आगलागीबाट ५० लाखको क्षति

बझाङ । जिल्लाको जयपृथ्वी नगरपालिका–९ स्थित देवल गाउँमा सोमबार दिउँसो आगलागी हँुदा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।

सिद्धराज जोशी र हरिप्रसाद जोशीको घरमा भएको आगलागीबाट घरमा रहेको ५० लाख बराबरको धनमाल पूर्णरूपमा क्षति भएको प्रहरीेले जनाएको छ । भान्साकोठामा रहेको चुलोमा गाईको लागि खोले पकाउँदै छोडेर घरमालिक काममा हिँडेपछि आगो सल्किएको जानकारी प्राप्त भएको छ ।

आगलागीबाट खाद्यान्न, लुगाकपडा, भाँडाकुँडा लगायतका मालसामानहरू पूर्णरूपमा जलेर नष्ट भएका छन् । आगलागी भएको थाहा पाएपछि देवल विमानस्थल सुरक्षा गार्डबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले आगो नियन्त्रणमा लिए पनि मालसामान भने बचाउन नसकिएको स्थानीयवासीले जनाएका छन् । आगलागीबाट घर तथा धनमाल पूर्णरूपमा जलेर नष्ट भएपछि अग्निपीडित परिवार बिचल्लीमा परेका छन् भने उनीहरू नजिकैको मन्दिर परिसरमा त्रिपालमुनि बस्न बाध्य भएका छन् ।

प्रतिक्रिया