तेह्र बर्षअघि जनआन्दोलनका घाइते मुकेश अझै अर्धचेत अवस्थामा

बनेपा । जनआन्दोलन विसं २०६२/६३ को क्रममा घाइते भएका काभ्रेपलाञ्चोक बनेपाका मुकेश कायस्थ अझै पनि अर्धचेत अवस्थामा नै रहेका छन् ।

जनताको बलमा स्थापना भएको लोकतान्त्रिक गणतन्त्र स्थापना भएर संघीयताको मूल मर्मअनुसार तीन तहको सरकार गठन भएर सेवा प्रवाह भइरहेको अवस्थामा लोकतन्त्र स्थापना गर्न आन्दोलनमा होमिएका जनआन्दोलनका घाइतेको अवस्था भने उस्तै रहेको जनआन्दोलनका घाइते मुकेशका आमा मिरा कायस्थले बताइन् ।

विसं २०६२/६३ साल जनाआन्दोलनको क्रममा २०६२ चैत्र २७ गते बनेपामा गोली लागेर घाइते भएका मुकेश कायस्थ अहिले पनि ओछ्यानमै छटपटिरहेका छन् । आमा मीरा कायस्थले पछिल्लो पटक गरेको शल्यक्रियाबाट पनि उनको सुधार नभएको दुखेसो सुनाइन् ।

उपचारको क्रममा अहिलेसम्ममा तीन पटक टाउकाको शल्यक्रिया गरिसकेको उनले बताइन् । ‘असार महीनामा शल्यक्रिया भएपछि पनि अवस्था उस्तै छ, मीराले भनिन्, ‘मङ्सिरमा अप्रेशन गरेपनी सुधार भएको छैन ।’ मुखले खाने र हाँस्ने जस्ता काम अहिले गर्न नसकेको उनको भनाइ छ ।

अहिलेसम्म उपचारको सबै खर्च सरकारले नै ब्यहोर्दै आएको भए पनि संघीय संरचनाअनुसार जिल्लामा रहेको जनस्वास्थ्य कार्यालय प्रदेश अन्तर्गत रहने भएपछि उपचारको लागि व्यवस्था हुँदै आएको नर्सको सुविधा नभएको उनले बताइन् ।

उनको लागि स्वास्थ्य मन्त्रायलयबाट जिल्ला जनस्वास्थ्य कार्यालय हुँदै आउनुपर्ने सुविधा जिल्ला जनस्वास्थ्य कार्यालय अहिले प्रदेश अन्तर्गत भएपछि भएको फेरबदलका कारण करीब एक वर्षभन्दा बढी समय गुज्रँदा पनि उपलब्ध हुन नसकेको उनको भनाइ छ ।

मुखले नखाने र हातखुट्टा पनि चल्नु पर्नेमा नचलेको आमा मिराले बताइन् । अहिले अक्सिजन चाही दिइरहनुपर्ने अवस्था नभएको उनको भनाइ छ । मुकेश कायस्थ प्रतिष्ठानका मोहन दुवालले उनको नाममा मस्तिष्क घातको पुर्नस्थापना केन्द्र स्थापना गर्नको लागि पहल गरिरहेको बताए ।

‘उहाँ जस्तै बिरामीको उपचारमा सहज होस् भनेर केन्द्र स्थापना गर्न माग गरिरहेका छौँ, तर त्यो अगाडी बढिरहेको छैन, उनले भने, ‘ठाउँको अभावको कारण त्यो प्रक्रिया अगाडि बढ्न नसकेको भन्ने उहाँहरुको कुरा छ ।’ पुनःस्थापना केन्द्र स्थापना गर्नैपर्छ भन्ने अभियानमा त्यसको बारेमा निरन्तर कुराकानी भइरहेको उनले बताए ।

मुकेश जस्तै अन्य घाइतेको उपचारको लागि सहज वातावरण होस् भन्ने हेतुले विसं २०६८ मा मुकेश कायस्थ प्रतिष्ठानले सो विषयलाई संस्थागत रुपमा अगाडि बढाइरहेको छ ।

प्रतिक्रिया