साहित्य परिचर्चा तथा कविगोष्ठी

काठमाडौं । साहित्य सन्ध्याको नियमित मासिक ३९४औँ शृंखलामा कवितासंग्रह विमोचन, साहित्य परिचर्चा तथा कविगोष्ठी भएको छ । साहित्यकार अच्युत घिमिरेद्वारा लिखित ‘आमाले स्पर्श गरेको माटो’ कविता संग्रहको विधान आचार्य र प्रा।डा।खेम दाहालले संयुक्तरूपमा लोकार्पण गरे । लोकार्पित कवितासंग्रहको समीक्षा गर्दै साहित्यकार, समीक्षक विधान आचार्यले अहिलेको समयमा साहित्य सिर्जना तथा सम्पादनका माध्यमबाट क्रियाशील रहेका घिमिरेको यो दसौँ कृति रहेको बताए । उनले यो कृतिमा कविले तपाईँ हामीलाई जस्तै जहाँ जहाँ छुँदा वा टेक्दा दुख्छ तिनै तिनै दुखाइ वा भोगाइका अभिव्यक्तिलाई सुन्दर ढंगले उतारेका छन् ।

उनले सानैमा आमाको स्नेहबाट वञ्चित हुनपुगेका कविले मातृस्नेह नपाउनुको पीडा वा दुखाइलाई कवितामा अभिव्यक्त गरेको बताए । संग्रहमा समेटिएका सबै कविता वैचारिक कविता हुन्, प्रगतिवादी कविता रहेको उनले जनाए । उनले भने, ‘संग्रहमा संग्रहित कवितामा राजनीति, अहिलेको समयका साथै विपन्न वर्गले बाँचेको कष्टसाध्य जीवनवृत्तको जीवन्त चित्रण गरिएको पाइन्छ ।’ आचार्यले घिमिरेका कविता तिखारिएका, माझिएका, स्पष्ट वैचारिक धारसहितका छन् र कवितामा सिंगा वाक्यहरू नै बिम्बात्मक बनेर आएका छन् । यसर्थ यो कवितासंग्रह गुणात्मक रहेको जिकिर गरे ।

कवि घिमिरेले सानैमा मातृवात्सल्यबाट टाढिनुपरेको बताउँदै भने, ‘आमाको माया नपाउनुको पीडालाई कवितामा अभिव्यक्त गर्ने प्रयत्न मैले गरेको हुँ, मेरो अभिव्यक्ति संग्रहमा समेत समावेश गरेको छु ।’ उनले धेरै कुरा नभनी कविता पढिदिन र लेखेर वा मौखिक रूपमा प्रतिक्रिया दिन आग्रहसमेत गरे ।

गोष्ठीमा देबु लुइटेल, डा।गोविन्दप्रसाद आचार्य, अनिता लामा, गणेश घिमिरे ‘मार्मिक’, भोलानाथ सुवेदी, भावना न्यौपाने, पदम मुनारी बाहिङ, माधव प्रधान, डा।भागवत आचार्य, जयन्ता पोखरेल, प्राज्ञ नन्दु उपे्रती, यदुनाथ वसन्तपुरे, रामबहादुर पहाडी, नारायण निरासी, मुकुन्द न्यौपाने, बैरागी जेठा, रूपक अलङ्कार, ज्ञानु विद्रोही, राधा कार्की, नमुना शर्मा, डा।खेम दाहाल, प्रशान्त खरेल, गोमादेवी कटुवाल, सुमी लोहनी र गोपालकुमार मैनालीले आआफ्ना कविता, गजल, गीत, हाइकु वाचन गरेका थिए ।

गोष्ठीका अध्यक्ष गोपालकुमार मैनालीले साहित्य सन्ध्याले हरेक महिनामा कुनै न कुनै समसामयिक विषयमा गम्भीर बहस गर्ने र कवितावाचन गर्ने विशेष समारोहको आयोजना गरेको जानकारी दिए । उनले भने, ‘साहित्य सन्ध्या भनेको वैचारिक अभियान सञ्चालन गर्ने अभियन्ता पनि हो । हामी स्रष्टाको ध्यान समाजका विद्रूपता जस्तै छाउपडीविरुद्ध सशक्तरूपमा कलम चलाउनतिर र समग्र सामाजिक रूपान्तरणका पक्षमा बढी केन्द्रित हुनुपर्ने अवस्था रहेको छ ।’ उनले साहित्य सन्ध्या पनि सामाजिक रूपान्तरणका पक्षमा केन्द्रित हुँदै वार्षिक कार्ययोजना बनाएर अगाडि बढेको जानकारी दिए ।

प्रतिक्रिया