सुदूरपश्चिमका प्राध्यापकहरू आन्दोलित

दार्चुला । सुदूरपश्चिम प्रदेशका क्याम्पस प्राध्यापकहरू आन्दोलित बनेका छन् । गत १ साउनदेखि सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका १४ ओटा क्याम्पसमा नियुक्त पाएका शिक्षक तथा कर्मचारीहरूले तलब भत्ता नपाएको भन्दै प्राध्यापकहरू आन्दोलित बनेका हुन् ।

सुदूपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका १४ ओटै क्याम्पसका प्राध्यपकहरू विभिन्न सात बुँदे माग गर्दै आन्दोलित बनेको गोकुलेश्वर बहुमुखी क्याम्पसका प्राध्यापक मानसिंह विष्टले बताएका छन् । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय समिति कञ्चनपुरको नेतृत्वमा सुदूरपश्चिम प्रदेशका १४ औटै क्याम्पसका प्राध्यापक आन्दोलित भएका छन् ।

यसैबीच दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा तालाबन्दी गरी पठनपाठन ठप्प पारेको गोकुलेश्वर बहुमुखी क्याम्पसका प्राध्यापक मानसिंह विष्टले बताए । क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाइएको प्राध्यापक विष्टले जानकारी दिए । ‘सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गतका १४ ओटै क्याम्पसका शिक्षक कर्मचारीहरू आन्दोलित भएका छौँ, गोकुलेश्वर क्याम्पसमा ताला लगाएको छौँ’, प्राध्यापक विष्टले भने ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघ केन्द्रीय समिति कञ्चनपुरको नेतृत्वमा १४ ओटै क्याम्पसका प्राध्यापक संघ आन्दोलित बनेको छ । संघले नियुक्त अनुसारको तलब भत्तालगायतका सात बुँदे माग राखेका छन् । नियमानुसार १४ ओटै क्याम्पसमा कार्यक्रम शिक्षक कर्मचारीहरू समायोजन नियुक्ती प्रभावित नहुने गरी पूर्णता दिनुपर्ने, कैलाली बहुमूखी क्याम्पससहित १४ ओटै क्याम्पसमा सामायोजन हुन छुटेका तर कार्यरत कर्मचारीलाई पनि एमओयु हुँदासम्मको नियुक्तिलाई आधार मानी समायोजन गर्न माग गरेको छ ।

संघले प्राध्यापक तथा कर्मचारीहरूलाई उपादान र पेन्सनको व्यवस्था, त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा सञ्चालित सिद्धनाथ विज्ञान क्याम्पस सुप विश्वविद्यालयमा समायोजन गर्न माग गरेका छन् । यस्तै सुदूरपश्चिमका १५ ओटै क्याम्पसमा स्वीकृत दरबन्दी ती क्याम्पसहरूमा उपलब्ध गराई १४ ओटै क्याम्पसहरूका नाममा स्वीकृत पुँजीगत रकम उलब्ध गराउन संघले माग गरेको छ ।

प्रतिक्रिया