ध्यान दिएर सचेत रहने हो भने बर्ड फ्लु संक्रमणबाट सुरक्षित रहने सकिने चिकित्सकहरूको सुझाब रहेको छ । (बिबिसीको सहयोगमा)

प्रतिक्रिया