सञ्यकोषको १२ करोड गायब !

काठमाडौं । सुन्धारास्थित ‘काठमाडौं मल’ बाट भाडावापत उठेको १२ करोड बढी रकम सञ्चयकोषमा दाखिला नहुँदै गायब पारिएको खुलासा भएको छ । काठमाडौं मल व्यापार संघका तत्कालीन पदाधिकारीबाटै सो रकम गायब पारिएको खुलासा भएको हो ।

कर्मचारी सञ्चय कोषद्वारा सञ्चालित सुन्धारास्थित ’काठमाडौं मल’ को ठेक्का पाएका प्रविर समसेर राणाले त्यहाँको भाडा उठाउन त्यहीँको व्यापार संघसँग सम्झौता गरेका थिए । सो सम्झौता भएको कुरा कर्मचारी सञ्चयकोष र स्वयं काठमाडौं मल व्यापार संघले पनि स्वीकार गरेको छ ।

द काठमाडौं मल व्यापार संघका तत्कालीन पदाधिकारीहरू र सञ्चय कोषका कर्मचारीको मिलेमतोमा उक्त रकम गायब पारिएको भन्दै संसदको लेखा समितिमा उजुरी परेको छ । अर्कोतिर काठमाडौं मल व्यापार संघकी वर्तमान अध्यक्ष सुष्मा महराले पनि बिहीबार पत्रकार सम्मेलन गर्दै घाटालाविरुद्ध बोल्दा उल्टो ज्यान मार्ने धम्की आएको बताएकी छन् ।

संघका पदाधिकारीले २०७१ साल मंसिरदेखि २०७२ असोजसम्मको भाडा त्यहाँका व्यवसायीबाट उठाई आफैंले हिनामिना गरेको देखिएको हो । तत्कालीन समयमा ठेक्का प्राप्त गरेका राणालाई सञ्चय कोषले उक्त रकम बुझाउन ताकेता गरेपछि यो रहस्य खुलेको हो ।

कर्मचारी सञ्चय कोषले काठमाडौं मलको ११ महिनाको भाडाबापतको रकम प्राप्त नगरेपछि मलको भाडा भुक्तानी गर्ने ठेकेदार राणाविरुद्ध २०७२ साल भदौमा ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा सुनुवाइ गर्दै ललितपुर जिल्ला अदालतले कोषलाई काठमाडौं मलको ११ महिनाको भाडाबापतको १२ करोड ६६ लाख ४ सय ३० रुपैयाँ राणाले तिर्नुपर्ने ठहर गरेको थियो ।

अदालतको ठहरपछि राणाले द काठमाडौं मल व्यापार संघसँग ११ महिनामा उठाएको रकमको दाबी गरेका थिए । सञ्चय कोषको ताकेतापछि तत्कालीन समयमा भाडा असुलीका लागि ठेक्का सम्झौता गरेका राणाले चैत्र ८ मा कोषले भनेबमोजिम रकम भुकतानी गरिदिन भन्दै व्यापार संघको नयाँ नेतृत्वलाई पत्र लेखेका थिए ।

अदालतको आदेश र सञ्चयकोषको ताकेतापछि राणाले ब्यापार संघलाई पत्र लेखेका हुन् । घोटाला गरिएको रकम फिर्ता गर्नभन्दा आफूलाई ज्यान मार्नेसम्मको धम्की दिइएको वर्तमान अध्यक्ष महराले बताएकी छन् । बिहीबार ब्यापार संघले जारी गरेको विज्ञप्तिमा व्यवसायीका हकहितका लागि भनेर खोलिएको द काठमाडौं मल व्यापार संघका तत्कालिन पदाधिकारी समिर उद्दिन सेखलगायतका पदाधिकारी र सञ्चय कोषका कर्मचारीको मिलेमतोमा १२ करोड गायब पारिएको छ भने ५० करोड भन्दा बढी घोटला भएको उल्लेख छ ।

विज्ञप्तिमा ‘संघका तत्कालीन पदाधिकारीले २०७१ साल मंसिरदेखि २०७२ असोजसम्मको भाडा व्यवसायीबाट उठाइ सञ्चय कोषलाई नबुझाएर आफैंले हिनामिना गरेको देखिएको छ । संस्थालाई संघका पूर्व पदाधिरकारीले उक्त रकम हिनामिना गर्नुका साथै संघको खाताबाट मनलाग्दी रकम झिकेको पाइएको छ । जुन खाताहरूको हिसाबकिताब उनीहरूले लेखा परीक्षणका समय देखाएका छैनन्’ भनिएको छ ।

संघको कुमारी बैंक, सिनर्जी फाइनान्स र शान्ति सन्देश सहकारीमा खाता रहेको पत्ता लागेको छ । संघका ती खाताबाट तत्कालिन कोषाध्यक्ष प्रकाश थापाले मात्रै एक करोड ३४ लाख ८ हजार ८९ रुपैयाँ झिकेको देखिएको छ । अध्यक्ष समिर उद्दिन सेखले मात्रै ५४ लाख ७२ हजार पाँच सय रुपैयाँ झिकेका छन् ।

त्यस्तै प्रथम उपाध्यक्ष मधुसुदन आचार्यले एक करोड ८८ लाख ३४ हजार पाँच सय झिकेका छन् । द्वितीय उपाध्यक्ष सन्तोष अधिकारीले ९९ लाख ७ हजार पाँच सय, महासचिव खिम विक्रम सेनले चार लाख १८ हजार, उनका अनुसार अन्य दुई बैंकमा पनि संघको खाता भएको बुझिएको छ । तर, वर्तमान पदाधिकारीलाई जानकारी नगराएको बताइएको छ ।

बैंक स्टेटमेन्टमा उक्त कारोबार देखिएपनि संघको लेखा परीक्षण गराउँदाको ‘क्यास फलो स्टेटमेन्ट’मा भने उक्त रकम नदेखिएको विज्ञप्तिमा उल्लेख छ । ‘२०७२ असारदेखि २०७३ असारसम्मको कारोबारमा जम्मा ७ हजार ३५ ब्यालेन्स रहेको देखाइएको छ’ महराले भनिन् ‘संघका पूर्व पदाधिकारीसहित कर्मचारी सञ्चय कोषका तत्कालीन कर्मचारीलले उक्त रकम अपचलन गरेको भन्दै संसदको लेखा समितिमा उजुरी गरिएको छ । छानविन गरी कारबाही गर्न माग गरिन्छ ।’

प्रतिक्रिया