चर्चामा बिष्णुको ‘बिचल्ली’

काठमाडौं । लोकगायक बिष्णु खत्रीको केही दिनअघि बजारमा आएको नयाँ गीत ‘बिचल्ली’ ले यतिबेला बजारमा चर्चा पाएको छ । लोकदोहोरी क्षेत्रकी चर्चित गायिका देवी घर्ती मगर र गायक खत्रीको आफ्नै संयुक्त आवाजमा स्वरबद्ध रहेको उक्त गीतको शब्दरचना साथै संगीत पनि गायक बिष्णु खत्री आफैँले भरेका हुन् ।

मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतमा सागर विरहीको संगीत संयोजन रहेको छ भने कुमार रानाद्वारा मिक्सिङ गरिएको छ । त्यस्तै, दिलिप रेग्मीले निर्देशन गरेको गीतको भिडियो मरुभूमि नारायणले छायांकन गरेका हुन् ।
सुजन शाहीद्वारा सम्पादन भएको सोही गीतको भिडियो गायक खत्रीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

उक्त भिडियोमा गायक बिष्णु खत्री, साया भण्डारी, दिलिप रेग्मी, जबिन्द्र पौडेल र प्रल्हाद सुवेदीलगायतका कलाकारहरूको अभिनय रहेको छ । देशको मौलिक लोक संस्कृतिको उच्च मूल्यांकन गर्दै गीतमा शब्दचयन गरेको गायक खत्रीले बताए ।

लाखौँ विदेशिएका नेपालीहरूको हरेक दुख तथा पीडा भोगाई र गाउँ समाजमा पनि घट्ने बिचल्लीका घटनालाई यथार्थरूपमा गीतमार्फत र भिडियोमा पनि सोहीअनुसार नै चित्रण गरिएको उनले जनाए । लोक संगीतको मौलिक धार साथै सबै नेपालीका लागि मनपर्नेखालको गीत भएकाले अझै धेरै दर्शक स्रोताको रोजाइमा पर्नेमा आफू विश्वस्त रहेको गायक खत्रीले जिकिर गरे ।

लामो समयदेखि कलाकारितामा क्रियाशील रहेका उनको आवाजमा जम्मुकस्मिरमा, लाहुरेदाई छुट्टीमा आको, परदेशीको फाँसी, चुहिने छानो, डाँडा काँडाको, कि सास चाहियो कि लास चाहियो, भरिया दाई लगायतका दर्जनौँ गीत बजारमा चर्चित छन् । जनताकै हक हितमा विभिन्न गीत बजारमा ल्याएर सबैको लोकप्रिय बनेका गायक खत्रीलाई आम दर्शक स्रोताले जनगायक पनि भन्ने गरेका छन् ।

प्रतिक्रिया