महिला तथा बालबालिका हराउने क्रम बढ्दो

बाँके । जिल्लाको नेपाल–भारत सीमानाका प्रयोग गरी रोजगारका लागि अवैध रूपमा भारत तथा खाडीमुलुक जाने महिला तथा बालबालिकाको संख्या यहाँ प्रत्येक वर्ष बढ्दै गएको छ ।

भारत र खाडीमुलुक गएर हराएका प्रदेश–५ र सुदूरपश्चिम तथा कर्णाली प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका महिला तथा बालबालिकाका आफन्तले यहाँस्थित माइती नेपालको क्षेत्रीय कार्यालयमा खोजीका लागि दिएको निवदेनको चाङले यसको चित्रण गरेको छ ।

माइती नेपालमा आफन्त खोजीको निवेदन दिनेको संख्या विगत १६ वर्षको अवधिमा करिब पाँच हजार पुगेको तथ्यांकमा उल्लेख छ । यस वर्षको नौ महिनाको अवधिमा करिब चार सयभन्दा बढीले आफन्त हराएको निवेदन दिएका छन् ।

माइती नेपालका क्षेत्रीय संयोजक केशव कोइरालाका अनुसार, भारत र खाडीमुलुकमा गएर हराएकामध्ये फेला परेका अधिकांश महिला तथा बालबालिकामाथि शारीरिक, मानसिक तथा यौनशोषण भएको पाइएको छ । ‘बेपत्ता महिलामध्ये अधिकांश दलित, जनजाति तथा विपन्न परिवारका भएकाले अवैधरूपमा कामका लागि बिदेसिने महिलाको मूल समस्या गरिबी नै हो भन्न सकिन्छ, संयोजक कोइरालाले बताए ।

केही समयअघि मात्र दिल्ली पु¥याएर बन्धक बनाइएका यस क्षेत्रका १६ महिलाको उद्धार भारतीय प्रहरी र भारतीय महिला आयोगको सहयोगमा माइती नेपालले गरेको थियो । त्यसअघि पनि तीन जना महिलाको उद्धार दिल्लीबाटै भएको थियो ।

कामको प्रलोभनमा अवैध रूपमा लगिएका महिला तथा बालबालिकामध्ये सबैभन्दा बढी खाडीमुलुक र केही भारतमा हराएको माइती नेपाल क्षेत्रीय कार्यालयको तथ्यांकमा उल्लेख छ । संयोजक कोइरालाका अनुसार, विगत वर्षभन्दा यस वर्ष भारतमा बेचिएका महिला तथा बालबालिकाको उद्धार संख्यासमेत बढेको छ ।

राम्रो तथा सुरक्षित काम दिलाइदिने प्रलोभनमा पारी महिलालाई अवैध रूपमा विदेश पठाउने दलालीमा महिलासमेत लागेका छन् । महिलाको विश्वास गर्न सकिने भएकाले पनि दलालीमा लागेका महिला सोझासाझा युवतीलाई फकाउन गाउँगाउँमा सक्रिय रहेको उनको भनाइ छ । माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका महिला तथा बालबालिकालाई बाँके जिल्लाको नेपाल–भारत सीमानाकाबाट फिर्तासमेत पठाउँदै आएको छ ।

प्रतिक्रिया