युभेन्टस रोकियो

एजेन्सी, रोम । एट्लान्टासँग १–१ को बराबरीमा रोकिएसँगै इटालियन सिरी ‘ए’ च्याम्पियन युभेन्ट्सका प्रशिक्षक म्यासिमिलियानो एलेग्रीको बिदाइ खल्लो बनेको छ ।  यता युभेन्ट्ससँगको बराबरीपछि एट्लान्टाले क्लब इतिहासमा पहिलोपटक च्याम्पियन्स लिगमा छनोट हुने आशा जीवित राखेको छ ।

एलेग्री पछिल्लो ५ सिजन क्लबमा रहँदा टोलीले ११ वटा ट्रफी जिते पनि युभेन्ट्सको व्यवस्थापनले एलेग्रीसँगको सम्झौता नलम्ब्याउने निर्णय गरेको थियो । रंगशालामा उपस्थित हजाराँै समर्थकले एलेग्रीको समर्थनमा नारा लगाएका थिए । यद्यपि एलेग्रीले समेत टोलीलाई च्याम्पियन्स लिगको उपाधि जिताउन सकेनन् । युभेन्ट्सले यसअघि नै लगातार आठौँ पटक च्याम्पियन्स लिगको उपाधि पक्का गरिसकेको थियो । एलेग्रीको प्रशिक्षणमा टोलीले हात पारेको यो लगातार पाँचाँै सिरी ‘ए’ उपाधि हो ।

औपचारिक रूपमा भने आइतबारको खेलपछि मात्र युभेन्ट्सलाई जारी सिजन सिरी ‘ए’ को उपाधि दिइएको थियो । यसै सिजन क्लब भित्रिएका पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको यो पहिलो सिरी ‘ए’ उपाधि हो । त्यस्तै इटालीका विश्वकप विजेता खेलाडी आन्द्रिया बार्जाग्लीले समेत आठ वर्षपछि युभेन्ट्सको घरेलु मैदान टुरिनमा अन्तिम खेल खेलेका थिए । उनी ६०औँ मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए ।

३३औँ मिनेटमा जोसेफ इलिसिचले गरेको गोलमा एट्लान्टाले अग्रता लिएको थियो । खेल सकिन १० मिनेट बाँकी हुँदा मारियो मान्डजुकिचले बललाई पोस्टको दिशा दिँदै युभेन्ट्सलाई हारको संघारबाट जोगाएका थिए ।

यस नतिजापछि लिग विजेता युभेन्ट्सको ३७ खेलमा ९० अंक छ । समान खेल खेलेको नेपोली ७९ अंकका साथ दोस्रो स्थानमा छ भने समान ६६ अंकका साथ एट्लान्टा र इन्टर मिलान क्रमशः तेस्रो र चौथो स्थानमा छन् । एसी मिलान ६५ अंक जोड्दै पाँचाँै स्थानमा छ ।

यस बराबरीपछि एट्लान्टाले पहिलोपटक च्याम्पियन्स लिग छनोटको सम्भावना बढाएको हो । लिगको अन्तिम खेलमा सासौलोलाई पराजित गरेमा टोली शीर्ष ४ मा बस्दै च्याम्पियन्स लिगमा छनोट हुनेछ । समान अंक जोडेको इन्टर मिलानले नेपोलीलाई ४–१ को नतिजा सुम्पिएसँगै एट्लान्टाले हेड टु हेडको आधारमा पछि पार्दै तेस्रो स्थानमा उक्लिएको हो । युभेन्ट्स र नेपोली यसअघि नै च्याम्पियन्स लिगमा छनोट भइसकेका छन् । बाँकी दुई स्थानका लागि एट्लान्टाका साथै इन्टर र एसी मिलानबीच प्रतिस्पर्धा हुनेछ । इन्टरले अन्तिम खेलमा रेलिगेसन टार्न संघर्षरत इम्पोलीको सामना गर्नेछ ।

प्रतिक्रिया