इन्स्टाग्रामले सुरु गर्यो नयाँ अभियान

बीबीसी । फेसबुक र ट्वीटरपछि अर्को लोकप्रिय एप इन्स्टाग्रामले पनि फेक लाइक र फलोअरलाई लक्षित गर्दै नयाँ अभियान सुरु गरेको छ । सोमबार मात्र कम्पनीले यसको घोषणा गरि अवैध तरिकाले चर्चा कमाउन खोज्ने अकाउन्टहरुको पहिचान गर्ने नयाँ टुल निर्माण गरिएको बताएको हो ।

२०१० मा लन्च भएको इन्स्टाग्रामले फलोअरका आधारमा विभिन्न उत्पादनलाई बजार प्रदान गर्दै त्यसै अनुसार प्रयोगकर्ताहरुलाई पनि भुक्तान गर्ने गरेको छ । तर पछिल्लो समय मानिसहरुले तेस्रो एपको मद्दत लिइ फेक लाइक, कमेन्ट र फलोअर बढाइरहेको पाइएको हो । यस्तोमा प्रयोगकर्ताहरुलाई वैध सेवा प्रदान गर्ने उद्देश्यले इन्स्टाग्रामले यस्तो प्रयास थालेको बताएको छ ।

यसअघि फेसबुक र ट्वीटर फेक न्युज र गलत प्रचारका कारण बारम्बार आलोचित भएका छन् । यस्तोमा इन्स्टाग्रामले पनि कम्पनीको नीती विपरित कार्य गर्ने विरुद्ध अहिले नै कडा कदम उठाउने बताएको हो । कम्पनीका अनुसार प्रयोगकर्ताहरुले विभिन्न अवैध एप र साइटहरुलाई शुल्क तिरेर लाइक र फलोअर बढाउन लगाउने गरेका छन् । तर यसका लागि उनीहरुले युजर आइडी र पासवर्ड पनि प्रदान गर्नुपर्ने हुँदा त्यसले इन्स्टाग्रामको नियम उल्लंघन भएको बताइएको छ । साथै यसले समाजमा पनि नकारात्मक प्रभाव पार्न सक्ने हुँदा कम्पनीले यसअघि नै चिन्ता व्यक्त गरेको थियो ।

त्यसैले तेस्रो पार्टीको मद्दत लिइ बढाइएका लाइक र फलोअरहरु इन्स्टाग्रामले हटाउन सुरु गर्ने भएको छ । यसमा प्रयोगकर्तालाई भने अकाउन्ट सुरक्षित राख्न आफ्नो पासवर्ड परिवर्तन गर्न चेतावनी दिइने बताइएको छ । त्यसैले अब धेरै युजरहरुको फलोअर सङ्ख्या पहिले भन्दा कम देखा पर्न सक्ने बताइएको हो । अघिल्लो वर्ष पनि कम्पनीले फोटो वा त्यसको तल लेखिएका क्याप्सनमा दुव्र्यवहार वा अपहेलनापूर्ण शब्द पहिचान गर्ने नयाँ प्रविधि ल्याएको थियो जसपछि ती अकाउन्टहरु निरीक्षणका लागि प्रत्यक्ष कर्मचारीहरुलाई पठाइने गरिएको छ ।

प्रतिक्रिया