राष्ट्रिय कला प्रदर्शनी सुरु

काठमाडौं । नेपाली ललितकलाका विविध आयाम झल्किने कलाकृतिको प्रदर्शनी सुरु भएको छ । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा बिहीबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रदर्शनीको उद्घाटन गर्दै कला र संस्कृतिको संरक्षण र विकासविना राज्य बलियो बन्न नसक्ने बताए । उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने राष्ट्रिय कार्यभारलाई सार्थक तुल्याउन कला र साहित्य क्षेत्रको महत्वपूर्ण भूमिका हुने जिकिर गरे ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित नवौँ राष्ट्रिय ललितकला प्रदर्शनी उद्घाटनका क्रममा उनले कुनै पनि राष्ट्रको सभ्यता र पहिचानका लागि भाषा, कला र साहित्यको महत्वपूर्ण योगदान हुने र राष्ट्र निर्माणमा पनि यिनै पक्षको बलशाली भूमिका रहने भनाई व्यक्त गरे ।

उनले भने, ‘समृद्धिले नेपालको विकास निर्माण मात्र नभई समग्र जीवनलाई गुणस्तरीय बनाउने भएकाले यसमा कला र साहित्यको पनि योगदान रहनेछ । राष्ट्रिय सद्भाव र एकताको सूत्रलाई अझ बलियो बनाउन सक्नेछ ।’

प्रदर्शनीले नेपालको कला र संस्कृतिलाई विश्व जगत्मा अझ नजिकबाट चिनाउने बताउँदै उनले आपसी सम्पर्क र समन्वयका साथै प्रतिष्ठानले समय सान्दर्भिक कार्यक्रम गरेर कला जगत्को विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्याएको जिकिर गरे । मन्त्री पोखरेलले ललितकला क्षेत्रको विकासका लागि सरकारले सदैव सहयोग गर्ने बताए ।

उक्त अवसरमा नेपाली ललितकलाका क्षेत्रमा लामो समयदेखि योगदान दिएका कलाकारद्वय चिनीकाजी ताम्राकार र रतनकुमार राईलाई ‘राष्ट्रिय अरनिको ललितकला प्रज्ञा सम्मान’ प्रदान गरियो । ताम्राकारले परम्परागत पौभालगायत चित्रकलाको सिर्जना गर्दै आएका छन् भने राई समसामयिक कला क्षेत्रमा काम गर्दै आइरहेका छन् । उनीहरूलाई एक लाखसहित ताम्रपत्रद्वारा सम्मान गरिएको थियो ।

त्यस्तै, २५ हजार राशिको ललितकला पत्रकारिता पुरस्कारबाट राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक श्यामप्रसाद रिमाल सम्मानित भएका छन् । रिमालले पत्रकारिता र साहित्यका माध्यमबाट ललितकलाका क्षेत्रमा विगत साढे दुई दशकदेखि योगदान पु¥याउँदै आएका छन् । ललितकला लेखन पुरस्कारबाट कलाकार तथा कला लेखक मदन चित्रकारलाई पुरस्कृत गरिएको छ । यसैगरी कार्यक्रममा कलाका विभिन्न विधा तथा राष्ट्रिय र प्रदेशस्तरमा गरी ३७ स्रष्टालाई पुरस्कृत गरियो ।

पुरस्कृत हुनेमा वास्तुकला तथा अन्य सिर्जनात्मक कलातर्फबाट रवीन्द्र श्रेष्ठले प्रथम पुरस्कार पाए । कार्टुनतर्फबाट काठमाडौंका राजेश मानन्धर, फोटोग्राफीबाट भक्तपुरका सरोज बाडे र काठमाडौंका केशव कँडेल तथा भावभंगिमा कलाबाट मुगुका कौशल हमालले विशेष पुरस्कार पाए ।

परम्परागत चित्रकलातर्फ काठमाडौंका रवि श्रेष्ठले राष्ट्रिय पुरस्कार पाउन सफल भए । त्यस्तै, ललितपुरका उजय बज्राचार्य र ललितपुरकै महेश्वर डंगोलले विशेष पुरस्कार पाए ।

समसामयिक चित्रकलातर्फ दोलखाका नेमबहादुर गोलेले राष्ट्रिय पुरस्कार हात पार्न सफल भए । टिकादत्त दाहाल, सुरेम देशार र सुरेन्द्र बस्नेतले विशेष पुरस्कार पाए । समसामयिक मूर्तिकलातर्फ अनमारी तामाङले राष्ट्रिय पुरस्कार पाउन सफल भए भने बाराका दीपक लामा र सुनसरीका नरेश थुलुङले विशेष पुरस्कार पाए ।

परम्परागत मूर्तिकलातर्फ ललितपुरका रत्नमुनि ब्रम्हचार्यले राष्ट्रिय पुरस्कार हात पारे भने रमेश शाक्य र माणिकमान शाक्यले विशेष पुरस्कार पाउन सफल भए । त्यसैगरी, हस्तकलातर्फ शरद शाक्यले राष्ट्रिय पुरस्कार पाए भने राजेश महर्जन र शुशिला सिंहले विशेष पुरस्कार पाए । लोककलातर्फ सप्तरीका रञ्जु यादवले राष्ट्रिय पुरस्कार पाइन् भने सिराहा हरेराम यादव र कैलालीका मिठ्ठु थारुले विशेष पुरस्कार पाए ।

त्यस्तै, प्रादेशिक पुरस्कार प्रदेश–१ बाट टिकावीर राई, प्रदेश–२ बाट रेमनी मण्डल, प्रदेश–३ बाट भीमप्रसाद श्रेष्ठ, गण्डकी प्रदेशबाट एनबी गुरुङ, प्रदेश–५ बाट बालकुमारी चौधरी, कर्णाली प्रदशेबाट धोर्चे गुरुङ लामा र सुदूरपश्चिम प्रदेशबाट योगेन्द्र बलमले पाए । राष्ट्रिय पुरस्कारको राशि ६० हजार, विशेष तथा प्रादेशिक पुरस्कारको राशि २५ हजार रहेको छ ।

प्रतिष्ठानका कुलपति केके कर्माचार्यले कला, साहित्यका क्षेत्रका लागि सरकारले थप प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले भने, ‘कला र संस्कृतिको संरक्षण विकास र प्रवद्र्धनविना राज्य समृद्ध बन्न सक्दैन ।’ प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले आगामी वर्षमा अझ उत्कृष्ट कला प्रदर्शनी आयोजना गरिने बताए । उनले भने, ‘आगामी वर्ष सातै प्रदेशमा प्रदर्शनी गरिसकेपछि राष्ट्रिय प्रदर्शनी गरिने तयारी प्रतिष्ठानले गरेको छ ।’

सदस्यसचिव विपिनकुमार घिमिरेले ५ सय ९३ मध्ये ४ सय ५३ कलाकृति प्रदर्शनीमा समावेश गरिएको जानकारी दिए । उनले भने, ‘नेपालका गाउँघरका साथै काठमाडौं उपत्यका बाहिरका सहरहरू समेत कलाको सामान्य गतिविधिबाट टाढा रहेको अवस्था छ । कलाकारहरूको सिर्जनात्मक गतिविधि र कला प्रदर्शनीहरू काठमाडौंमा मात्र केन्द्रित हुने परम्परा टुटेको छैन । यसमा राज्य तथा कलाकार मिलेर कलालाई बिकेन्द्रित गर्नुपर्ने अवस्था छ ।’ उनले प्रदर्शनीमा राखिएका कलाले नेपालको प्रतिनिधित्व गरेको जनाए । प्रदर्शनी तीन सातासम्म चल्नेछ ।

प्रतिक्रिया