गौरीका र शुभमको कीर्तिमान

बाँके । आठौँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडीतर्फ मंगलबार गौरिका सिंह र शुभम श्रेष्ठले आफ्नै नाममा रहेको कीर्तिमान तोडेका छन् ।  आर्मीकी गौरीकाले सय मिटर बटर फ्लाईमा स्वर्ण जित्दा १ मिनेट ७ दशमलव ९७ सेकेन्ड मार्क गरिन् । यसअघि यो विधामा उनले १ मिनेट ८ दशमलव ६३ सेकेन्डको कीर्तिमान थियो । यो विधामा १ मिनेट १४ दशमलव ०७ सेकेन्डमा दूरी पूरा गर्दै आर्मीकै डुवाना लामा दोस्रो र एपिएफकी श्रीबी महर्जन थप सात सेकेण्डले पछि पर्दै तेस्रो भइन् ।

पुरुषको ५० मिटर ब्रेस्ट स्ट्रोकमा एपिएफका शुभमले स्वर्ण जित्दा ३१.६० सेकेण्ड समय लगाए । यसअघि उनको नाममा ३२ दशमलव ०१ सेकेन्डको रेकर्ड थियो । पुलिसका दिपांकर अवाले दोस्रो र प्रदेश १ का बेदज्ञ राज जोशी तेस्रो भए ।  आर्मीकी गौरीका सिंहले कीर्तिमानसँगै चार स्वर्ण हात पारिन् । उनले महिला दुई सय मिटर ब्याकस्ट्रोक, दुई सय मिटर फ्रिस्टाइल, एक सय मिटर बटरफ्लाई र चार गुणा एक सय मिटर रिलेको स्वर्ण पनि कब्जा गरिन् ।

 

पुरुषतर्फको खेलमा एनआरएनएका नाथन दोर्जी शेर्पाले दुई सय मिटर ब्याकस्ट्रोकको स्वर्ण पदक जित्दा नेपाल पुलिसका गौरभ लामाले २ सय मिटर फ्रिस्टाइलको स्वर्ण हात पारे । एक सय मिटरको फ्रिस्टाइलको स्वर्ण पदक आर्मीका अनुभव सुब्बाले जित्दा चार गुणा एक सय मिटर रिलेको स्वर्ण पदक नेपाल पुलिस क्लबले हात पा¥यो ।

प्रतिक्रिया