रकम हिनामिना भएपछि प्रतिवेदन गुपचुप

संखुवासभा । खानेपानीको रकम हिनामिना घटनाको छानबिन प्रतिवेदन संखुवासभाको खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले गुपचुप राखेको छ ।

कर्मचारीले महसुललगायत रकम हिनामिना गरेको आरोप लागेपछि खाँदबारी नगरपालिकाका लेखा अधिकृतको टिमले छानबिन गरेको थियो । छानविन प्रतिवेदन खाँदबारी खानेपानी तथा सरसफाई उपभोक्त समितिलाई १५ वैशाखमै बुझाइएको छानविन समितिका संयोजक रुद्रमणी श्रेष्ठले जानकारी दिए ।

तर, समितिले भने त्यो प्रतिवेदन सार्वजनिक गर्न आलटाल गरेको छ । नगरपालिकाका लेखा अधिकृत रुद्रमणि श्रेष्ठलार्ई १५ माघमा छानबिनको जिम्मा दिइएको थियो । ‘खानेपानी महसुल र आयोजना सञ्चालनका क्रममा उपभोक्ताबाट उठाइएको पाँच प्रतिशत रकम छानबिन गर्ने अधिकार मलाई दिइएको थियो’, उनले भने, ‘प्रतिवेदन तयार पारी खानेपानी समिति, जिसस र खाँदबारी नगरपालिकालाई बुझाएको छु ।’ प्रतिवेदन सार्वजनिक गर्ने अधिकार आफूलाई नरहेको उनले सुनाए ।

प्रतिवेदन सार्वजनिक गर्न आलटाल गरेपछि उपभोक्ताले अनेक आशंका गरेका छन् । उनीहरू तत्काल प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । उपभोक्ता जीवनाथ खनालले संस्थाको सुरुआतबाटै छानबिन हुन आवश्यक रहेको बताए । ‘हिसाबकिताब चुस्तदुरुस्त बनाउन हालसम्मकै कारोबारको छानबिन हुनुपर्छ’, उनले भने । प्रतिवेदन सार्वजनिक नहुनुले छानबिनमै प्रश्न उठेको उनको भनाइ छ । संस्थाका अध्यक्ष नरेन्द्र राईले तत्कालै सार्वजनिक गर्न नमिल्ने बताए । ‘खाँदबारी नगरपालिकासँग सल्लाह गरेर मात्र प्रतिवेदन सार्वजनिक गर्छौं’, उनले भने ।

संस्थाले जडान शुल्क भन्दै उपभोक्ताबाट पाँच प्रतिशतका दरले २ करोड १५ लाख रुपैयाँ अग्रिम उठाएको थियो । धेरै अनियमितता देखिएकाले उच्चस्तरीय समिति गठन गरेर थप छानबिन गर्नुपर्ने मेयर मुरारी खतिवडाको भनाइ छ । त्यसपछि मात्र प्रतिवेदन सार्वजनिक गरिने उनले बताए ।

संस्थाले भने तीन कर्मचारीलाई निलम्बन गरेको छ । लेखापाल लक्ष्मण पराजुली र काउन्टर इन्चार्ज सुरेश ढकाल र प्रशासन सहायक जुनिता कार्कीलाई निलम्वन गरिएको अध्यक्ष राईले बताए ।

खाँदबारीमा मागअनुसार उपलब्ध गराउन ४३ किलोमिटर टाढा मकालु–५, मांसिमाको सिमाली खोलाबाट पानी ल्याइएको छ । ३ हजार ४ सय धाराबाट पानी वितरण गर्ने गरी आयोजनाको काम सुरु गरिएको थियो । तर, सिनोटिक र आशिष निर्माण कम्पनीले २ हजार ७ सय ७५ धारा मात्र जडान गरेका छन् । आयोजना सञ्चालनका लागि २ हजार ९ सय ५९ घरबाट ५ प्रतिशत रकम जम्मा गर्न लगाइएको थियो । निर्माण कम्पनीले पूरा धारा जडान नगरेको र पानीसमेत नियमित सञ्चालन गर्न नसकिरहेको अवस्थामा संस्थाले आयोजना सम्पन्न भएको सिफारिस दिएको छ ।

२ हजार ७ सय ७५ धारा जडान भए पनि २ हजार वटा मात्र सञ्चालनमा रहेको संस्थाका अध्यक्ष राईले बताए । ‘डिजाइन गलत हुँदा धाराबाट पानी आउन सकिरहेको छैन’, उनले भने, ‘२०७२ को भूकम्पले पनि मुहान सुकेका कारण २४ घण्टा पानी वितरण गर्न सकिएन ।’

योजनाभन्दा १ हजार ४ सय कम धारा सञ्चालनमा आउँदा पनि पानी अभाव छ । आयोजना सम्पन्न भएको डेढ वर्ष बित्न लागे पनि महिनामा दुईपटक मुस्किलले पानी आउने गरेको उपभोक्ता कुमारबहादुर मगरले बताए ।

आयोजना निर्माण २०७० असोजमा प्रारम्भ भएको थियो । पाँचपटक म्याद थप गरी ०७४ पुस १६ मा निर्माण कम्पनीले काम सम्पन्न गरेको संस्थाको दाबी छ । कम्पनीले १८ महिनामा सक्नुपर्ने काम ५१ महिना लगाएको थियो । निर्माण सम्पन्न भएको एक महिनासम्म मर्मत, सम्भारसहित समस्याको समाधान गर्नुपर्ने जिम्मेवारी ठेकेदारकै हो । यो समय पनि वैशाखमा सकिएको छ । संस्थाका अध्यक्ष राईले समझदारीमा निर्माण पूरा गर्न लगाउने गरी सम्पन्नको सिफारिस दिइएको दाबी गरे ।

आयोजनाबाट खाँदबारीका १ देखि ९ वडा, चिचिला गाउँपालिकाको चिचिला बजर क्षेत्र र कुवापनीका उपभोक्तालाई पानी वितरण गर्ने लक्ष्य थियो । यसका लागि नगर विकास कोषबाट २० करोड २ लाख ऋण लिइएको थियो । संस्थाले ऋण १५ वर्षभित्र तिर्नुपर्नेछ । भेरिएसन अर्डर र मूल्य समायोजनसहित आयोजनाको खर्च रकम ४६ करोड ५१ लाख रुपैयाँ पुगेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया