स्थानीय पाठ्यक्रम बनाउँदै बुटवल

बुटवल । बुटवलले यस क्षेत्रका पुरातात्विक, प्रागऐतिहासिक तथा सांस्कृतिक क्षेत्रहरू समेटेर बुटवलले स्थानीय पाठ्यक्रम बनाउन लागेको छ । सम्भवतः आगामी आवदेखि लागू गर्नेगरी पाठ्यक्रम बनाउन लागिएको हो ।

नेपालको संविधानद्वारा प्रदत्त अधिकारको आधारमा शिक्षाले स्थानीय सरोकारवालासँग सहकार्य गर्दै उनीहरूकै चाहना र सहभागितामा स्थानीय पुरातात्विक, ऐतिहासिक, सामाजिक, सांस्कृतिक, धार्मिक, पर्यटकीयस्थलहरू तथा सेरोफेरोमा रहेका महत्वपूर्ण स्थल एवं वस्तुहरूको जानकारीविना शिक्षा अधुरो रहने यथार्थलाई आत्मसात गर्दै बुटवलले आधारभूत तहको स्थानीय पाठ्यक्रम निर्माण गर्न लागेको प्रमुख सुवेदीले जानकारी दिए ।

विद्यालय तह सम्मको शिक्षाको अधिकार स्थानीय सरकार मातहत व्यवस्था गरिए अनुरूप बुटवलले स्थानीय पाठ्यक्रम बनाउन लागेको हो । बुटवल उपमहानगरपालिकाले गत १९ मंसिरमा यहाँका शिक्षाविद्हरू सम्मिलित ६ सदस्यीय कार्यदल गठन गर्दै पाठ्यक्रमको प्रारूप बनाउन २ पुसदेखि काम सुरु गर्न कार्यादेश दिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिए ।

कार्यदलले कक्षा १ देखि ८ सम्ममा लागू हुने गरी सय पूर्णांकको पाठ्यक्रम बनाइरहेको छ । कक्षा १ देखि ८ सम्म फरकफरक पाठ्यभारको यो स्थानीय पाठ्यक्रमको नाम ‘हाम्रो बुटवल’ प्रस्ताव गर्दै कार्यदलले प्रारूपका बारेमा मंगलबार उपमहानगरमा अन्तत्र्रिmया तथा सुझाव संकलनसमेत गरेको छ ।

त्यसक्रममा सहभागीहरूले यसक्षेत्रको पुरातात्विक, ऐतिहासिक र सांस्कृतिक पक्षलाई समेटेर नैतिक शिक्षामा जोड दिनेगरी पाठ्यक्रम बनाउन सुझाव दिएका छन् । ऐतिहासिक, धार्मिक, पर्यटकीय, सांस्कृतिक, वातावरणीय, धर्म र नैतिक पक्षलाई समेटेर बनाइएको पाठ्यक्रमको प्रारुप उपमहानगरमा प्रस्तुत गरिएको कार्यदलका संयोजक बुद्धिसागर भट्टराईले जानकारी दिए ।

स्थानीय आवश्यकताका विषयवस्तु त्यहीँका नागरिकको अपनत्व हुने गरी सरोकारवालाले स्थानीय ज्ञान, सीप र प्रविधिलाई समेटी विकास गर्ने स्थानीय पाठ्यक्रम बनाउन नगरप्रमुखले सुझाव दिएका छन् । त्यसरी तयार पारिएको पाठ्यक्रमले स्थानीयस्तरमा रहेका मूल्य, मान्यता, कला संस्कृतिको संरक्षण र सम्वर्धन गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्न सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

स्थानीय पाठ्यक्रमलाई शैक्षिक विकेन्द्रीकरणको महत्वपूर्ण खुड्किलाका रूपमा पनि लिइएको छ । स्थानीय सीप, व्यवसाय, पेसा, स्रोतसाधनको महत्व र आवश्यकता पहिचान गर्दै तिनको विकास गर्न पाठ्यक्रम बनाउन लागिएको बुटवलका शिक्षा महाशाखाका प्रमुख तथा कार्यदलका सदस्यसचिव मित्रमणि खनालले बताए ।

कार्यदलले कक्षा १ देखि ५ सम्म चार पाठ्यभार र कक्षा ६–८ मा मातृभाषा वा स्थानीय विषय वा संस्कृत वा अन्य विषय ५ पाठ्यभार र सय पूर्णांक रहेको स्थानीय पाठ्यक्रमको प्रारुप प्रस्तुत गरेको छ । कार्यदलले बुटवलका शिक्षाविद्, सामाजिक संघसंस्था, रोजगारदाता कम्पनी, विद्यालय, क्याम्पस, प्राविधिक शिक्षालय, नागरिक अगुवा, धार्मिक संघसंस्थाहरूसँग भेटघाट गर्दै सुझाव संकलन गरेको कार्यदलका सदस्य मोतिराज पौडेलले जानकारी दिए ।

धार्मिक सांस्कृतिक विविधता भित्रको एकता बुटवल उपमहानगरपालिका भित्रको सौन्दर्यलाई प्राथमिकताका साथ पाठ्यक्रममा उठाइएको छ । जितगढी, नुवाकोट किल्ला, हिलपार्क, पिसपार्क, मणिमुकुन्द उद्यान लगायतका सुन्दर पर्यटकीय स्थानहरूलाई पाठ्यक्रममा स्थान दिइएको कार्यदलका सदस्य राजेन्द्रकुमार आचार्यले जानकारी दिए ।

रामापिथेकस मानवावशेष प्रागैतिहासिक तथ्य, नैतिक शिक्षा हाम्रा परम्परागत मूल्य र मान्यताहरूलाई पाठ्यक्रममा समावेश गर्दै आन्तरिक वा वाह्य पर्यटकहरूलाई पथप्रदर्शन गर्न सक्नेगरी पाठ्यकमको व्यवस्थापन गर्ने जमर्को गरिएको कार्यदलले बताएको छ । पर्यटकीय स्थलहरू, हाम्रो संस्कृति, धर्म, संघसंस्थाहरू, योग, प्राकृतिक चिकित्सा तथा जडीबुटीलाई पाठ्यक्रममा स्थान दिइएको छ ।

पाठ्यक्रमका उद्देश्यः
बुटवल र आसपासका पर्यटकीय स्थलहरू, जितगढी, नुवाकोट किल्ला, मणिमुकुन्दसेन उद्यान, रामापिथेकस मानवावशेष फोला परेको क्षेत्र, ऐतिहासिक नरैनापुर धाम क्षेत्र र प्राचीन मेला, विश्व शान्तिको पर्यायवाची क्षेत्र लुम्बिनी तथा बुद्धबलीको बुद्धसर्किट क्षेत्र, पिस पार्क, मिलन पार्क, हिल पार्क तथा जगदीशपुर तालको परिचय र महत्व बताउन ।

विभिन्न जात–जाति र उनीहरूको संस्कृतिको व्याख्या गर्न । सिद्घबाबा धाम, मुक्तिनाथ धाम, नीलकण्ठ धाम, बोलबम धामको परिचय र महत्व बताउन । बुटवलस्थित मुख्यमुख्य संघसंस्थाहरू बुटवल उद्योग वाणिज्य संघ, रूपन्देही व्यापार संघ, लायन्स क्लब, रोटरी क्लब, लियो क्लबको महत्व बताउन ।

वर्तमान सन्दर्भमा लोकप्रिय हुँदै गएको प्राकृतिक चिकित्सा पद्घतिको परिचय र यसको महत्व बताउन । स्थानीय जडीबुटीको परिचय र यसको महत्व बताउन । बुटवलको नामकरण इतिहास भूगोल र व्यापारिक केन्द्रको रूपमा यथेष्ट परिचय दिन । योगलाई आत्मसात् गर्दै यसलाई जीवन पद्घतिको एक अंग बनाउन । अनेकता भित्रको एकता विविधताभित्रको साैहार्दता बुटवलको विशेषता भन्ने भनाइलाई व्याख्या गर्न आदि रहेको छ ।

प्रतिक्रिया