प्रधानमन्त्रीकी छोरीले पुस्तक पाइन्

मुगु । गाउँघरमा प्रधानमन्त्रीकी छोरी भनेर चिनिने मुगुमकाम रोगं गाउँपालिका माग्री गाउँकी ८ वर्षीया ठिल्लेसाङ्मू लामाले शैक्षिक सत्र सुरुभएको तीन सातापछि पुस्तक पाएकी छन् ।

प्रधानमन्त्रीकी छोरीले पुस्तक पाइनन्, पुस्तक बिना विद्यालय जान्छिन भन्ने समाचार प्रकाशित भएपछि विद्यालयमा भएको पुस्तकालयमा राखिएका कक्षा– २ का पुस्तकसहित झोला उपलव्ध गराइएको हो ।

गत वर्षको कर्णाली रारा पर्यटक वर्ष २०७५ को शुभारम्भसँगै विद्यार्थी भर्ना अभियानको सुरुआतका समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले अभिभावकत्व ग्रहण गर्दै ठिल्लेसाङमु लाई विद्यालयमा भर्ना गराएका थिए । कक्षा १ मा प्रथम भई वैशाख २ गते बुद्ध माध्यमिक विद्यालयमा कक्षा २ मा भर्ना भएकी ठिल्लेसाङमुको हातमा किताब बल्ल एक महिनापछि पुगेको छ ।

उनी कक्षा १ मा ८३ प्रतिशत अंक ल्याएर प्रथम बनेकी थिइन् । उनी मात्र होइन प्रधानमन्त्री पत्नी राधिका शाक्यले भर्ना गराएकी छिरिङछोन्जुङ लामाले पनि पाठयपुस्तक र झोला पाएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख सूर्र्य बहादुर खत्रीले जानकारी दिए । प्रधानमन्त्री पत्नी राधिका शाक्यले विद्यालयमा भर्ना गराएकी छिरिङछोन्जङ लामा अहिले कक्षा ३ मा भर्ना भएकी छन् ।

पुस्तक पाएपछि दुवै जनालाई सहज भएको छ । उनीहरू विद्यालय जान आनकानी गर्ने भएपनि आजभोलि नियमित विद्यालय जाने गरेका ठिल्लेसाङमुका हजुरबुबा कार्माछेवाङ लामाले बताए ।

प्रधानमन्त्री छोरी ठिल्लेसाङमुका हजुरबुबा कार्माछेवाङ लामाले नातिनीलाई आजभोलि जेनतेन पढाउला तर उच्च शिक्षा पढाउने अवस्था नभएको गुनासो गरे । प्रधानमन्त्रीले बिद्यालय भर्ना गरिदिनु भयो त्यसैअनुसार उच्च शिक्षासम्म पढ्ने वातावरण मिलाई दिए अझै राम्रो हुन्थ्यो । उनले भने ‘नातिनी पढाइमा तेज छ, गरिबीका कारण हामीहरू उनलाई उच्च शिक्षासम्म पढाउन सक्ने अवस्थामा छैनाँै, गरिबीका कारण नातिनीलाई दिउँसो खाजाको व्यवस्था गर्न नसकेकाले भोक भौकै विद्यालय जाने गरेकी हजुरबुबाले गुनासो गरिन् ।

शैक्षिक सत्र सुरु भएको तीन सातापछि बल्ल मुगुमा पाठ्य पुस्तक पुगेका छन् । जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख सुर्यबहादुर खत्रीका अनुसार शैक्षिक सत्र सुरु भएको तीन सातापछि किताब पुग्नुले ढुवानीमा जिम्मा लिएकाहरूको कमजारीले यस्तो समस्या आएको बताए ।

खत्याड गाउँपालिमा यस अघिनै पुस्तक पुगिसेकेका थिए भने अन्य छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका र मुगुमकामारोगं गाउँपालिमा पुस्तक पुगेका थिएनन् । अब पुस्तक आइपुगेका र जिल्लाबाट स्थानीय तहसम्मका विद्यालयमा पुस्तक लिने क्रम जारी रहेको इकाइ प्रमुख खत्रीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ७५ प्रतिशत विद्यालयका शिक्षकले विद्यालय पुस्तक बुझिसकेको बताए ।

प्रतिक्रिया