चारसय वर्ष पुरानो चण्डेश्वरी जात्रा

काभ्रे । चारसय वर्ष पुरानो चण्डेश्वरी जात्रा काभ्रेको बनेपामा मनाईंदै आइएको छ । हरेक वर्ष वैशाख पूर्णिमाको दिन लाग्ने प्रसिद्ध चण्डेश्वरी जात्राको बनेपा र आसपासका नेवारी वस्तीमा यतिवेला रौनकता छाएको छ ।

चण्डेश्वरी जात्रा बनेपाली नेवार समुदायको लागि एक महत्वपूर्ण चाड पनि हो । आठ दिनसम्म चल्ने जात्रा बुधवारदेखि सुरु भएको छ । जात्राको चौथो दिन शनिबार चण्डेश्वरी माईको रथलाई बनेपाको तीनधाराबाट रथ यात्रा गरी चण्डेश्री मन्दिर पु¥याइन्छ भने आइतबार सोही रथमा मूर्ती राखि बनेपा बजार परिक्रमा गराइन्छ ।

दैत्यराज चण्डासुरलाई बनेपाको चण्डेश्वरीमा अवस्थित रक्तचन्दन वनमा कुमारी चण्डेश्वरी प्रकट भई चण्डासुरलाई मार्न प्रयास गरिन् तर सकिनन् । त्यसपछि, उनी भगवतीको रूपमा प्रकट भएर चण्डासुरको बध गरी देवगणको रक्षा गरेको किंवदन्ती छ । यसैको खुसीयालीमा १८ वटा बोकाहरूलाई बलि दिँदै जात्रा मनाइँदै आएको धार्मिक कथन छ ।

लामो इतिहास बोकेको चण्डेश्वरी जात्रालाई बनेपालीले विशेष श्रद्धा र आस्थाका रूपमा लिने गर्दछन् । जस अनुसार जात्राको पहिलो दिन सखारै मत पूजा (चिराग यात्रा) निकालिने परम्परा छ । स्थानीयले धिमे, नाय्खिं, छुस्या लगायत विभिन्न बाजागाजासहित आस्था भएका सबैले आ–आफ्नो घरबाट चिराग बोक्दै बनेपाको लायकुमा जम्मा भई जलेश्वर महादेव (जसिगा) सम्म पुगेर विसर्जन गरिन्छ । मत पूजासँगै औपचारिक रूपमा जात्रा सुरु भएको मान्ने गरिन्छ ।

लसकुस अर्थात् स्वागत गर्ने प्रतीकको रूपमा चण्डेश्वरी देवतालाई मतः पूजा गर्ने गरिएको पाइन्छ । तीनधारामा पूर्णिमाकै दिन पांग्रा नभएको खटलाई भेडा बलि दिइएपछि देवता नभएको खाली खटलाई बिभिन्न बाजागाजा सहित स्थानीय सयौँ युवाहरूले बोकेर ल्हाका पालुं हाः अर्थात ‘सबैले एकैचोटी उचालौँ’ भन्दै चण्डेश्वरी पु¥याउने गर्दछन् । खटलाई मन्दिर नजिक पु¥याएपछि विभिन्न अनुष्ठान र विधि गरी चण्डेश्वरी देवीको मूर्तिलाई खटमा राखिन्छ ।

देवीको मूर्तिलाई खटमा राखेपछि सवैभन्दा पहिला बनेपाका धलंछेँ साय्मि खलःबाट ल्याइएको पूजा हुने गर्दछ । तबमात्र भक्तजनहरूको पूजा लिने परम्परा छ । त्यसको भोलिपल्ट देवी सहितको खटलाई विधिपूर्वक पूजाआजा सकेर पुनः खटलाई बनेपाको बकुटोलतर्फ ल्याइने परम्परा रही आएको छ । खटलाई लायकू दरबार पु¥याइ त्यहाँबाट चण्डेश्वरी देवीको मूर्तिलाई अर्को सानो खटमा राखेर पुनः वकुटोलमै ल्याइन्छ । यसपछि कलंदान या मासु छर्ने जात्रा हुन्छ ।

चण्डेश्वरी मन्दिरभित्र रहेका पिगं देवताहरूलाई १८ वटा बोका बलि दिने गरिन्छ । १८ बोका मध्ये एउटा बोका द्वारे र अर्को बोका जोशीलाई दिइने चलन छ भने बाँकी बोकाको मासु कलंदान गरिन्छ । कलंदान जात्रामा मासुलाई प्रसाद स्वरूप भीडमा फालिने परम्परा रहिआएको छ । कलंदानपछि मूर्तिलाई सानो खटमा राखेर पुनः चण्डेश्वरीमा पु¥याएपछि जात्रा सकिने गर्दछ । जात्रा हेर्न काभ्रेको विभिन्न स्थान काठमाडांै उपत्यका, सिन्धुली, रामेधाप, सिन्धुपाल्चोक, दोलखा लगायतका स्थानबाट मानिसहरू आउने गर्छन् । जात्रा मनाउन बनेपा नगरपालिकाले आइतबार सार्वजानिक विदा समेत दिएको छ ।

प्रतिक्रिया