आकर्षक गन्तव्य बन्दै मत्स्य विकास केन्द्र

माछाको उत्पादन तथा बिक्री वितरण गर्दै आएको हेटौँडाको ‘माछा प्लान’ भनेर चिनिने प्राकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्रमा अचेल पर्यटकहरूको घुइचो लाग्न थालेको छ । हेटौँडा उपमहानगरपालिकाले केही लाख मात्र खर्च गरेर आकर्षक सडक पेटी बनाई फूलहरूसमेत रोपिदिनाले दैनिक ५०० को हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरू यहाँ घुम्न र रमाउन आउन थालेका हुन् । चितवनका सौराहा, मकवानपुरको दामन पालुङ्ग, मकवानपुरगढी, सहिद स्मारक, कुष्माण्डा सरोवरलाई लक्ष्य गरेर घुम्न आउने नेपाल तथा भारतका थुप्रै पर्यटकहरू हेटौँडास्थित संरक्षण केन्द्रमा पनि आउन थालेका छन् ।

माछाको उत्पादन गर्ने उद्देश्य लिएको केन्द्रमा पर्यटकहरूको आकर्षण बढ्न थालेपछि पर्यटकीय व्यवस्थापन गरेर दोहोरो फाइदा दिन सकिने देखिएको छ । छिमेकी देश भारतमा माछाको व्यावसायिक उत्पादन देखेपछि नेपालमा पनि माछाको व्यावसायिक उत्पादन गर्नुपर्छ भनेर आज भन्दा ५२ वर्षअघि तत्कालीन सरकारले हेटौँडामा व्यावसायिक माछापालन केन्द्र स्थापना गरेको थियो । स्थापना कालमा माछाको उत्पादन र बिक्रीमा मात्र ध्यान दिएको केन्द्रले पछि भने मत्स्य विकास केन्द्रको रूपमा ह्याचरीमार्फत भुरासमेत उत्पादन गरेर बिक्री वितरण गर्न थाल्यो । संघीयता कार्यान्वयन सँगै हाल मत्य विकास केन्द्रबाट प्राकृतिक जलाशय मत्स्य प्रर्वधन एवं संरक्षण केन्द्रमा परिणत भएको छ ।

यहाँ वर्षमा करोडौँ माछाका भुराहरू उत्पादन र बिक्री हुन्छन् । मौसमअनुसार यहाँका सुन्दर पोखरीहरूमा दुर्लभ प्रजातिका कयौँ चराहरू विचरण गर्न आउने गर्छन् । सारस, चखेवालगायत दर्जनौँ प्रजातिका हाँस एवं अन्य चराहरूले भरिभराउ पोखरी अवलोकन गर्न वेलावेलामा चराप्रेमीहरू यहाँ आउने गर्छन् । त्यस बाहेक विगतमा साँझ बिहान टहलिन आउने स्थानीय तथा आक्कलझुक्कल आन्तरिक पर्यटकहरू पनि देखिन्थे । पछिल्लो केही महिनादेखि भने मत्स्य विकास केन्द्रका पोखरीहरूमा आन्तरिक पर्यटकहरूको घुइँचो लाग्न थालेको छ । पहिले पहिले पनि यहाँ घुइँचो लागेको र लाम लागेको त देखिन्थ्यो तर त्यो भीड वर्षमा दुईरचार पटक माछा मार्दा माछा किन्न आउनेहरूको हुन्थ्यो तर, आजभोलिको भीड अर्कै हो ।

यहाँको सौन्दर्यले मोहित भएर घुम्न र रमाउन आउनेहरूको भीड बढेको छ अचेल । एकहत्तर बिघा क्षेत्रफल भएको मत्य विकास केन्द्रलाई चिरेर दुई भागमा पारिएको छ । हेटौँडालाई काठमाडौंसँग जोड्ने सबैभन्दा छोटो मार्ग कान्ति राजपथ हो । त्यो चिरा मध्यबाटोको दक्षिणपट्टिको भाग बाटोबाट स्पष्ट देखिन्छ । चार वटा पोखरी भएको त्यो भागले अचेल धेरैलाई आफूतर्फ आकर्षण गर्ने गरेको छ ।

अझ भर्खरै बनेको सडक र सडकपेटीले त्यो क्षेत्रलाई अति सुन्दर बनाएको छ । हेटौँडा उपमहानगरपालिकाले सडक पेटीमा फूलहरू रोपेपछि त साँच्चै नै मनोरम पार्क झैँ बनेको यो स्थानमा सूर्योदय र सूर्यास्तको दृश्य हेर्न सयौँ प्रकृतिप्रेमीहरू आउन थालेका छन् । ‘कति आउँछन् यकिन छैन तर, धेरै आउँछन, ‘केन्द्रका प्रमुख सानुकाजी पछाईँले भने, ‘हामी शुल्क लिँदैनौँ र आउने जानेको दर्ता वा टिपोट गर्दैनौँ । त्यसैले तथ्यांक छैन ।’ मत्स्य विकास र अनुसन्धान मात्र कार्यादेश भएकाले पर्यटनको पाटोको हेक्का नराखेको उनको भनाइ छ । तर, पर्यटकको भीड देख्दा भने व्यवस्थापन गर्न सके दोहोरो उपलब्धि लिन सकिने उनलाई लाग्छ ।

स्थानीयको भनाइअनुसार यहाँ बिहान र बेलुका गरेर दैनिक ५०० भन्दा बढी स्थानीय तथा आन्तरिक पर्यटकहरू आउने गर्छन् । नगरपालिकाले सडक पेटीलाई व्यवस्थित बनाएर आकर्षक फूलहरू रोपेपछि पर्यटकीय क्षेत्रको रूपमा परिणत भएको केन्द्रलाई अझ आकर्षक बनाउन आवश्यक सहकार्य गरिने हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत बताउँछन् । हेटौँडालाई फूलै फूलको सहर बनाउने योजनाअनुसार पोखरीको किनारमा रहेको सडक पेटीमा फूलहरू रोपिएका छन् । हेटौँडा नगर नै सुन्दर बनाउने योजनाअनुरूप काम गरिएको उनी बताउँछन् ।

कृषि तथा माछापालन एवं माछाको अनुसन्धान गर्नेहरूका लागि पनि यो केन्द्र आकर्षक बन्दै गएको पाइएको छ । बुटवल घर भई हेटौँडाको जनप्रिय प्राविधिक शिक्षालयमा ‘डिप्लोमा इन एनिमल साइन्स’ अध्ययन गर्ने मनिष पौडेलका लागि यो केन्द्र धेरै कुरा सिक्ने ठाउँ बनेको छ । ‘यहाँ मैले माछाको जीवनचक्रका बारेमा अवलोकन गर्ने र सिक्ने अवसर पाएको छु, विशेषतः माछाको प्रजननका चरणहरू सिक्न र व्यावसायिक जीवनमा कसरी उतारिन्छ भन्ने जान्न यहाँ आउने गरेको छु,’ उनले भने ।

विसं ०२४ मा स्थापित यो केन्द्र हेटौँडा–५ मा अवस्थित छ । केन्द्रले माछाहरूको अध्ययन, अनुसन्धान तथा उत्पादनसमेत गर्ने उद्देश्यले यहाँ साना ठूला ४३ वटा पोखरी निर्माण गरेर माछापाल्ने, भुराहरू उत्पादन गर्ने र माछाहरूमाथि अनुसन्धान गर्ने काम थालेको थियो । वर्षमा कम्तीमा तीन पटक यहाँ माछा निकालिन्छ ।

तराईको भन्दा चिसो पानी हुने हुँदा यहाँको माछा स्वादिलो भएकै कारण माछा निकाल्ने वेला माछा किन्न अघिल्लै दिनदेखि टोकन लिएर लाम लाग्नुपर्ने हुन्छ । माछाका भुराहरू पनि देशका थुप्रै स्थानमा लगिने प्राविधिक सहायक अवधेश कुमार सिंह बताउँछन् । पचहत्तर बिघा क्षेत्रफलमा फैलिएको केन्द्रले यो वर्ष ६ करोड भन्दा बढी एक दुई दिनका साना (जिराको दाना जत्रो) भुरा ३५ लाख एक इन्चका भुरा र १५ लाख हातका औँला आकारका भुराहरू बिक्री वितरण गर्ने लक्ष्य रहेको केन्द्रका मत्स्य विकास अधिकृत भीम पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार यो लक्ष्य सुरूका वर्षभन्दा बढी हो तर अब भने समस्या सुरू भएको छ । सुरूमा स्थानीय घट्टे कुलोलाई आधार बनाएर स्थापित केन्द्रलाई हेटौँडा उपमहानगरपालिकामा भइरहेको तीव्र विकास र जनसंख्या वृद्धि र घट्टे कुलोको वरिपरि बनेका घरहरूले यहाँको पानी अनधिकृत रूपमा पाइप जोडेर लगेपछि पानीको स्रोत आधाभन्दा बढी सुकेको छ । समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयमार्फत पहल पनि गरेको तर, समस्या पूर्ण रूपमा समाधान भइनसकेको उनले बताए । ती समस्याहरू समाधान गरेर अगाडि बढ्न सके धेर तिरबाट लाभ लिन सकिने उनको भनाइ छ ।

ठूलो क्षेत्रफल, आकर्षक भू–बनोट, सुन्दर पोखरीहरूसँगै घनाजंगलसहितको स–साना पहाडहरूले घेरेको मत्स्य विकास केन्द्र पुग्ने जो कोही पनि आफूलाई केहीबेर यहीँ हराउन चाहन्छ । यसको संरक्षण, सम्बर्धन र बहुआयामिक प्रयोगमा जोड दिने हो भने धेरैतिरबाट लाभ लिन सकिने जानकारहरू बताउँछन् । यहाँको जंगल कालो र खैरो रंगको सालकका लागि प्रसिद्ध छ ।

यसबाहेक रतुवा, चित्तल तथा सुनगोहोरोजस्ता वन्यजन्तुको वासस्थान समेत रहेकाले मत्स्य विकास केन्द्र रहेको हेटौँडा–५ र सँगैको पिप्लेपोखरा सामुदायिक वन, न्युरेनी सामुदायिक वन र रानी सामुदायिक वन, मकवानपुरगढीको वनक्षेत्र र मनकामना मन्दिरसमेत समेटेर चरा तथा वन्यजन्तुहरूको संरक्षण केन्द्र बनाउन सकिने वन विज्ञान अध्ययन संस्थानका प्रमुख प्रा. कृष्णप्रसाद दाहाल बताउँछन् । हजारौँ किलोमिटरको यात्रा तय गरेर बसाइँ सरेर यहाँ आउने चराहरूको अध्ययन र खोजी गर्न चाहने विश्वभरिका चराविद्हरूका लागि पनि मत्स्य विकास केन्द्र राम्रो गन्तव्य हुन सक्ने हुँदा प्रचारप्रसारमा जोड दिइनुपर्ने दाहालको तर्क छ ।

प्रतिक्रिया