अभिनेता सनी देवल बिजेपीमा

नयाँदिल्ली । बलिउड अभिनेता सनी देवल भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् । दिल्लीमा रक्षामन्त्री निर्मला सीतारमण र रेलमन्त्री पीयूष गोयलको उपस्थितिमा उनले सदस्यता लिएका छन् ।

सनी देवललाई सदस्यता प्रदान गर्दै रक्षा मन्त्री गोयलले भने, ‘सनीले आफ्नो फिल्ममा सधँै सुरक्षा बलको मनोबल बढाएका छन् ।

अहिलेको परिस्थितिमा देशका युवालाई प्रेरणा दिने काम सनी दवेलले फिल्मका माध्यमबाट गरेका छन् । मलाई विश्वास छ कि, राजनीतिक जीवनमा पनि यस्तै काम गर्नेछन् ।’

सनी कुन क्षेत्रबाट चुनाव लड्छन् भन्ने पत्रकारको प्रश्नमा उनले यसको निर्णय पार्टीले गर्ने प्रतिक्रिया दिए । बलिउड अभिनेता सनी देवल पञ्जाबको गुरदासपुर क्षेत्रबाट लोकसभा चुनाव लड्ने अनुमान गरिएको छ । गुरदासपुर क्षेत्रबाट अभिनेता विनोद खन्ना चुनाव लड्दै आएका थिए । उनको निधनपछि २०१७ को उपचुनावमा कांग्रेसका सुनील जाखडले चुनाव जितेका थिए ।

सनी देवलका बुवा अभिनेता धर्मेन्द्र २००४ देखि २००९ सम्म राजस्थानको बिकानेरबाट भाजपा सांसद थिए । उनकी पत्नी हेमा मालिनी मथुराबाट सांसद थिइन् । अभिनेत्री हेमा मालिनी यसपटक फेरि मथुराबाटै चुनाव लड्दै छिन् ।

सनी देवल आफ्नो समयमा बलिउडका लोकप्रिय अभिनेता हुन् । उनको छवि ‘एक्सन हिरो’ का रूपमा रह्यो । सनीले १९८२ मा फिल्म ‘बेताब’ बाट करियर सुरु गरेका थिए । १९९० मा प्रदर्शित फिल्म ‘घायल’ बाट उनको लोकप्रियता एकाएक बढेको थियो । ‘दामिनी’, ‘गदर’, ‘हिरो’, ‘अपने’ सनी देवलका प्रमुख फिल्महरू हुन् ।

प्रतिक्रिया