शौचालय नहुँदा दुर्गन्धित बन्दै रारा

SONY DSC

मुगु । नेपालको सबैभन्दा ठूलो ताल रारामा सार्वजनिक शौचालय नहुँदा रारा ताल आसपासको क्षेत्र दिनप्रतिदिन फोहोर बन्दै गएको छ । रारामा सार्वजानिक शौचालय नहुँदा, अव्यवस्थित फोहोर लगायतका कारण राराताल आसपासको क्षेत्र दुर्गन्धित बन्दै गएको हो ।

आन्तरिक तथा बाह्य पर्यटक जो कोही रारा घुम्न आउने नागरिकलाई सार्वजनिक शौचालय नहुँदा सकस हुने गरेको छ । सार्वजनिक शौचालयको अभावमा ताल आसपास तथा वनजंगलमा खुला दिसापिसाब गर्न बाध्य छन् । तर, यसमा सरोकारवाला निकायको ध्यान जान नसकेको स्थानीयको गुनासो छ । सार्वजनिक शौचालय नहुँदा खुला दिसामुक्त क्षेत्र घोषणा मै सीमित रहेको छायानाथ रारा नगरपालिका–९ मुर्मा गाउँका देवीसिंह रोकायाले बताए । रारा जति सुन्दर छ त्यति फोहोर हुँदै गएको छ । घोडाको साथसाथै मान्छेको दिसा पनि ताल आसपासमा देखिने गरेको रोकाया बताउँछन् ।

रारामा सार्वजनिक शौचालयको निमार्णका लागि कुनै पनि निकायबाट पहल नभएको छायानाथ रारा नगरपालिका–९ का वडाध्यक्ष मणिचन्द्र रोकायाले बताए । उनका अनुसार राराको सुन्दरतालाई बचाइराख्न शौचालय आवश्यक भएकाले रारामा शौचालय निर्माणका लागि सरोकारवाला निकायले चासो दिनुपर्ने अध्यक्ष रोकायाले बताए । शौचालय निर्माणका लागि आपूm पनि लागिपर्ने जानकारी दिए । रारामा खुला दिसापिसाब गर्नुका साथै चाउचाउ, बिस्कुटका खोल, बोतल जथाभावी फाल्ने गरेर राराको सुन्दरतामा आँच आउने काम मात्र भएको देखिन्छ ।

राष्ट्रिय निकुञ्जभित्र शौचालयको आवश्यक नपर्ने र बनाउन नमिल्ने प्रावधान भएकाले शौचालय नबनेका रारा राष्ट्रिय निकुञ्ज मुगुमा निमित्त संरक्षण यज्ञ राज रोकायाले बताए । पछिल्ला वर्षमा रारामा आउने पर्यटकको संख्यामा वृद्धि भएकाले राराको सुन्दता बचाउन शौचालय आवश्यक देखिएकाले आगामी दिनमा सार्वजनिक शौचालय निर्माणका लागि विभिन्न निकायमा पहल भइरहेको अधिकृत रोकायको भनाइ छ ।

रारा जति सुन्दर छ त्यति व्यवस्थित नभएको पर्यटकहरू बताउँछन् । रारा साच्चै धर्तीको स्वर्ग हो । तर, रारा ताल आसपासमा सार्वजनिक शौचालय नहुनुु भनेको विडम्बना भएको रारा घुम्न आएका रजनी श्रेष्ठले बताइन् । रारामा जथाभावी दिसापिसाब गर्नाले रारा दुर्गन्धित बन्दै गएको प्रति श्रेष्ठले दुःखेसो पोखिन् ।

प्रतिक्रिया