चालक फेरिएपछि दुर्घटना

काठमाडौं । ‘निन्द्रा नलागेपनि आँखा चिम्म गरेर बसिरहेको थिए । एक्सासी गड्याम्म आवाज आयो । सबै यात्रुहरू चिच्याउँदा चिच्याउँदै गाडी खोलामा पुगिसकेको थियो । म होसमै थिएँ, ढोकाबाट निस्कन खोजेँ । नदी गहिरो देखेर ड्राइभरको सिटको झ्यालबाट हाम फालेँ’, आइतबार बिहान धादिङको गजुरी–६ बन्छेटारस्थित पृथ्वीराजमार्गबाट त्रिशुलीमा खसेको बसका यात्रु भन्दै थिए ।

झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७नम्बरको रात्रिकालीन यात्रुबाहक बस आइतबार बिहान पौन सात बजेतिर त्रिशुली नदीमा खसेको हो । त्रिशुली नदीमा बस खस्दा ८ जनाको मृत्यु भएको छ । मृतकमध्ये ७ जना पुरुष र एक महिला रहेका छन् । दुर्घटनास्थलमै ४ जनाको र बाँकीको उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा परेका घाइते एक यात्रुले भने,‘दुर्घटना हुनुभन्दा केही किलोमिटर वर बसमा तेल राखिएको थियो । तेल राखिएपछि चालक परिवर्तन भएको थियो । चालक परिवर्तन भएको केहीबेरमै दुर्घटना भयो ।’ तर, प्रहरीले दुर्घटना के कारणले भएको हो भनेर खुलाउन सकेको छैन । सहचालकले बस चलाएर दुर्घटना भएको घाइतेले बताएका छन् । बस सडकबाट ५० मिटर तल त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

४ जनाको घटनास्थलमै, २ जनाको उपचारको क्रममा गजुरी अस्पतालमा र २ जनाको राष्ट्रिय ट्रमा सेन्टर महांकाल काठमाडौंमा मृत्यु भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा ईलाम कन्याम घर भएका २० वर्षीय विशाल गिरी, काठमाडौं थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौं चन्द्रागिरीकी ३६ वर्षीय सिता थपलिया, ठेगाना नखुलेका प्रकाश श्रेष्ठ, शेखर मगर, धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ४३ वर्षिय राजन आचार्य र नाम, थर वतन नखुलेका २ जना रहेका छन् । मृतक मध्ये धादिङका राजन भने केही समयअघि मात्र काठमाडौं आउनका लागि सो बसमा चढेका थिए ।

दुर्घटनामा घाइते भएका मध्ये १७ जनाको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भैरहेको छ भने अन्य घाइतेहरूको गजुरी र धादिङका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । काठमाडौंको मेडिसिटीमा उपचार गराइरहेका घाइतेहरूमध्ये एक जना क्यामरुनका नागरिक पनि छन् । उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया