गिर्जाघरमा आक्रमण, पादरीसहित ६ को मृत्यु

बुर्किना । पश्चिम अफ्रिकी राष्ट्र बुर्किना फासोको एक गिर्जाघरमा बन्दुकधारीले ६ जनाको हत्या गरेका छन् ।

प्रार्थनाको समयमा क्याथलिक गिर्जाघरमा बन्दुकधारीहरूले आक्रमण गरी एक पादरीसहित ६ जनाको हत्या गरेका हुन् । उक्त हमला उत्तरी शहर डाब्लोमा भएको सुरक्षा सूत्र तथा स्थानीय अधिकारीहरूले बताएका छन्।

स्थानीय समय अनुसार बिहानीपख ९ बजेतिर प्रार्थनाका बेला हतियारधारीहरू गिर्जाघरमा प्रवेश गरेका थिए । हतियारधारी देखेर मानिसहरू भागाभाग गर्न थालेपछि तिनीहरूले गोली हानेको शहरका मेयरले समाचार संस्था एएफपीलाई बताएका छन् । बन्दुकधारीहरू मोटरसाइकलमा आएको विवरणहरूमा जनाइएको छ।

आक्रमणकारीहरूले नजिकैका पसलहरू तथा एक स्वास्थ्य केन्द्रमा पनि आगो लगाइदिएको एक अधिकारीले बताएका छन्।

गत पाँच सातायता बुर्किना फासोका गिर्जाघरमा भएको यो तेस्रो आक्रमण हो। बुर्किना फासोमा गिर्जाघर लक्षित भएका थुप्रै आक्रमणमा इस्लामवादी विद्रोहीहरू मुछिएका छन्।

केही समूह अल कायदा र इस्लामिक स्टेटसँग आबद्ध छन् भने केही आक्रमण बुर्किना फासो तथा मालीमा रहेको अन्सरुल इस्लाम समूहले गराएका ठानिन्छन्।

सन् २०१५ यता जिहादीहरूको हमलामा बुर्किना फासोमा चार सय जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया