एकृकीत पाठ्यक्रम लागु नगर्न आग्रह

काठमाडौं । नेपाल कर्मचारी युनियन संघ शिक्षा विभागीय कार्यसमितीले हचुवाका भरमा कक्षा १ देखि ३ सम्मको एकीकृत पाठ्यक्रम लागू नगर्न शिक्षा विज्ञान तथा प्रविधिमन्त्रालयलाई आग्रह गरेको छ । शिक्षा सचिव खगराज बराललाई ज्ञापनपत्र बुझाउँदै समितिले स्विकृत नभएको विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुपको आधारमा निर्माण भएको पाठ्यक्रम लागु नगर्न आग्रह गरेको हो ।

पाठ्यक्रम प्रारुप २०७५ स्वीकृत नभएको सन्दर्भमा कक्षा १ देखि ३ सम्मको एकीकृत पाठ्यव्रmम विकास भई परीक्षण गर्ने तयारीले थप अन्यौल बनाएको ज्ञापन पत्रमा उल्लेख छ । समितिले पाठ्यक्रम प्रारूपको वास्तविकता बाहिर ल्याइ आधिकारिक धारणा सार्वजनिक गर्न आग्रह गरेको छ ।

पाठ्यक्रम विकास केन्द्रले नेपाल सरकारबाट स्वीकृत नै नभएको दस्तावेज, हचुवाका भरमा पाठ्यक्रम प्रारूपले निर्दिष्ट गरेको सिद्घान्त तथा संरचनामा आधारित भई आधारभूत तह कक्षा १ देखि ३ को पाठ्यक्रम निर्माण गर्नु सरकारप्रति अपहेलना भएको ज्ञापन पत्रमा उल्लेख छ ।

नेपाली भाषाको अस्तित्व मेटिने गरी नेपाली विषय क्षेत्रको नाम नै परिवर्तन गरिएको भन्दै प्रक्रियाले नेपाली भाषाको मानमर्दन गरेको समितिले उल्लेख गरेको छ । नेपाली भाषा विषयका सम्बन्धमा बालबालिकाहरूमा अन्योलता सिर्जना गर्दै भाषाको अस्तित्वनै मेटाउने गरी भएका कार्यलार्ई तत्काल रोकी पुरानै नाम अनुसार पाठ्यपुस्तक छपाई र वितरण प्रवन्ध मिलाउँन आग्रह गरेको छ ।

शिक्षा ऐन आठौं संशोधनले विद्यालय शिक्षाको संरचनालाई प्रारम्भिक बाल कक्षा देखि ८ सम्म आधारभूत तह र कक्षा ९ देखि १२ सम्म माध्यमिक तह गरी दुई तहमा हुने व्यवस्था गरेको छ । शिक्षा मन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को गत असोज २३ गतेको बैठकले राष्ट्रिय पाठ्यक्रम प्रारूप स्वीकृतीका लागि सरकारलाई सिफारिस गर्ने निर्णय भए पनि हालसम्म स्वीकृत नभएको समितिको दावी छ ।

सरकारबाट स्विकृत नै नगरी लाखौं बालबालिकाको भविष्यसँग जोडिएको र विद्यालय शिक्षामा दिर्घकालिन प्रभाव पार्ने नीतिगत दस्तावेज तयारीमा सरोकारवालालाई गुमराहमा राखी व्यक्तिगत स्वार्थ र लहडका भरमा काम भईरहेको समितिको आरोप छ ।

प्रतिक्रिया