सोझासाझा ठग्दै भारतीय ठग

स्याङ्जा । जिल्लाका गाउँमा सोझासाझी खोज्दै ठगी गर्ने भारतीयको संख्या बढेको छ । विभिन्न नामको सेवा घरदैलोमा आएर प्रदान गर्ने नाममा झुक्याएर ठूलो फाइदा लिँदा ग्रामीण भेगका सोझा जनता भारतीय ठगसँग फस्ने गरेका छन् ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा तीन महिनाअगाडि इनामी कार्ड, भाग्य चिठ्ठा, कुर्ता सुरुवाल, कोट पाइन्टका कपडा लगायतका बस्तु देखाउँदै उपहार वा चिठ्ठाको नाममा ठग्दै गर्दा तीन जना भारतीय पक्राउ परेका थिए । सोझासाझा महिलालाई तीन सय र चार सयको चिठ्ठा बेच्दै ठग्ने भारतीयविरुद्ध कारबाही हुनुपर्ने बेहोराको उजुरी ट्विटरमार्फत नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परेको थियो । सोही उजुरीको आधारमा तीन जना भारतीय आँधीखोला गापा–१, पञ्चमूलबाट पक्राउ परेका थिए ।

सोमबार पुनः यस्तै घटना स्याङ्जाकै चापाकोटमा घटेको छ । भारतबाट रसायन प्रयोग गर्दै सुन सफा गरिदिने भन्दै गाउँगाउँमा पुग्ने भारतीयले सफा गर्ने नाममा सुनको मात्रा निकालेको खुलेको छ । चापाकोट नपा–५, आमडाँडामा दुई भारतीयले रसायन प्रयोग गरी दुई तोला सुनको सिक्री सफा गर्ने भन्दै सुनको मात्रा चोरेको आरोप स्थानीयले लगाउँदै प्रहरीलाई खबर गरेका थिए ।

सोही सूचनाको आधारमा भारतको झारखण्ड प्रदेश गोड्डा जिल्ला मागहमा–४ का ३८ वर्षीय तेवारी शाह र ३३ वर्षीय असर्फी शाह रासायनिक पदार्थ र ठगी लगेको सुनको मात्रासहित पक्राउ परेको प्रहरीले बताएको छ । स्थानीय ईन्द्रकुमारी मानन्धरको दुई तोलाको सिक्रीबाट सुनको केही मात्रा निकालेको भेटिएपछि उनीहरूलाई ठगीविरुद्ध मुद्दा दर्ताको उजुरी परको छ ।

उनीहरूलाई तीन दिन म्याद थपको अनुमति लिई अन्य अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नविन कृष्ण भण्डारीले जानकारी दिए । भारतसँगको खुला सिमाना र ठगी गर्ने भारतीयले विभिन्न समुदायको आवश्यकता पहिचान गर्दै गाउँघरको ढोकामा नै आउने प्रवृत्तीले सोझा सर्वसाधारण फस्ने गरेका छन् ।

प्रतिक्रिया