१५ महिनामा ४० सेकेन्ड बोलिन कुर्मी

बुटवल । प्रदेश–५ कि सांसद चिन्तावती कुर्मी पहिलोपटक संसद्मा आफ्नो धारणा राखेकी छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा शून्य समयमा कुर्मी पहिलोपटक ४० सेकेन्ड बोलेकी हुन् ।

बाँके जिल्लाको डडुुवा गाउँपालिका–२ की चिन्तावती कुुर्मी प्रदेशसभा स्थापना भएको १५ महिनापछि पहिलोपटक बोलेकी छन् । प्रदेश मामिला तथा कानुन समितिमा समेत रहेकी कुर्मी मंगलबार सभाको शून्य समयमा बोलेकी हुन् । सभामुख पूर्णबहादुर घर्तीले शून्य समयमा एक मिनेटको समय दिएपछि कुर्मीले दाउराबाट खाना पकाउँदा बाँकेका महिलाहरूमा परेको समस्या र त्यसको विकल्पमा सरकारले ध्यान दिनुपर्ने बताइन् ।

तत्कालीन एमालेबाट समानुुपातिक उम्मेदवार बनेकी कुर्मी संसद्को तेस्रो अधिवेशन चल्दासमेत रोस्टममा उभिएर बोलेकी थिइनन् । केही दिनअघि मात्र संसद्मा नबोलेको भन्दै समाचार आएपछि कुर्मी संसद्को तेस्रो अधिवेशनको ३०औँ बैठकमा आएर बल्ल पहिलोपटक बोलेकी हुन् ।

जनताका कुरा संसद्मा उठाउने मुख्य दायित्व जनप्रतिनिधीकै भए पनि १५ महिनासम्म कुर्मी संसद्मा चुपचाप रहेकोमा आलोचनासमेत हुन लागेको थियो । नेपाली भाषा नआएकाले उनले मैथली भाषामै संसद्मा बोलेकी थिइन् । प्रदेशसभामा ८७ सांसदमध्ये ३० जना महिला सांसद छन् । त्यसमध्ये प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका तारा जिसी, संघीय समाजवादी फोरमकी सुुमन रायमाझी, राष्ट्रिय जनता पार्टीका कल्पना पाण्डे सांसद छन् । यी सांसदहरू प्रदेशसभामा अनुुभव संगाल्दै बोल्न सिक्दै छन् ।

त्यस्तै संसद्को शून्य समयमा बोल्दै सांसद अष्टभुजा पाठकले लुम्बिनी धुलोले अस्तव्यस्त भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । भैरहवादेखि लुम्बिनीसम्मको बाटो निर्माणाधीन छ । पर्यटकीय क्षेत्र धुलोले ढाकेको र दुर्घटना बढेको बताउँदै उनले संसद्मा ठेकेदार कहाँ के गर्दै छ भन्दै प्रश्न राखेका थिए ।

त्यस्तै सांसद इन्द्रप्रसाद खरेलले जनता आवास कार्यक्रमको कार्यविधि अध्यावधिक गरिनुपर्ने बताए । त्यस्तै संसद्को विशेष समयमा बोल्दै सांसद भगवतीदेवी भण्डारीले लुम्बिनी भ्रमण वर्ष मनाउँदै गर्दा लुम्बिनीसँग सम्बन्धित रामग्राम र तिलौराकोट पछाडि परेका भन्दै ती क्षेत्रको पनि प्रवद्र्धन आवश्यक भएको बताइन् ।

त्यस्तै प्रदेश–५ मा प्रदेशसभा स्थापना भएको १५ महिना बितिसक्दा पनि संसद सचिवालयले मिडिया सेन्टर व्यवस्थित गर्न सकेको छैन । बारम्बार संसद् सचिवालयलाई मिडिया सेन्टर व्यवस्थित गर्न भने पनि अहिलेसम्म मिडिया सेन्टर व्यवस्थित नभएको हो । प्रदेशसभाको रिपोर्टिङमा जाने पत्रकारहरूले मिडिया सेन्टरमै उभिएर समाचार टिप्न बाध्य भएका छन् । मन्त्री, सांसदका स्वकिय सचिवहरू नजिकै नेपाल टेलिकम लेखेको स्थानमा गफिँदै बस्दा पत्रकारहरू भने उभिएरै समाचार टिप्ने गरेका छन् ।

संसद् सचिबालयमा मात्र नभई सभामुख पूर्णबहादुर घर्ती, मन्त्री बैजनाथ चौधरी लगायतका नेताहरूलाई समेत मिडिया सेन्टर व्यवस्थित गर्न आग्रह गरिएको भए पनि संसद् सचिवालयको अटेरीका कारण मिडिया सेन्टर अस्तव्यस्त बनेको संसदीय मामिला पत्रकार समाज प्रदेश–५ का अध्यक्ष विष्णु घिमिरेले बताए ।

चर्को गर्मीमा समेत एउटा पनि पंखा मिडिया सेन्टरमा छैन भने इन्टरनेटको सुविधासमेत छैन । नाम मात्राको मिडिया सेन्टरलाई संसद् सचिवालयले व्यवस्थित गर्ने ध्यानमै छैन । विभिन्न विषयगत समितिका कार्यालय, समितिका सभापतिका लागि छुट्टाछुट्टै कार्यकक्षको व्यवस्थापन भइसक्दासमेत मिडिया सेन्टर, स्वास्थ्य चेकजाँच स्थान व्यवस्थितमा भने सचिवालयको ध्यान जान सकेको छैन । मन्त्री र सांसदको निर्देशनसमेत सचिवालयका सचिव दुर्लभकुमार पुनले अटेर गर्दा सेन्टर व्यवस्थित हुन नसकेको हो । संसद् सचिवालयले भने छिट्टै व्यवस्थित गर्ने बताएको छ ।

प्रतिक्रिया