वन जोगाउन उपभोक्तालाई ग्यास चुलो उपहार

सल्यान । जिल्लाको छत्रेश्वरी गाउँपालिकाले वन जोगाउनका लागि प्रोत्साहन गर्न गाउँपालिकाका झन्डै दुई सय घरधुरीलाई ग्यास चुलो प्रदान गरेको छ । वडा–७ मा रहेको डाँफे चरण सामुदायिक वन उपभोक्ता समितिका १ सय ९५ घरधुरीलाई दाउराको वचत गराई वन जोगाउने उद्देश्यले ग्यास चुलो र त्यसमा प्रयोग हुने सम्पूर्ण सामान वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान बस्नेतले बताए ।

वन समूहबाट ६ लाख, छत्रेश्वरी गाउँपालिकाबाट एक लाख र वन समूहका उपभोक्ताबाट ३ लाख २६ हजार गरी १० लाख २६ हजार बरारबका ग्यास चुलो वितरण गरिएको बस्नेतले जानकारी दिए । ग्यास खरिद गर्न वन समूहका उपभोक्ताहरूले प्रति घरपरिवार दुई हजारका दरले आर्थिक रकम पनि संकलन गरेका थिए ।

दाउराको रूपमा सामुदायिक वनमा रुखबिरुवाको फडानी बढ्न थालेपछि ग्यास वितरणको अभियान चलाएको वडा–७ का वडाध्यक्ष मेघराज भन्डारीले बताए । ‘उपभोक्ताहरूले दाउराको नाममा ठुल्ठूला रुख काट्न थालेको र भएका रुखहरूको संरक्षण गर्न पनि चासो नदेखाएपछि यस्तो अभियान चलाएका हौँ’, उनले भने ।

सधैँ दाउराको चुलो प्रयोग गर्दै आएका र धुवाँधुलोबाट आजित भएका स्थानीय महिला ग्यास चुलो पाउँदा खुसी भएका छन् । ‘हामीले हाम्रो वन जोगाउनका निम्ति ग्यास चुलो बाल्न सहमत भयौँ, स्थानीय ४० वर्षीया आशा खड्काले खुसी हँुदै भनिन्, भान्सामा अब ग्यास आएपछि दाउराको धुँवाबाट हामीले पनि छुटकारा पायौँ ।’

यस्तै बागचौर नगरपालिका–८ कोटमौलामा रहेको एउटा सामुदायिक वनले ८५ घरधुरीलाई निःशुल्क ग्यास चुलो र पानी छान्ने फिल्टर वितरण गरेको छ । बागचौर नगरपालिका–८ मा रहेको उच्च ठामुरकोट सामुदायिक वन उपभोक्ता समितिले वनबाट प्रयोग हुने दाउराका लागि गरिने रुख कटानमा कमी ल्याउने उद्देश्यले ग्यास वितरण गरिएको समितिका अध्यक्ष लीलाबहादुर बुढाथोकीले बताए ।

साविकको कोटमौला गाविसमा पर्ने गैरागाउँ र विउरे खोलाका उपभोक्ता समितिलाई करिब सात लाख रुपैयाँको लागतमा ग्यास–चुलो र पानीछान्ने फिल्टर वितरणगरिएको समितीकाकोषाअध्यक्षलक्षिरामबुढाथोकीले बताए । उनले वनजंगल संरक्षण र सरसफाइलाई मध्यनजर गर्दै ग्यास चुलो र फिल्टर निःशुल्क रूपमा वितरण गरिएको जानकारी दिए । वनबाट उत्पादन भएको खोटो, काठको दाउरा, संकलित रुपैयाँको व्याजबाट भएको आम्दानीले यस्तो कार्यमा लगानी गरिएको समितिका सचिव पवित्रा शर्माले बताइन् ।

नेपालमा वन संरक्षणका लागि स्थानीय समुदायलाई हस्तान्तरणको अभ्यास सुरु गरिएपछि स्थानीयतहमा वन संरक्षण र व्यवस्थापनमा चासो बढेको छ । दाउराको रूपमा सामुदायिक वनमा रुख विरुवाको फडानी बढ्न थालेपछि वन संरक्षण गर्ने उद्देश्यले सल्यानका विभिन्न स्थानमा उपभोक्ताहरूलाई ग्यास चुलो वितरण गर्न थालिएको हो ।

प्रतिक्रिया