लिम्बू सङ्ग्रहालय ओझेलमा

ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिकास्थित मामाङ्खेमा स्थापित लिम्बू सङ्ग्रहालयको उचित व्यवस्थापन र प्रचारप्रसार हुन सकेको छैन । लिम्बू समुदायको पहिचान झल्काउने ऐतिहासिक सामग्री सङ्कलन गरी विसं २०५७ मा स्थापना गरिएको उक्त सङ्ग्रहालय प्रचारप्रसारको अभावमा गुमनाम जस्तै बनेको छ । सङ्ग्रहालयको उचित व्यवस्थापन हुननसकेकाले जीर्ण बन्दै गएको छ । “लिम्बू समुदायमा आधारित ऐतिहासिक सामग्री सङ्कलन गरेर सङ्ग्रहालय स्थापना ग¥यौं, तर प्रर्याप्त बजेट अभावमा यसको थप व्यवस्थापन र ग्रामीण क्षेत्रमा रहेकाले खासै प्रचारप्रसार हुन नसक्दा गुमनाम जस्तै बन्यो’, संग्रहालय व्यवस्थापन समितिका सदस्य टीका मावोले भने । यातायातको पहुँच नहुँदा अवलोकनकर्ता समेत कमै मात्र पुग्ने गरेका उनको भनाइ छ ।

‘यातायातको पहुँच छैन, पैदल हिँडेर अवलोकनकर्ता आइपुग्दैनन्, प्रचारप्रसार पनि छैन’, उनले भने । जिल्लाका अधिकांश ठाउँमा सडक पुगेको भए पनि मामाङ्खेमा भने पुग्नसकेको छैन । यहाँसम्म सडक निर्माण र प्रचारप्रसार भएमा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने स्थानीयवासीको अपेक्षा छ । व्यवस्थापन समितिले सङ्ग्रहालयको प्रर्वद्धनका लागि गुरुयोजना बनाएर काम गर्ने तयारी गरेको छ । यता सङ«ग्रहालयको पर्वद्धनका लागि केन्द्र, प्रदेशका साथै स्थानीय सरकारसँग समन्वय गरेर अघि बढ्ने सांसद योगेश भट्टराईले बताए ।

लिम्बू समुदायको पहिचान र ईतिहासलाई संरक्षण गर्ने कुरामा कुनै कन्जुस्याइ नहुने उनको भनाई छ । उक्त सङ्ग्रहालयमा विसं १८१४ र १८३१ मा पृथ्वीनारायण शाहले लिम्बूसँग गरेको सम्झौता र युद्धमा प्रयोग गरिएको ढालहरूलाई संग्राहलयमा संरक्षण गरेर राखिएको छ । सयवर्षअघि फेदाङ्वा÷विजुवाहरूले प्रयोग गर्ने जामा, पगरी पनि सो सङ्ग्रहालयमा हेर्न पाइन्छ । लोप हुने अवस्थामा पुगेका लिम्बू जातिको जन्मदेखि मृत्युसम्मका संस्कारमा प्रयोग हुने दुई सय बढी सामग्रीसमेत उक्त सङ्ग्रहालयमा राखिएको छ ।

प्रतिक्रिया