माईपोखरीका अग्‍निपीडितलाई युके समाजद्वारा आर्थिक सहयोग

राम योङहाङ, इलाम । इलामको सन्दकपुर गाउँपालिकास्थित माईपोखरीका अग्नीपीडितलाई सन्दकपुर गाउँपालिका युके समाजले ३ लाख २५ हजार रुपैयाँ राहत उपल्बध गराएको छ ।  सन्दकपुरका भूतपूर्व व्रिटिस गोर्खा सैनिकहरुको संगठन युके समाजले विहीबार कार्यक्रम आयोजना गरी सो रकम अग्निपीडितलाई उपलब्ध गराएको हो ।

गाउँपालिकाका अध्यक्ष उदयबहादुर राई र वडा नम्बर १ का अध्यक्ष नन्दबहादुर राईको रोहबरमा समाजका सल्लाहकार दिलबहादुर गुरुङले अग्निपीडितलाई रकम हस्तान्तरण गरेका हुन् । गत ३० फागुनमा भएको आगलागीबाट माईपोखरीका ४ घर लेर ध्वस्त हुदाँ भाडामा बस्ने सहित ७ परिवारको करिब १ करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको थियो । तत्कल सन्दकपुर गाउँपालिकाले प्रभु बैंकमा अग्निपीडित राहत कोषको स्थापना गरी बैंक खाता खोलेर सहयोगको आह्वान गरेको थियो ।

त्यसपछि अग्निपीडितलाई स्वदेश तथा विदेशबाट पनि रकम तथा जिन्सी सहयोग प्राप्त हुँदै आएको छ । यसअघि सन्दकपुर गाउँपालिकाले नगद २ लाख ४० हजार रुपैयाँ र २ लाख बराबरको जिन्सी सामग्री उपलब्ध गराएको थियो । त्यस्तै जिल्ला विपद व्यवस्थापन समितिले २ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

त्यस्तै समाजसेवी तथा नेपाली कांग्रेसका युवा नेता डम्बर खड्काले व्यक्तिगत रुपमा नगद ५१ हजार सहयोग गरेका थिए । सन्दकपुर गाउँपालिका(३ स्थित सुलुबुङ देउराली स्वर्गिक मार्ग संघले ३० हजार ५ सय ६० रुपैयाँ उपलब्ध गराएको थियो ।

त्यस्तै आदर्श माध्यमिक विद्यालयका शिक्षकहरुले संकलन गरी एकमुष्ठ १२ हजार ५ सय ७५ रुपैयाँ यसअघि नै उपलब्ध गराइएको थियो । हालसम्म प्रभु बैंकमा रहेको माईपोखरी अग्निपीडित राहत कक्षवमा विभिन्न व्यक्ति र संस्थाबाट पाँच लाख ७० हजार रुपैयाँ जम्मा भएको छ ।

प्रतिक्रिया