नेपाल भारतविरुद्ध भिड्दै

काठमाडौं । एसिया कप ह्विल चियर ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भारतको सामना गर्ने भएको छ । ह्विल चियर क्रिकेट संघले पत्रकार सम्मेलन गरेर बुधबारबाट हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुनेछ । यसअघि संघले मैदान अभावका कारण पुलचोकस्थित इन्जिनियरिङको क्याम्पसको मैदानमा आयोजना गर्ने जनाएको थियो ।

तर राष्ट्रिय खेलकुद परिषद्को प्रतियोगिता प्रधानमन्त्री कप क्रिकेट अर्को मितिका लागि सरेपछि ह्विल चियर क्रिकेट संघले आयोजना गर्ने मौका पाएको हो । यसअघिको पत्रकार सम्मेलनमा नेपाल ह्विल चियर क्रिकेट संघका अध्यक्षले मैदान अभावका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता पुलचोकमा आयोजना गर्न लागेको जनाएका थिए ।

प्रतियोगिताको मिति दुई दिन बाँकी रहँदा मैदान प्राप्त गरेका संघका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले खुसी व्यक्त गरे पनि अन्य पक्षमा भने असन्तुष्टि जनाए ।  यसअघि त्रिकोणात्मक शृंखला गर्दै उपाधि घरमै राखेको नेपाली टोलीको तयारी राम्रो रहेको नेपाली टोलीका कप्तान दिग्म चेम्जोङले बताए ।

‘यसअघि केही खेलमा हामीले सहभागिता जनाइसकेका छौं, राम्रो खेल्न सक्छौं भन्ने मनोबल हामीमा रहेको छ,’ नेपाली टोलीका कप्तान दिग्मले भने, ‘तयारी राम्रो छ । बन्द प्रशिक्षणमा रहेर अभ्यास गर्ने मौका पाएका छौं । उपाधि जित्नेमा आशावादी छौं ।’

प्रतियोगिताको तयारीका लागि नेपाली टोलीले ललितपुरको काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर ९केसिटिसी० र जोरपाटीस्थित अपाङ्ग अस्पतालको मैदानमा अभ्यास गरेको थियो । प्रतियोगिताको तयारीका लागि १७ जना खेलाडी अभ्यासमा जुटेका थिए ।

चार दिन चल्ने एसिया कपमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछन् । लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउनेछन् ।

प्रतिक्रिया